गृह » सरकारको निर्णय लोकतान्त्रिक चरित्र विपरित 
प्रमुख समाचार राजनीति

सरकारको निर्णय लोकतान्त्रिक चरित्र विपरित 

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान कामचलाउ सरकारले अनावश्यक निर्णयहरु गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘देशमा नयाँ जनमत आइसक्दा पनि पुरानो सरकारले अनावश्यक निर्णय गरेको छ, प्रचण्डले भने, ‘यो लोकतान्त्रिक चरित्र विपरीत छ ।’ शनिबार भरतपुरमा पत्रकार भेटघाटका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलनमार्फत वर्तमान सरकारले गरेको गतिविधिबारे दिएको अभिव्यक्ति साझा रहेको समेत अध्यक्ष प्रचण्डले बताए । आफू उक्त दिन भैरहवा भएकाले संयुक्त पत्रकार सम्मेलन हुन नसकेको भन्दै प्रचण्डले त्यस पत्रकार सम्मेलनमा ओलीले दिएको अभिव्यक्तिमा आफूहरुको पूर्ण समर्थन रहेको बताए । साथै हाल भएका निर्णयले कांग्रेसलाई नै दीर्घकालीन असर गर्ने प्रचण्डको भनाइ छ ।
मापदण्ड बनाएर शहिद घोषणा
प्रचण्डले सरकार पिच्छे आफूखुसी शहिद घोषणा हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
चितवन बाँदरमुढे घटनाका मृतकलाई शहिद घोषणा गरेकोमा आफूहरुको कुनै आपत्ति नरहेको भन्दै प्रचण्डले निश्चित मापदण्ड बनाएर शहिद घोषणा गर्नुपर्ने बताए ।
फागुन दोस्रो हप्ता सरकार
प्रचण्डले फागुन दोस्रो हप्तामा नयाँ सरकार बन्ने बताएका छन् । एमालेसँग पार्टी एकताका विषयमा निरन्तर र गम्भीर तरिकाले छलफल भइरहेको बताउँदै प्रचण्डले भने,‘जनभावना र चुनावअघि भएका प्रतिबद्धता अनुसार नै पार्टी एकता र सरकार निर्माण हुन्छ ।’

‘अबको शिक्षा समाजवादउन्मुख’ 
भरतपुर । नेपालमा शिक्षकहरुको भूमिका महत्वपूर्ण भएको पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको आठौं जिल्ला सम्मेलनमा बोल्दै उनले वाम गठबन्धनले नै अबको शिक्षा गुणस्तरीय तथा समाजवादउन्मुख बनाउने र अन्य प्रतिस्पर्धामा पनि अगाडि बढाउँदै लैजाने बताए । उनले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने समेत बताए । प्रचण्डले विभाजनले देशको भलो नहुने भएकोले सबै विचार मिल्नेहरु एक आपसमा मिल्नुपर्ने बताए । देशलाई नयाँ युगमा लैजानको लागि शिक्षा क्षेत्रबाट नै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेले शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने बारे बताए । सबै शिक्षकहरुलाई सरकारले गोल्डेन ह्याण्डसेक दिनुपर्ने र शिक्षाको आकार बढाउनसमेत उनले आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराईले अब शिक्षाको नीति छुट्टै बनाएर अगाडि बढ्न यही फागुनमा संगठनको राष्ट्रिय सम्मेलन गर्न लागेको बताए ।
त्यस्तै कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी मनोज गैरेले बजेट बाँडफाड गर्दा शैक्षिक क्षेत्रलाई पनि छुट्याउन सरकारसँग आग्रह गरे । चितवनलाई शैक्षिक हब बनाउन र गुणस्तरीय शिक्षा बनाउन नयाँ नेतृत्वले गर्ने उनले दृढतासमेत व्यक्त गरे ।
कार्यक्रममा प्रदेश २ ‘ख’ का सांसद विजय सुवेदीले देश आर्थिक विकास र समृद्धिमा अघि बढेको बताउँदै शिक्षालाई अब गुणस्तरीय बनाउने बताए । सो जिल्ला सम्मेलनले ३९ सदस्य कार्यसमिति चयन गर्नेछ । जसमा ३० जना निर्वाचित र ९ जना मनोनित हुने छन् ।
कार्यक्रममा नेपाल शिक्षक महासंघका उपमहासचिव एवम् नारायणी नमुना उच्च माविका प्राचार्य पूर्णप्रसाद दवाडी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष रमा घिमिरे, सांसदहरु प्रदेश १ ‘क’ का दावा दोर्जे लामा, प्रदेश २ ‘क’ का घनश्याम दाहाल, प्रदेश ३ ‘ख’ का रामलाल महतो, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भरतपुर महानगरका प्रमुख रेणु दाहाल, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईलगायत चितवन जिल्लाका सम्पूर्ण विद्यालयका सो संगठनमा आवद्ध शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । साथै कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई सो संगठनले सम्मानसमेत गरेको थियो । कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा भएको हो ।

Comments

About the author

चितवन पोष्ट