गृह » टिकटमा मुक्तक
समाचार समाज साहित्य

टिकटमा मुक्तक

नारायणगढ । साहित्यलाई पनि व्यवसायिकरूपमा अगाडि बढाउने उद्देश्यले शनिबार नारायणगढमा टिकटमा मुक्तक कार्यक्रम आयोजना गरिएको छ ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको हो । पाँचवटा चरणमा भएको कार्यक्रममा चितवनका चारजनासहित देशभरका २६ जना मुक्तककारहरूले छ/छ वटा मुक्तक सुनाएका थिए । २०६३ सालमा टिकटमा गजल आयोजना गरेको प्रतिष्ठानले त्यसपछि धेरै पटक टिकटमा कार्यक्रम आयोजना गरिसकेको छ ।
संस्थाका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ले नेपाली साहित्यलाई व्यवसायिक बनाउन नसकेकोले अबको समयमा विस्तारै व्यवसायिक बनाउन आवश्यक रहेको बताए । सोही अनुरूप प्रतिष्ठानले प्रयास गरेको उनको भनाइ छ ।
मुक्तकमार्फत समाज परिवर्तन, मायाप्रेम, मातृभूमिको मायालगायतका विषयमा केन्द्रित मुक्तकहरू सुनाइएको थियो । काठमाडौँ, पोखरा, बझाङ, धादिङ, लमजुङ, मकवानपुर, सर्लाही, इलामलगायतका जिल्लाहरूबाट मुक्तक सुन्न र सुनाउनको लागि साहित्यकारहरू चितवन आएका थिए । प्रतिष्ठानले यसअघि पनि टिकटमा मुक्तक कार्यक्रम गरिसकेको छ । यसैलाई श्रृङ्खलाबद्ध तरिकाले आयोजना गर्दै जाने प्रतिष्ठानका सचिव सुवास अधिकारीले जानरकारी दिए । त्यसै पनि चितवनलाई साहित्यको उर्वर भूमि मानिन्छ । चितवनमा बसेर साहित्यिक कर्मलाई अगाडि बढाइरहेका साहित्यकारहरू उत्कृष्ट रचनाका लागि सफल भइसकेका छन् ।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम मार्फत् देशैभरका साहित्यकारहरूको जमघट हुने अवसर पाएको भन्दै मुक्तककार गौरी तमूले खुसी व्यक्त गरिन् । गैँडाकोट माइत भई हाल पोखरामा शिक्षण पेसामा रहेकी तमूले यस्तो खालको कार्यक्रमले घरभित्रै बसिरहने मानिसहरूलाई पनि घर बाहिर आउने वातावरण मिलाइदिएको बताइन् । अन्य साहित्यिक संस्थाहरूले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । शनिबारको कार्यक्रममा मुक्तक सुन्नका लागि करिब १५० भन्दा बढी साहित्यकारहरू टिकट काटेरै चितवन साहित्य परिषद्को हलसम्म पुगेका थिए ।

Comments

About the author

चितवन पोष्ट