गृह » ‘टिके’ डाँका चोरीकै बाइकमा चितवन एक महिनामै पाँच वटा चोरी घटना
प्रमुख समाचार

‘टिके’ डाँका चोरीकै बाइकमा चितवन एक महिनामै पाँच वटा चोरी घटना

भरतपुर । झन्डै एकदर्जन चोरी घटनामा संलग्न रामेछापका टीकाबहादुर थापामगर ‘टिके’ शनिबार इन्काउन्टरमा परे । ४ माघमा डिल्लीबजार कारागारबाट फरार उनलाई शनिबार चितवनमा प्रहरीले गोली हानेर घाइते बनाएर पक्राउ ग¥यो ।
उनले चलाएको ना ४७ प ५०५२ नम्बरको बाइक चोरीको भएको पत्ता लागेको छ । घाइते हुनुअघि उनी अपराधी नै भएको भन्ने कुनै पहिचान नभएको तर चेकजाँचको क्रममा उनले अस्वभाविक गतिविधि देखाएपछि गोली हानी घाइते बनाउँदा फरार अपराधी भन्ने थाहा पाएको चितवन प्रहरीले जनाएको छ ।
एक महिनामै ५ वटा चोरी घटना गरेका उनी कारागारको गलैँचा कारखानामा काम गर्ने क्रममा लुकेर बसी रातको समयमा तारजाली काटेर ४ माघमा उनीसहित अर्का कैदी वर्ष २६ का भूपाल थापा मगर फरार भएका थिए । भूपाल तत्कालै पक्राउ परे ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार प्रहरीको जवाफी फायरमा उनको तिघ्रा र हातमा गोली लागेको थियो । गम्भीर घाइते उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई शनिबार राति नै काठमाडौँ लगियो ।
पछिल्लो पटक उनलाई अपराध महाशाखाले ७ असार ०७२ मा चोरी मुद्दामा पक्राउ गरेको थियो । दोषी प्रमाणित भएपछि उनी डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै थिए ।
रामेछाप दोरम्बा–१ का ‘टिके’ उपनामले चिनिने थापामागर पहिलोपटक ६ वैशाख ०६४ मा डाँका मुद्दामा पक्राउ परेका थिए । ५ जेठ ०६५ मा उनी पुनः चोरी मुद्दामा पक्राउ परे । प्रहरी हिरासतबाट छुटेका उनी २४ असार ०६८ मा फेरि चोरी मुद्दामा पक्राउ परे । अदालतको आदेशबाट उनी जेल चलान भए । ५ फागुन ०६८ मा जेलबाट छुटे । त्यसपछि उनी फेरि ३ साउन ०६९ मा चोरी मुद्दामै पक्राउ परे ।
अझै फरार
टिके सँगै रहेको भनिएका अर्को व्यक्ति हालसम्म फरार छन् । शनिबार भएको घटनामा मोटरसाइकलमा पछाडि वसेका उनी को हुन भन्नेबारे अझैसम्म केही नखुलेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । उनको वनजंगल, गाउँ, खोला नदी आसपास निरन्तर खोजी भइरहेको उनले बताए ।
कहिले कहिले चोरी र लुटपाट ?
२१ माघ ०७१ मा १८ लाख ८४ हजार ६३५ लुटपाट
२१ कात्तिक ०७१ मा एक लाख ५५ हजार लुटपाट
६ पुस ०७१ मा ६९ हजार २५० लुट
६ चैत ०७१ मा बा.६७प ८४६८ नम्बर मोटरसाइकल चोरी
२७ वैशाख ०७२ मा दुई तोला सुनको सिक्री लुट
१ जेठ ०७२ मा बा.७४प ३६६२ नम्बरको मोटरसाइकल चोरी
२० जेठ ०७२ मा बा.६८प १०१८ मोटरसाइकल चोरी
२७ जेठ ०७२ मा तीन तोला सुनको सिक्री लुट
३२ जेठ ०७२ मा बा.६च ७६९८ नम्बरको गाडी चोरी

फरार अपराधी पक्राउ
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले बैकिङ कसुर मुद्दाका फरार अपराधी काठमाडौँ जिल्ला साबिक गागलफेदी गाविस वडा नं ५ घर भएका वर्ष ३४ को विमल खड्कालाई माघ १३ गते शनिबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त प्रहरी टोलीले फरार खड्कालाई भरतपुर मनपा वडा नं ९ गोन्द्राङबाट पक्राउ गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले बताए ।
बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटनको ०७१ असोज १ गतेको फैसलाले ३ वर्ष कैद र पाँच करोड पचहत्तर लाख रुपैयाँ जरिवाना तोकेको थियो । फरार अपराधीलाई आइतबार चितवन जिल्ला अदालतमा बुझाइएको प्रवक्ता ढकालले बताए ।
फरार अभियुक्त फक्राउ
त्यस्तै प्रहरीले कुटपिट घटनामा संलग्न २ युवालाई पक्राउ गरेको छ । गत पुस १६ गते दिउँसो वीरेन्द्र क्याम्पसको डिग्री क्याम्पस कम्पाउण्डभित्र फुटबल खेलिरहेका जिल्ला भरतपुर मनपा वडा नं ११ बस्ने वर्ष २१ को सञ्जय कार्कीलाई लातमुक्का तथा ढुङ्गासमेतले प्रहार गरी गम्भीर घाइते बनाइ फरार भएका व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी ढकालले बताए ।
काठमाडौँमा लुकीछिपी बसेको अवस्थामा माघ १२ गते शुक्रबार काठमाडौँ निलबराहीबाट पक्राउ पर्नेमा भरतपुर मनपा वडा नं १० बस्ने वर्ष २१ को अमृत तामाङ र सोही स्थानका वर्ष २२ को सिजे लामा रहेका छन् ।

Comments

About the author

चितवन पोष्ट