गृह » बलात्कारको भयावह तस्बिर
सम्पादकीय

बलात्कारको भयावह तस्बिर

नेपाली समाजमा सामूहिक बलात्कारजस्तो निकृष्ट घटनाको सिलसिला चलिरहेको छ । हरेक दिनजसो बालिकादेखि किशोरीहरु बलात्कारको चपेटामा पर्दै आएका छन् । बोली फुटेर सुखद बाल्यकाल नभोग्दै दानवको शिकार बन्नुपरेका बालिकाको विदारक घटना होस्, चाहे दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा चारजना युवाले एक युवतीमाथि ‘सामूहिक बलात्कार’ गरेको घटना होस्, यस्ता घटनाले मानवीय संवेदनाको पराकाष्ठा नाघेको छ । बलात्कारमा परेकी युवतीले आफू ‘बलात्कृत’ भएको घटनामा प्रहरीले उजुरीसमेत लिन नमानेको प्रसङ्गले पीडितमाथि कति अन्याय हुँदोरहेछ भन्ने छर्लङ्ग हुन्छ । बिहीबार भएको घटनामा महानगरीय प्रहरी परिसर, काठमाडौँले उक्त घटनाको अनुसन्धान गर्न सोमबारमात्रै एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेपछि उक्त घटना सार्वजनिक भयो । दिनहुँजसो बलात्कारका घटना राष्ट्रिय मूलधारका अखबारहरुमा प्रकाशित भइरहन्छन् । यस्तो आपराधिक घटना बढ्दै गएपछि सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको छ । यस्ता अपराधका कारण सिंगो मुलुकलाई नै कलंकित पार्ने गरी दानवीय प्रवृत्ति हावी भइरहेको छ । तर, यस्तो निकृष्ट अपराधमा पनि सरोकारवाला निकायले नै आँखा चिम्लिने, मिलापत्र गराउन अग्रसर हुने र पीडितमाथि नै दबाब सिर्जना गर्नेजस्ता प्रवृत्ति देखिनु विडम्बनाको कुरा हो ।
दिनहुँजसो यस्ता घटना घट्दा कति बेला, कहाँ र को अपराधीको चपेटामा पर्ने हो त्यसको अनुमान नै गर्न सकिँदैन । यस विषयमा महिला अधिकारकर्मी, प्रहरी, राजनीतिकर्मी सबै चिन्तित छन् । न्याय, मानवअधिकार र मानवीय संवेदनाजस्ता कुराहरु संकटमा पर्दै गएपछि अपराधले नै प्रश्रय पाइरहेको छ । सञ्चारमाध्यममा खबर बनेर आइरहेका घटनाहरु विश्लेषण गर्दा बलात्कारका घटनामा न्यूनीकरण आउन नसकेको प्रस्ट देखिन्छ । पछिल्लो समय अपराधका स्वरुपहरु झनै भयावह देखिन थालेका छन् । सामूहिक बलात्कार, बालिका बलात्कार, बलात्कारपछि हत्या, घरका अभिभावक, गुरू र आफन्तजनबाटै बलात्कारजस्ता मानव सभ्यतामाथि नै खिल्ली उडाउने खालका घटना एकपछि अर्को गरी श्रृंखलाबद्ध रुपमा अखबारमा आइरहेका छन् । यस्ता खबर सुन्दा र पढ्दा जोसुकैको आङ सिरिङ्ग हुन्छ । पछिल्लो समय आपराधिक गतिविधिले सीमा नाघेको आभास हुन थालेको छ ।
बलात्कारको घटना बालहिंसाको निकृष्ट नमुना बनिरहँदा यो गम्भीर सामाजिक मुद्दाका रुपमा उठ्नुपर्छ । बोली नफुटेकी बालिका बलात्कार भएका धेरै घटना छन् । घरभित्रै बाबु र हजुरबाबाट भएका किशोरी बलात्कारको घटना पनि चर्चामा आए । तर, घटना घट्नु र सेलाउनुको सिलसिला चलिरह्यो । संवेदनहीन समाजमा अपाङ्ग र अशक्त व्यक्तिहरु पनि बलात्कार हुनबाट जोगिएनन् । हरेक गाउँसमाजमा बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई कारबाही गर्ने कानुन नै परिमार्जन गरिनुपर्ने आवाज उठेका छन् । आफ्नै अभिभावकबाट समेत बलात्कार हुन थालेपछि हाम्रो समाज कतिसम्म असुरक्षित रहेछ भन्ने बुझ्न गाह्रो पर्दैन । कुनै पनि मानिसमा मानवीयता हराएपछि, संवेदनशीलता मरेपछि, पाप र धर्मको चेष्टा नै नरहेपछि यस्ता निकृष्ट कार्य हुने गर्दछन् । मान्छेमा थोरैमात्र पनि चेतना र नैतिकता हुने हो भने यस्तो पशुवत् कार्यको कल्पनासम्म पनि कसैले गर्न सक्दैन । जबसम्म महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदैन, तबसम्म यस्ता आपराधिक घटना न्यूनीकरण हुन कठिन छ । नारीलाई सम्मानपूर्वक व्यवहार नगरेसम्म कुनै पनि समाज सभ्य र सुरक्षित रहन सक्दैन । नेपालकै प्रमुख समस्याका रुपमा देखिएको बलात्कार तथा महिला हिंसाका घटना न्यूनीकरण गर्न प्रत्येक घरबाटै अभियान सञ्चालन गर्नु आवश्यक देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट