गृह » देश–प्रदेश
साहित्य

देश–प्रदेश

–धर्मराज अर्याल

बगैंचाका फूलहरुमा
रसहरु टन्न भरिएका छन्
यो प्रभाती किरणमा
म उदाउँदो सूर्यलाई हेरेर
आनन्दको अनुभूति लिने गर्छु
यसैबीच
एक टुक्रा संघीयता
खसेको छ आज मेरो आँगनमा
म अञ्जानमै हर्षविभोर छु
खान देला
लगाउन देला
पढ्न देला
औषधि देला
र रोजगारी पनि देला
यस्तै यस्तै सोचिरहेको छु म ।

म देखिरहेको छु
ओठमा कतै मुस्कान छैन
सडक बालकहरुसँग
न त किताबकापी नै छ
उनीहरुको हातमा
म सोचमग्न छु उनीहरुलाई देखेर ।

यो संघीयता आउँदा
अवश्य पनि एक्लै आएन होला
साथमा अलिकति धन
र अलिकति मन लिएर आउला
यस्तो सोचिरहेछु म अचेल ।

परिवर्तित परिस्थितिमा
हावाको मन्द गतिले
यौटा आकार ग्रहण गर्नेछ
जहाँ ओत लाग्नेछन्
अनाथहरु
अपांगहरु
र कमजोर नागरिकहरु
संघीयताको न्यानो ओतमा
मस्त निदाउन सक्नेछन् ।

धेरै पछि मलाई पनि
लोभ लागेको छ संघीयताको
जहाँ म बाँच्न सकूँ
किताबका पानाहरु पल्टाएर
र कापीका पानाहरु रंग्याएर ।

म सुन्दैछु
अधिकारको मुहान सिंहदरबार
थोते बाघजस्तै
आकर्षणविहीन बनेको छ अचेल
त्यसको बदलामा खुलेका छन्
देश प्रदेशमा संघीयताका ढोकाहरु
जहाँबाट देखिन्छन्
यौटा पाठशालाको आकर्षक तस्बिर ।

मलाई मात्र नभएर
प्रदेश नं ३ का सन्तबहादुरलाई पनि
संघीयताको रस लागेको छ
भोलि उदाउने घामले
यौटा गतिलो खबर देला
यस्तो आशा गर्छ सन्तबहादुर ।

अब म आफ्नै प्रदेशमा
खोज्ने छु अधिकार र पहिचान
आऊ तिमी पनि
मसँगै आऊ
र निरन्तर बगिरहने प्रेमको गीत गाऊ ।

Comments

About the author

चितवन पोष्ट