गृह » जसलाई कारागारले बनायो कवि
कला विचार

जसलाई कारागारले बनायो कवि

–तुलमान गुरूङ
झट्ट हेर्दा जोकोहीलाई पनि असामान्य लाग्ने । खुइले तालु । कहिले झ्याप्प दाह्री पाल्ने त कहिले खौरेर हिँड्ने । आफूलाई खलनायकको परिचय दिएर चिनाउन मन लाग्ने । उनको परिचय सुन्दा कतिपयले जिस्काएको पनि भन्ठान्छन् । तर, सत्य यही हो उनी हुन्– मुकुन्द खलपात्र ।
शरीर हेर्दा त्यस्तो भयङ्कर र डरलाग्दो पनि होइन । तर, उनको लवाई देख्दा कताकता कुमार नगरकोटीको झल्को दिलाउँछ । घाँटीमा रूद्राक्षको माला कहिल्यै नछोड्ने उनको एउटा स्वभाव छ । यतिसम्म कि कति कार्यक्रममा पुग्दा उनको दायाँ खुट्टामा एकथरि चप्पल हुन्थ्यो भने बायाँ खुट्टामा अर्कैथरि । त्यस्तो देख्दा उनलाई नचिन्ने मानिसहरू खासखुस पनि गर्थे, कस्तो खालको मान्छे रहेछ, पागलजस्तो भनेर ।
कसरी यस्तो भयो त ? उनी भन्छन्, “बुबा ६० वर्ष र ममी ४५ वर्ष हुँदा म जन्मेको रे । त्यै भएर म अरूभन्दा फरक छु । मभन्दा माथिका दाइसँग मेरो उमेर नै १२ वर्ष फरक छ । ८ भाइ दाजुभाइ र पाँच दिदीबहिनीमा म कान्छो सन्तान ।”
‘जेनेरेशन ग्याप’ बढी भएकोले पनि आफ्नो स्वभाव अरूको भन्दा फरक भएको उनको बुझाइ छ । उनको स्वभाव कुनै पनि दाजु दिदीको स्वभावसँग मेल खाँदैन । १६ वर्षको उमेरमा भर्खर जुँगाको रेखी बस्दादेखि नै दाह्री जुँगा खौरेर मुस्लिम समुदायका मानिसजस्तै भएर हिँड्थे । कतिले त उनलाई मुस्लिम नै भन्ठान्थे ।
०३५ साल चैत २४ गते गुल्मीमा जन्मिएका उनी पाँच वर्षको छँदा परिवारसहित चितवन झरेका थिए । खासमा उनी अर्याल परिवारका सन्तान हुन् । तर, उनी भने आफ्नो वास्तविक थर लुकाएर मुकुन्द खलपात्र बनेका छन् । ‘यसैमा परिचय दिँदा मलाई सन्तुष्ट लाग्छ,’ उनी भन्छन् ।
उनलाई खलपात्र बनाएको कहानी भने फरक छ । हुन त प्रायः साहित्यकारहरूले आफ्नो वास्तविक परिचय लकाउँछन् । उदाहरणको लागि विश्वेश्वरप्रसाद कोइरालाको पनि त एउटै व्यक्ति भइकन पनि राजनीति र साहित्य क्षेत्रमा फरक–फरक परिचय थियो । जुन अहिलेका युवापुस्ताका साहित्यकारहरूसम्म पनि यो चलन कायमै छ ।
तर, मुकुन्द खलपात्रको हकमा भने उनी जेल परेपछि परिचय फेरिएको हो । हुन त उनले त्यसअघि पनि विभिन्न उपनाम राखे । तर, आफँैलाई चित्त बुझेन । अहिलेको यो नामबाट भने उनी पूर्णरूपमा सन्तुष्ट भएको बताउँछन् । भन्छन्, “यहाँ सबै नायकमात्रै बन्न खोज्ने । आफ्नो गल्ती भए पनि लुकाउने, अरूको गल्ती नै नभए पनि दोष देखाउने । त्यही भएर फरक परिचयबाट चिनाउनको लागि पनि मैले आफूलाई खलपात्र बनाएको हुँ । अहिले म खलपात्र भनेपछि अर्कोपटक चिनाइराख्नु पर्दैन ।”
परिवारको कान्छो सन्तान । २०५१ सालताका उनले एसएलसी परीक्षा उत्तीर्ण गरे नारायणगढको भानु माविबाट । त्यतिबेला माओवादी द्वन्द्व सुरू भइसकेको थियो । ब्राह्मण परिवारमा जन्मिए पनि उनी स्वतन्त्र तरिकाले हिँड्न रूचाउँथे । सायद परिवारका अरू दाइदिदीहरूभन्दा फरक स्वभावको भएर पनि होला । त्यतिबेला साथीको लहैलहैमा लागेर बिस्तारै उनी कुलतमा फस्न थाले ।
यही क्रममा उनी रोजगारको लागि चार÷पाँच पटक त भारत जाने आउने पनि गरे । तर, सोचेजस्तो भएन । उनी विगत सम्झँदै भन्छन्, “रोजगारको लागि भारत गएँ तर, उपलब्धि केही भएन । बुबा आमाको पैसामात्रै सत्यानाश । त्यसपछि राजधानी जाने–आउने पनि भयो । तीन÷चार जना मिलेर सानो मःम पसल पनि चलायौँ । तर, चिनेजानेका साथीभाइ आएर भोलि दिन्छु भन्दै खाएर गइदिने गरेपछि सानो लगानीको व्यवसाय माथि उठ्न सकेन ।
त्यस्तै ०५७÷०५८ सालताको कुरा हो । देशमा द्वन्द्व चर्किरहेको थियो । त्यतिबेला स्वदेशमै बसेका युवाहरूका लागि कि माओवादी बन्ने, कि सेनामा जानेभन्दा विकल्प नै थिएन । यी दुईमध्ये कि सेना कि माओवादीलाई जसरी भए पनि रोज्नैपर्ने बाध्यकारी स्थिति आयो । सुगम जिल्ला भइकन पनि त्यतिबेला चितवनमै पनि बस्न निकै गाह्रो थियो । अब के गर्ने त ? उनले योजना बनाए अब यी दुई विकल्पमध्ये एउटालाई त जसरी भए पनि रोज्नैप¥यो । तर, भइदियो के भने उनको लागि माओवादीमा जान कोही चिनेका मान्छे नै भएनन् । जसले गर्दा उनले जाने आँट गरेनन् । तर, त्यतिबेलाको शाही नेपाली सेनामा जान पनि उनले आँट गरेनन् ।
“त्यतिबेला यी दुई विकल्पमा कुनैलाई पनि रोज्नै सकिएन । जंगल पस्न पनि नजिकका कोही भएनन्, कोही भएका भए सायद अहिले पनि पार्टीको कार्यकर्ता हुन्थेँ हूँला,” उनले त्यतिबेलाको घटना सम्झँदै भने, “उता सेनामा जानलाई पनि आफू थर्ड डिभिजनमा एसएलसी पास भएको मान्छे, आफैँलाई आँट आएन ।”
त्यसपछि उनी एकजनाले काम लगाइदिन्छु भनेको भरमा ठूलो आश गरेर फेरि काठमाडौँ हान्निए । तर, सोचेजस्तो कहाँ हुन्छ र ? उता पुगिसकेपछि आफैँलाई लिएर जाने मान्छेले वास्तै गरेनन् ।
काठमाडौँ गएर पनि सोचेजस्तो नभएपछि उनी फेरि चितवनै फर्केँ । त्यतिबेलासम्म उनले क्षेत्रपुरमा भएको बुबाको सम्पत्ति बेचेर खर्च गरिसकेका थिए । खर्च गरेर पनि केही उपाय नलागेपछि उनले लागू पदार्थ दुव्र्यसनलाई विकल्पको रूपमा लिन थाले । संगत पनि त्यस्तै हुँदै गयो । जसले गर्दा एक÷दुई हुँदै नजिक भएका साथीभाइसँग संगत पनि बढ्दै गयो । हुँदाहुँदा कहिलेकाहीँ साथीभाइलाई सहयोग गर्न सक्नेसम्म भए । कुरा ०५७÷०५८ सालतिरको हो । जतिबेला उनी लागुपदार्थमा राम्रैसँग फसिसकेका थिए । त्यसपछि काठमाडौँ वीरगञ्जको ओहोरदोहोर चल्न थाल्यो ।
केही समयपछि उनी प्रहरी फन्दामा परे । त्यसपछि उनले प्रचलित कानुनअनुसार ०६४ सालको साउन १४ देखि ०६९ सालको साउन १४ गतेसम्मको पाँचवर्ष समय काठमाडौँको जेलमा बिताए । त्यतिबेलासम्म उनलाई साहित्यमा खासै रूचि र लगाव थिएन । तर, जेल परेछि उनलाई साहित्यका विभिन्न किताब पढ्ने मौका मिल्यो । जेल बस्दा उनले घर परिवारको लागि भनेर कैयाँैपटक चिठी लेखे तर, एउटा पनि चिठी घरमा पठाएनन् । त्यही लेखेर पनि घर नपठाउने चिठीले उनलाई कविताप्रतिको भावना जगाइदियो । जेल बस्दा पुस्तक पढेको प्रभाव पनि छँदै थियो ।
त्यतिबेला उनको जेल बस्ने समयले दुई वर्ष काटिसकेको थियो । र उनले कविता कोर्ने प्रयास गरे । तर, साँच्चैको कविता बन्यो या बनेन् भन्ने पनि थाह हुन्थेन । त्यतिबेला उनले गरेका क्रियाकलाप देखेर जेलमा भएका धेरै कैदीबन्दीले उनलाई यो त पागलै भएछ पनि भन्थे । त्यही पागल आज कविको रूपमा आफूलाई परिचित बनाउन प्रयास गरिरहेका छन् । त्यसो त उनी जेलमा बस्दा प्रायः सधैँ ध्यान र योगा गर्थे । “घरमा बुबाले सधैँ योगा र ध्यान गर्नुहुन्थ्यो । तर, मैले घरमा कहिल्यै गरिन,” उनी विगत सम्झँदै भन्छन्, “जेल गएपछि बुबाले गरेको देखेकै आधारमा मैले पनि योगा र ध्यान गर्थेँ ।”
आज उनी जेल बाहिर आएर पनि आफूलाई भाग्यमानी ठान्छन् । त्यतिबेला उनलाई बाध्यताले भन्दा पनि समय र परिस्थितिले जेल जाने बनाइदियो । आफ्नै ठाउँमा केही गरौँ भने पनि वातावरण सहज थिएन । जीवनको यात्रामा आएका ती मोडलाई अहिले उनी गौरवका साथ स्यालुट गर्छन् । अहिले उनी कवितासंग्रह निकाल्ने योजनामा लागेका छन् । आफ्नो घरपरिवारको साथ र सहयोगबिना पनि उनी अहिले साहित्यमा भविष्य खोजिरहेका छन् ।
“मलाई घर परिवारको सहयोग छैन । भगवान्ले तँ आँट म पु¥याउँछु भन्छ भन्छन् भन्थे । त्यसैले आँट मरेको छैन । कसैसँग सहयोग जुटाएरै भए पनि एउटा कवितासंग्रह प्रकाशन गरेरै छाड्छु । मलाई जेलमा पनि धेरैले ‘साइको’ भन्थे । अहिले पनि म साइकोजस्तै छु । मैले जुन काम आँटेको छु, मर्न तयार छु तर, कामलाई सफल पारेरै छाड्छु,” उनी दृढताका साथ भन्छन् ।
अहिले उनी चितवनमा नाटक घर निर्माण गर्नुपर्छ भनेर लागिपरेका छन् । फलस्वरूप यही साता नारायणी कला मन्दिरमा चारदिनसम्म नाटक मञ्चन गरिसकेका छन् । कर्मी नाट्य समूह र अराजक अक्षर समूहका उनी संयोजक हुन् । केही काम नगरे पनि कविता लेखेरै बाँच्न सक्ने उनले संभावना देखेका छन् । उनी भन्छन्, “कविता लेख्नेबाहेक मेरो कुनै पनि योजना छैन ।”

Comments

About the author

चितवन पोष्ट