गृह » ६७ हजार पर्यटक चितवन निकुञ्जमा 
अर्थ प्रमुख समाचार

६७ हजार पर्यटक चितवन निकुञ्जमा 

भरतपुर । यस आर्थिक वर्षको आधा अवधि सकिँदा ६७ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् ।
चितवन निकुञ्जको मुख्यालय कसराबाट प्राप्त विवरण अनुसार यो आर्थिक वर्षको साउनदेखि पुससम्म अर्थात् छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क क्षेत्रका सात हजार ४४ र स्वदेशी १३ हजार २९० गरी कुल ६७ हजार १२३ जनाले निकुञ्ज घुमेका छन् ।
निकुञ्जले उपलब्ध गराएको विवरणमा सबैभन्दा धेरै कात्तिक महिनामा १८ हजार १७१ जनाले निकुञ्ज घुमेका छन् । भूकम्पअघि सबैभन्दा धेरै पर्यटक घुम्ने महिना कात्तिक हुने गर्दथ्यो । भूकम्प गएसँगै पर्यटकको संख्या ह्वात्तै घट्नुका साथै वर्षभरीमा सबैभन्दा धेरै पर्यटक आउने महिना कात्तिकको साटो चैत हुने गरेको छ । तर, भूकम्पअघिको पर्यटकको संख्या अझैसम्म पुगेको छैन ।
भूकम्पअघि सबैभन्दा बढी पर्यटक आउने महिना कात्तिकमा २५ हजारभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आउँथे । त्यो अवधिको तुलनामा अझै सात हजार कम पर्यटक निकुञ्ज घुम्न आएका छन् । अघिल्लो वर्ष र त्योभन्दा अघि पनि चैत महिनामा सबैभन्दा धेरै पर्यटक आएका थिए । तर, यो कात्तिकमा आएको पर्यटकको संख्या अघिल्लो वर्षको चैतका पर्यटकको भन्दा धेरै छ ।
गएको वर्ष सबैभन्दा धेरै पर्यटक आएको महिनामा कुल १७ हजार ४५१ जना स्वदेशी तथा विदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आएका थिए । यो वर्ष साउनमा सामान्यरुपमा सुरू भएको पर्यटकको आवागमन भदौमा निकै नै प्रभावित भयो । साउन अन्तिममा आएको बाढीले भदौभर पर्यटन व्यवसाय प्रभावित भयो । साउनमा छ हजार ५२२ जनाले निकुञ्ज घुमेका थिए । भदौमा यो संख्या आधा भयो । त्यो महिनामा जम्मा तीन हजार ८५९ जनाले निकुञ्ज घुमेको कसराबाट प्राप्त विवरणमा उल्लेख छ । त्यसपछि असोजमा केही राहत हुने गरेर पर्यटक आएको देखिन्छ । सो महिनामा ११ हजार ९६९ जनाले चितवन निकुञ्ज घुमेका छन् ।
कात्तिकपछि सामान्यतया पर्यटक आवागमनको संख्या घट्न थाल्छ । मंसिरमा १२ हजार ५६४ र १४ हजार ६८ जनाले निकुञ्ज घुमेका छन् । पुसमा नेपाली र सार्क क्षेत्रका पर्यटकहरु अरु महिनाको भन्दा धेरै नै आएका छन् । पुसमा चार हजार ७५४ नेपाली र सार्क देशका दुई हजार ५४८ जनाले चितवन निकुञ्ज घुमेको कसराबाट प्राप्त विवरणमा उल्लेख छ ।
अघिल्लो वर्षको भन्दा सामान्य सुधार
यो वर्ष सौराहामा बाढीले ठूलो बितण्डा मच्चायो । यसका साथै नारायणगढ–मुग्लिन सडकको दुरावस्थाले पर्यटन फस्टाउन बाधा पु¥याउँदै आएको पर्यटन व्यवसायीहरु बताउँछन् । तर, पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटनको संख्यामा सामान्य नै भए पनि सुधार भने देखिएको छ ।
अघिल्लो वर्ष आधा आर्थिक वर्ष सकिँदा ६३ हजार ८०५ जना स्वदेशी र विदेशी पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । यो वर्ष त्योभन्दा तीन हजार ३१८ जना बढी पर्यटकले निकुञ्ज घुमेका छन् । भूकम्प र नाकाबन्दीको मारमा परेको चितवनको पर्यटन पछिल्लो समय बाढीका कारणले मात्रै नभएर नारायणगढ मुग्लिन सडकको दुरावस्थाले पनि पीडित हुने गरेको छ । भूकम्प नजाँदा सम्म वर्षमा झण्डै पौने दुई लाख पर्यटकले निकुञ्ज घुम्थे । अघिल्लो आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटकको संख्या एक लाख ३९ हजार मात्रै थियो । त्योभन्दा अघि यो संख्या ८७ हजारमा सीमित भएको थियो ।

Comments

About the author

चितवन पोष्ट