गृह » कसैलाई टेर्दैन पुरानो मेडिकल कलेज पत्र काटिन्छ, चेक काटिँदैन
अर्थ प्रमुख समाचार स्वास्थ्य

कसैलाई टेर्दैन पुरानो मेडिकल कलेज पत्र काटिन्छ, चेक काटिँदैन

दिपेन्द्र अधिकारी
भरतपुर । पुरानो मेडिकल कलेज भरतपुरले भरतपुर अस्पतालको जग्गा झण्डै ९ बिघा प्रयोग गरिरहेको छ । २२ वर्ष अघिदेखि उसले ९ बिघा जग्गाको मासिक ९ लाख रुपैयाँ तिर्ने सम्झौता भएको हो । सरकारी सम्पत्तिमा ५० वर्षसम्म प्रयोग गर्न पाउने भनेर गरिएको सम्झौताका सम्बन्धमा आर्थिक पक्षमा सम्झौता कार्यान्वयन कमजोर देखिएको छ ।
भरतपुर अस्पतालले बक्यौता रकम उठाउने सम्बन्धमा कयौं पटक पत्र काटिसकेको छ । संवैधानिक अंगहरु महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मेडिकल कलेजले तिर्नुपर्ने रकमको बारेमा बोलेका छन् । तर, सम्झौता कार्यान्वयन गर्ने निकाय कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज) भने यस विषयमा चुपचाप छ ।
भरतपुर अस्पतालको पत्र
पछिल्लो पटक भरतपुर अस्पतालले माघ ३ गते भाडा तथा अनुदान वापतको रकम असुल सम्बन्धमा पुरानो मेडिकल कलेजलाई पत्र काटेको थियो । नियमित रुपमा प्राप्त हुनुपर्ने रकम नपाएको अस्पतालले जनाएको छ ।
आर्थिक वर्ष ०७३/०७४ सम्मको ३६ लाख ७३ हजार १५५ रुपैयाँ र चालु आर्थिक वर्षको ६१ लाख २० हजारसमेत गरी कुल ९७ लाख ३१ हजार १५५ रुपैयाँ भुक्तानका लागि पत्र नै मेसु डा रुद्रप्रसाद मरासिनीले काटेका छन् ।
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले गत भदौ ९ गते पत्र भरतपुर अस्पताललाई असुल उपर गर्ने सम्बन्धमा पत्र पठायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साउन ३१ को पत्र छायाप्रति सहित सुशासन इकाइबाट भरतपुर अस्पतालमा रकम असुल उपरका लागि आदेश आयो । पत्रमा भाडा वापतको रकम ३६ लाख ७३ हजारका साथै बुझाउनु पर्ने भाडाको १० प्रतिशत वृद्धि रकम र व्याजसमेत गरी कुल ६७ लाख ७८ हजार बेरुजु रकम असुल गर्न आदेश भएको थियो । साथै कर वापतको रकम १६ लाख ८० हजार रुपैयाँ मध्ये चार लाख १४ हजार मात्र दाखिला भएकाले बाँकी १२ लाख ६६ हजार रुपैयाँसमेत तत्काल असुल उपर गर्न आदेश भएको थियो ।
नेपाल सरकारको भदौ २ गतेको सचिवस्तरको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले पत्र पठाएको थियो । भरतपुर अस्पताललाई पत्राचार गरे पनि यस विषयमा मन्त्रालयले पुरानो मेडिकल कलेजलाई बोद्यार्थ वा अन्य कुनै जानकारी दिएको छैन ।
के छ अख्तियारको पत्रमा
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको गत साउन २६ गतेको निर्णय अनुसार महालेखा परीक्षकको कार्यालयले देखाएको ६७ लाख ७८ हजार बेरुजु रकम र कर बापतको १२ लाख ६६ हजार रुपैयाँ असुल गर्न भनिएको छ । नयाँ सम्झौताद्वारा जग्गा प्रयोगबाट हुन आउने आम्दानी व्यवस्थित गर्न र हरेक वर्ष सम्झौता पुनरावलोकन गर्न भनी मन्त्रालयले दिएको निर्देशन समेत पालना नभएको भन्दै अख्तियारले मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।
कति काट्नु पत्र
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले पटकपटक पत्र काटेर रकम उल्लेख गरी रकम तिर्न भने पनि पुरानो मेडिकल कलेज प्रशासनले अटेर गर्दै आएको बताए । ‘कति भन्नु, हामी त दिक्क भइसक्यौ,’ मेसु डा. मरासिनीले भने । रकम नबुझाएको सम्बन्धमा सोधपुछ गर्दा मेडिकल कलेजका केही व्यक्तिहरु पन्छिए भने मुख्य व्यक्तिसँग सम्पर्क हुन सकेन ।

Comments

About the author

चितवन पोष्ट