गृह » संघीय कानुनप्रति पत्रकारहरुको चिन्ता
राजनीति समाचार समाज

संघीय कानुनप्रति पत्रकारहरुको चिन्ता

चितवन । देश संघीय संरचनामा जाँदै गर्दा प्रेसमाथि अंकुश लगाउन सक्ने नयाँ ऐन कानुनमा सजग हुनुपर्ने चितवनका पत्रकारहरूले सुझाव दिएका छन् ।
प्रेस स्वतन्त्रताबिना संघीयता कार्यान्वयन भए जनताका अधिकारसमेत कुण्ठित हुने उनीहरुको भनाइ छ । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा चितवन शाखाले आयोजना गरेको प्रादेशिक संरचनामा ‘पत्रकारको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागी अगुवा पत्रकारहरुले सो कुरामा जोड दिएका हुन् ।
पछिल्लो समय विभिन्न राजनीतिक दलले प्रेसलाई स्वतन्त्र छाड्दा आफूहरुलाई समस्या आउने त्रासले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास भएको उनीहरुको आरोप थियो । हरेक संकटको घडीमा पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रादेशिक कानुन प्रेस स्वतन्त्रताको पक्षमा हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, जिल्ला शाखा अध्यक्ष राधेश्याम खतिवडा, प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल र प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपालले प्रदेश र स्थानीय कानुनमा प्रेसलाई संकुचित नगराउन राजनीतिक दलहरुसँग आग्रह गरे ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण दाहालले पत्रकारका गुनासाहरुप्रति आफू संवेदनशील भएकोे बताए । उनले भने, ‘प्रेस जगतमाथि अंकुश लगाउने गरी कुनै पनि ऐन कानून बन्न दिइँदैन । हामी स्वतन्त्र प्रेसप्रति गम्भीर छौँ ।’
माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ले आफूले राजनीतिक यात्राअघि पत्रकारिता गरेको बताउँदै नेपालको हरेक आन्दोलनमा पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहेकाले जुनसुकै दल या सरकारले यो भूमिकाको कदर गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटा, प्रेस युनियन जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस चौतारी नेपाल जिल्ला शाखाका अध्यक्ष तीर्थ नेपाल र आयोजक संस्थाका अध्यक्ष प्रकाश ज्ञवालीलगायत प्रेस स्वतन्त्रताका पक्षमा चर्चा गरेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट