गृह » निर्वाचन परिणामअनुसार एमाले–माओवादीबीच भागबण्डा : नेता पाण्डे
राजनीति

निर्वाचन परिणामअनुसार एमाले–माओवादीबीच भागबण्डा : नेता पाण्डे

भरतपुर । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् पार्टी एकीकरण संयोजन समितिका सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकीकरणभन्दा अघि नै सरकार गठन हुने बताएका छन् ।
भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले सरकार गठनअघि पार्टी एकीकरण सम्भव नरहेको उल्लेख गरे ।
उनले भने, ‘सरकार गठनलगत्तै पार्टी एकीकरण हुन्छ । दुवै पार्टीमा अहिलेसम्म कुनै बिमती छैन । त्यसैले पार्टी एकीकरण पनि सहजरुपमै हुन्छ ।’
पार्टी एकीकरणमा सहमति भइसके पनि दुई पार्टीको प्रक्रियागत र संवैधानिक कुराले ढिलाइ हुनसक्ने उनको भनाइ छ । राष्ट्रियसभाको निर्वाचनपछि पार्टी एकीकरण र केन्द्रीय सरकार निर्माणमा ध्यानकेन्द्रित हुने नेता पाण्डेले बताए । एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०÷४० को भागबण्डा गरे पनि चुनावको परिणामअनुसार प्रदेशमा ७०÷३० को भागबण्डा गरिएको उनले बताए ।
पार्टी एकीकरणका लागि विभिन्न आधारहरु निर्माण गरिएको बताउँदै नेता पाण्डेले भने, ‘राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०÷३० प्रतिशतको आधारमा गरिएको छ । पार्टी एकीकरण पनि त्यसै अनुपातमा हुनसक्छ ।’
प्रदेशको मन्त्री र सभामुख स्थायी कमिटीले नै तोक्ने वा संसद्मा निर्वाचन गरेर टुंगो लगाइने उनले बताए । ‘अहिलेसम्म व्यक्तिकका बारेमा टुंगो लागेको छैन् । प्रदेशका मन्त्रीहरु र संसदीय समितिको प्रमुख भने दुई पार्टीको संसदीय दलको नेता र मुख्यमन्त्री बसेर टुंगो लगाइने छ’, नेता पाण्डेले भने ।
फरक प्रसंगमा पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले निर्वाचनमा पराजित सरकारले दूरगामी प्रभावपार्ने खालका निर्णय गर्नु गम्भीर र लोकतान्त्रिक पद्धति विपरीत रहेको बताए ।
उनले कामचलाउ सरकारले अहिलेसम्मको इतिहासमै नभएको काम गरेको आरोप लगाउँदै लोकतन्त्रमा पराजितहरुले गरेका कामले गम्भीर दुष्परिणाम ल्याउने चेतावनी दिए ।

Comments

About the author

चितवन पोष्ट