गृह » देउवा सरकारको निर्णय नयाँ सरकारले उल्टाउन सक्दैन : नेता खाँण
राजनीति

देउवा सरकारको निर्णय नयाँ सरकारले उल्टाउन सक्दैन : नेता खाँण

भरतपुर । नेपाली काँग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले संविधानअनुरुप नै वर्तमान देउवा सरकारले गरेको निर्णय नयाँ बन्ने सरकारले उल्टाउन नसक्ने बताएका छन् ।
प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खाँणले नयाँ बन्ने सरकारले पनि संविधानअनुरुप नै निर्णय गर्न पाउने भन्दै वर्तमान सरकारले आवश्यकताअनुसार नै निर्णय गरेको स्पष्ट पारे ।
नेता खाँडले भने, “सबैको सल्लाहबमोजिम नै वृद्धभत्तालगायतका आवश्यक निर्णय गरिएको छ । यसले जनतालाई राहत प्रदान गर्ने विश्वास लिएका छौँ ।”
बिहीबारमात्रै भावी प्रधानमन्त्रीका रुपमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरी वर्तमान सरकारले गरेका निर्णयहरु उल्टाउन सक्ने बताएका थिए ।
नेता खाँणले नयाँ सरकार वाम मोर्चाकै बन्नेमा दुईमत नरहेको बताउँदै नेपाली काँग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले भने, “वाम सरकारले गर्ने रचनात्मक कार्यलाई काँग्रेसले सदैव सहयोग गर्छ ।”
गत निर्वाचनको चुनावी परिणामलाई लिएर नेतृत्व परिवर्तनका कुरा उठ्नु राम्रो नभएको उनको भनाइ थियो । सरकारका राम्रा र नराम्रा सबै कार्यमा काँग्रेसका नेता तथा कार्यकर्ताको जिम्मेवारी रहेको उनले बताए ।
उनले अहिलेको पार्टीको ढाँचालाई बदलेर काँग्रेसलाई बलियो बनाउनुपर्ने भन्दै नेतृत्वलाई पनि परिस्कृत गर्दै लैजान आवश्यक रहेको बताए । उनी पार्टीको विभिन्न कार्यक्रमका लागि चितवन आएका हुन् ।

Comments

About the author

चितवन पोष्ट