गृह » मेरा प्रिय २५ पुस्तकहरु
साहित्य

मेरा प्रिय २५ पुस्तकहरु

– सङ्गीत आयाम
sangeetaayam@gmail.com
१. शिरीषको फूल
पारिजातको ‘शिरीषको फूल’ उपन्यास नेपाली साहित्यको यस्तो काव्यात्मक उपन्यास हो, जसको भाषाको विशिष्टतालाई अहिले पनि ठूलो अनुपातमा मापन गरिएको पाइन्छ । मूलतः अस्तित्वबोध र विसङ्गतिवादी चिन्तनको धरातलमा लेखिएको शिरीषको फूल उपन्यासले कला र शैलीका कारण सुरूबाट नै बाँधेर लैजान्छ । सुयोगवीरको सकमबरीप्रतिको अमूर्त प्रेमलाई विषयवस्तु बनाइएको यो उपन्यास कलात्मक भाषिक प्रयोग र काव्यमय शैलीको कारण मेरो सधैँका लागि प्रिय उपन्यास हुन पुगेको छ ।
२. मुनामदन
लोकलयमा आधारित महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’मा प्रयुक्त कथाले पढ्दाखेरि यसरी तान्छ कि मानौँ त्यो कथा पढ्ने पाठकहरुको आफ्नै कथाका रुपमा अघि बढिरहेको छ । नेपाली जनजीवन, संस्कृति र परिवेशको जीवन्त चित्रणले गर्दा यो खण्डकाव्य सदाबहार र अनुपम हुन पुगेको छ । मुनामदनको सबैभन्दा ठूलो विशेषता भनेकै भाषिक रुपमा सरलता र प्रस्तुतिमा आकर्षण हो, जसले नेपालीहरुको मन–मस्तिष्कमा सदैव बास गर्न पुगेको छ ।
३. गौरी
आफ्नी पत्नीको वियोगमा लेखिएको शोककाव्य ‘गौरी’ यति धेरै भावनात्मक रुपले सबल र सक्षम बन्न पुगेको छ कि त्यहाँका प्रत्येक हरफमा मिठास अनि जीवन, जगत् र मृत्युकै कुरा भए पनि लोभलाग्दो आकर्षण परिव्याप्त छ । पत्नी वियोगलाई लिएर नेपाली साहित्यमा यति शानदार काव्यसमेत लेखिन सक्दोरहेछ भन्ने कविवर माधवप्रसाद घिमिरेले साहित्यकै इतिहासमा एउटा छुट्टै मानकता नै खडा गर्न पुगेका छन् ।
४. माधवी
नेपाली साहित्यमा रहेको एउटा बृहद् उपन्यासका रुपमा ‘माधवी’को व्यापक चर्चा हुने गरे पनि पौराणिक कथालाई लिएर आधुनिक तरिकाले भाषा, शैलीमा गरिएको उपचार भने असाध्यै स्वादिलो र रसिलो छ । गालब र माधवीको व्यक्त÷अव्यक्त प्रेमको साङ्लोमा उधिनिएको यो उपन्यासमा भाषा, शैली, प्रस्तुति र तत्कालीन समयको सजीव चित्रणका कारण यो एउटा महान् ग्रन्थका रुपमा रहेको कुरामा कुनै शंका छैन । माधवीमा लेखकको अध्ययन, चिन्तन, मनन्लाई मात्र पाठकले आत्मसात् गर्दैन, अझ अघि बढेर उपन्यासले समग्रमा सृजित गर्न सकेको अनौठो र आश्चर्यजनक संसारलाई समेत आफूमा आत्मसात् गर्छ ।
५. नयाँ सडकको गीत
रमेश विकलको ‘नयाँ सडकको गीत’ कथासङ्ग्रहमा ठेट नेपाली जनजीवनको प्रभावशाली चित्रण छ । शोषक र शोषित पात्रहरुको बाहुल्यता रहेको यस कृतिले प्राकृतिक रुपमा यथार्थपरक ढंगले गरिएको प्रस्तुतिले मानवीय संवेदनाको तहसम्म पुगेर पाठकलाई सोच्न बाध्य बनाउँछ । यथास्थितिबाट मुक्ति खोज्दै परिवर्तनका लागि गरिएको प्रगतिवादी चिन्तन र प्रयोगले पनि तत्कालीन समयको नेपाली समाजलाई यसले औधी न्याय गरेको देखिन्छ । कथानकले मात्र यो राम्रो भएको नभई भाषा, शैली र प्रस्तुतिले पनि यसलाई शक्तिशाली कथासङ्ग्रहको रुपमा उभ्याएको छ ।
६. नासो
कथाकार गुरूप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहभित्र रहेका कथाहरु सामाजिक परिवेश र त्यसमा घटित परिवेशका उपज हुन् । सामाजिक न्याय खोज्ने तर त्यो प्रायः दुर्लभ हुने अवस्थाका कारण नासोभित्रका पात्रहरु आफ्नै जस्ता लाग्छन्, जसले पाठकलाई पुस्तकबाट अलग रहन नै दिँदैन । बिनाछलछाम र कृत्रिमताविहीन ढंगले लेखिएका मैनालीका कथाहरु यति निर्दोष, भावुक र यथार्थपरक छन् कि ती कथाहरु नेपालीमात्रका साँयो कथाका रुपमा स्थापित हुन पुगेका छन् ।
७. घुम्ने मेचमाथि अन्धो मान्छे
भूपि शेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ काव्य नेपाली काव्यका लागि एउटा उदाहरणीय र उल्लेखनीय रुपमा रहेको देखिन्छ । यो कृति मेरो सधैँको प्रिय पुस्तकको लिस्टमा रहनुमा यसमा समावेश गरिएका कविताहरुमा यथार्थपरक प्रयोगशीलताको उच्च मापनले मन र मस्तिष्कलाई सोच्न बाध्य बनाएको कारणले हो । कवि भूपि शेरचनले समसामयिक विषयवस्तुलाई कलात्मक र व्यङ्ग्यात्मक रुपमा शैली, शिल्प र प्रस्तुतिको सुन्दरताद्वारा यसरी कविताहरु प्रस्तुत गरेका छन् कि जसमा रहेको सरलता र इमानदारिताका कारणले पनि यसलाई काव्यहरुमा निकै अलग बनाएको छ । नेपाल र नेपालीलाई समग्रमा गहिरो रुपमा सम्बोधन गरिएको यो काव्य यस्तो धरोहर बनेर रहेको छ, जसले विद्यमान विकृति र विसङ्गतिप्रति आक्रामक रहँदै प्रगतिशील चेतना र प्रगतिवादी समयका लागि बीउ छर्दै पाठकहरुलाई सुन्दर भविष्यका निम्ति आह्वान्समेत गर्छ ।
८. लक्ष्मी निबन्धसङ्ग्रह
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘लक्ष्मी निबन्धसङ्ग्रह’ नेपाली साहित्यको इतिहासमा कोशेढुंगाको रुपमा रहेको छ । भाषिक, बौद्धिक र कलात्मक रुपमा समेत अत्यन्तै अब्बल बनेको यो कृतिभित्र रहेका निबन्धहरु पढ्दा बेजोड कविताको स्वादमा पाठक निमग्न हुन्छ । वैचारिक स्वच्छन्दता र कलात्मक उडानले यो निबन्धसङ्ग्रहमा तीव्र अनुभूति र विचारलाई यसरी प्रस्तुत गरिएको छ कि जसले यथार्थ वस्तुस्थितिलाई लिएर छुट्टै काल्पनिक संसारको निर्माणसमेत गर्छ ।
९. सिद्धार्थ
आजभन्दा करिब १०० वर्षअघि प्रकाशित भएको हरमन हेस्सेद्वारा लिखित जर्मन भाषाको ‘सिद्धार्थ’ उपन्यास मूलतः पात्रको आफूलाई खोज्नेक्रममा रहेको आध्यामिक यात्राको दस्तावेज हो । यसभित्र सिद्धार्थ (गौतम बुद्ध) पात्रले आफ्नो प्रारम्भिक जीवन र क्रमशः प्राप्त गरेको उपलब्धिलाई कथानक बनाइएको छ, जसले निश्चित कालखण्डलाई प्रस्तुत गर्छ । भाषिक रुपमा सरल भैकन पनि सिद्धार्थ उपन्यास काव्यात्मक रुपमा अत्यन्तै गहन हुनाले यो मेरो प्रिय पुस्तकका रुपमा रहन पुगेको छ ।
१०. दी वल्ड म्यान एन्ड दी सी
अमेरिकी उपन्यासकार अर्नेस्ट हेमिङ्गेद्वारा लिखित ‘दी वल्ड म्यान एण्ड दी सी’ उपन्यासले मेरो जीवनमा असाध्यै ठूलो प्रभाव पारेको छ । जीवन सङ्घर्षैसङ्घर्षको महागाथा हो र जीवनका लागि हरदम लड्नुपर्छ भन्ने चेतना प्रवाहित गर्ने यो उपन्यासमा एउटा बूढो माझी सान्टियागो र उसले भयंकर ठूलो माछा मार्लिन समात्न गरेको सङ्घर्षको बेजोड कथा छ, जसले पाठकहरुको मन र मस्तिष्कलाई यसरी हल्लाउन थाल्छ कि पढ्दै गरेको पुस्तक छोड्न नै नसकिने अवस्थाको सिर्जना हुँदै जान्छ । सान्टियागोले लामो समयदेखि आफ्नो काममा असाध्यै असफल रहेर पनि सफलताको निरन्तर खोजी गरिरहेको जुन महान् प्रयास छ, त्यस प्रयासले उपन्यासलाई एउटा प्रेरणादायी र आदर्शवादी कृतिका रुपमा समेत उभ्याएको छ ।
११. वार एण्ड पिस
रस्सियन उपन्यासकार लियो टाल्सटायद्वारा लिखित ‘वार एण्ड पिस’लाई विश्वकै महान् उपन्यासको दर्जा दिइएरमात्र यो उपन्यास महान् बनेको होइन । यस कृतिमा विषयवस्तुको पकड, वस्तुस्थितिप्रतिको सूक्ष्मता, परिस्थितिजन्य गहिरो प्रभाव र इतिहासप्रतिको न्यायोचित व्यवहारका कारणले पनि यो उपन्यास श्रेष्ठ भएको हो । यस उपन्यासमा फ्रान्स र रस्सियाबीचको युद्धगत रस्साकस्सी र नेपोलियन कालखण्डलाई सविस्तार यसरी वर्णन गरिएको छ कि पाठकहरु स्वयं नै युद्धभूमिमा गएरै युद्ध लडिरहेको महसुससमेत गर्छन् । पाँच कुलीन परिवारको माध्यमद्वारा कथानकलाई प्रभावशाली रुपमा अघि बढाइएको यो कृतिको भाषा, शैली र प्रस्तुतिले समेत यसलाई महान् उपन्यासको श्रेणीमा उभ्याएको छ ।
१२. आन्ना कारेनिना
लियो टाल्सटायको अर्को बहुचर्चित उपन्यास ‘आन्ना कारेनिना’ आन्ना र ब्रोन्स्कीबीचको प्रेमकहानी हो । मुख्य पात्र आन्नाको आफ्नो विवाहप्रतिको असन्तुष्टि र उच्च घरानाप्रतिको उदासीनतालाई टाल्सटायले यसरी वर्णन गरेका छन् कि उपन्यास पढ्दा कतै छोड्न नै मन लाग्दैन । उन्नाइसौँ शताब्दीको रस्सियन महान् प्रेमकहानीमा मिठास, मधुरता, द्वन्द्व र भावुकताको यति गहिरो समायोजन छ, जसले हार्दिक र आत्मीय रुपमा पाठकहरुलाई पूरै बाँधेर राख्छ । पात्रका तस्बिरहरु मानौँ पढ्दै जाँदा आँखाअगाडि नै उभिएर संवाद गरिरहेका हुन्छन्, जसले अनौठो परिस्थितिको क्रमशः निर्माण गरिरहेको पनि हुन्छ ।
१३. वमेन इन लभ
डी. एच. लरेन्सको रोमान्टिक उपन्यास ‘वमेन इन लभ’ उनको पहिलाको उपन्यास दी रेनबोको निरन्तरता हो । उनै पात्रहरु ब्राङ्वेन दिदीबहिनी, गर्डन र उर्सुलाकै प्रेमजीवनकै वरिपरि यो उपन्यास घुमेको छ । जीवनलाई प्रेमको उतारचढावमय ढंगले हेर्ने यो उपन्यास पात्रगत रुपमा रहेको वा देखिएको तनाव व्यवस्थापनको उत्तम सूत्रका रुपमा समेत अघि बढेको पाइन्छ । लरेन्सको भाषामा रहने कवितात्मकता र शैलीमा रहेको जादुमयताले वमेन इन लभलाई रोमान्टिक उपन्यासहरुमा अग्रणी दर्जा दिएको छ । लरेन्सकै जीवनसँग पनि मेल खाने यो उपन्यासको पृष्ठभूमि पहिलो विश्वयुद्धभन्दा पहिलाको हो र पूरै बेलायती समाजकै वरिपरि केन्द्रित रहेको छ । चर्चित लेखिकाहरुलाई पात्र बनाएर लेखिएको उपन्यासका रुपमा पनि यसलाई लिइन्छ ।
१४. गाइड
भारतीय मूलका अंग्रेजी लेखक आर. के. नारायणले ‘गाइड’ उपन्यासले पनि मलाई निकै प्रभाव पारेको छ । दक्षिण भारतको कुनै काल्पनिक ठाउँ मालगुडीमा अघि बढेको घटनाक्रम एउटा यस्तो राजु गाइडको कथा हो जो पछि आध्यात्मिक गाइडका रुपमा समेत रुपान्तरित हुन्छ । पछि त ऊ भारतको एउटा चर्चित आध्यात्मिक व्यक्तित्वसमेत बन्छ । यस कृतिमा रहेको सरलता, जीवनलाई अलग ढंगले हेर्ने मानसिकता र यथास्थितिसँग गरिएको विद्रोहका कारण गाइड मेरो असाध्यै प्रिय पुस्तकका रुपमा रहँदै आएको छ । आर. के. नारायणको भाषा, शैली पनि आफैँमा बेजोड र आकर्षक छ ।
१५. मिडनाइट्स चिल्ड्रेन
सलमान रूश्दीको बहुचर्चित उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ स्वयं लेखकका रुपमा फरक पात्र बनाएर लेखिएको आत्मकथात्मक उपन्यास हो । सलिम सिनाइ मूल पात्र रहेको यो उपन्यासको पृष्ठभूमि ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र हुँदै गरेको अवस्थाको चित्रण हो । ऐतिहासिक सन्दर्भमा लेखिएको र रुपान्तरणको प्रत्रियालाई मूल पात्रमार्फत हेर्ने गहिरो दृष्टिले यस उपन्यासलाई तत्कालीन समयको महादस्तावेजसमेत बनाएको छ । भाषिक रुपमा सबल, सक्षम र शक्तिशाली रहेको यो उपन्यास कथ्य र विषयवस्तुमा देखिएको रोचकताका कारण पाठकहरुलाई पूरै सम्मोहनमा बाँधेर राख्न सफल देखिन्छ ।
१६. दी फल
फ्रेञ्च उपन्यासकार अल्बर्ट कामुको शक्तिशाली उपन्यास ‘दी फल’ उपन्यास आकारप्रकारमा सानो नै भए पनि मन–मस्तिष्कलाई धेरै दिनसम्म सोच्न बाध्य बनाउने खालको कृति हो । विशेषगरी, वैचारिक तथा दार्शनिक रुपमा सबल यो उपन्यास पात्रगत आत्मकथात्मक नाटकीयताले भरिएको छ । एउटा यस्तो पात्र जो जीवनको पूवाद्र्धमा एक वकिलका रुपमा अत्यधिक सफल रहेको थियो र पछि विभिन्न परिस्थिति सिर्जना हुन थालेपछि उसको पतन हुँदै जान्छ । पात्रले आफ्नो जीवनका बारेमा गहिरो सोच र प्रायश्चितसमेत गरेको अवस्था साँच्चै नै मस्तिष्कलाई हल्लाउने खालको छ । विसङ्गतवाद र अस्तित्ववादको यति सफल प्रयोग सायदै अरु कुनै कृतिमा यसरी देखाइएको पाइन्छ !
१७. क्राइम एण्ड पनिसमेन्ट
फ्योदोर दोस्तोएब्स्कीको महान् उपन्यास ‘क्राइम एण्ड पनिसमेन्ट’ एउटा यस्तो पात्र रस्कोलनिकोभको कथा हो जो मानसिक रुपमा अशान्त, अधैर्य भए पनि आफूप्रतिको विश्वास भने उसमा गज्जबको छ । विश्वसनीय रुपमा गरिएको अपराधसमेत जायज मान्ने विश्वास बोकेको पात्र आफूलाई नेपोलियन बोनापार्ट सम्झँदै ती सबै कर्तुतहरु गर्छ, जसलाई लेखकले मनोवैज्ञानिक ढंगले समेत उजागर गरेका छन् । पात्रले अपराध गरे पनि पाठकहरुलाई अपराध लाग्न नसक्नु नै यो उपन्यासको महान् विशेषता हो । भाषामा दुरूस्तता र कथामा सबलताले क्राइम एण्ड पनिसमेन्टलाई मेरो पुस्तकहरुको प्रिय लिस्टमा सदाबहार पुस्तकहरुको श्रेणीमा उभ्याएको छ ।
१८. अ डल्स हाउस
हेनरिक इब्सेनको नाटक ‘अ डल्स हाउस’ पनि मेरा केही प्रिय पुस्तकहरुभित्र नै पर्छ । यसमा लेखकले पुरूषवादी समाज र मानसिकतालाई प्रत्यक्ष चुनौती दिने गरेर नारीवादी आवाजलाई बुलन्द गरेका छन् । उन्नाइसौँ शताब्दीको वैवाहिक पद्धतिप्रति आक्रामक रहेको यो नाटक केन्द्रीय पात्र नोराको विचार र दर्शनको सफलतम अभ्यास पनि हो । उनले आफ्ना पति र छोराछोरीलाई एक अलग प्रकारको स्वतन्त्र अस्तित्वका लागिसमेत छोड्ने गरेको निर्णय त्यतिबेलाको समयमा चानचुने थिएन, जसलाई अहिले पनि नारीवादीहरुले अनुकरण र अनुसरण गर्दै आएका छन् । ‘अ डल्स हाउस’ विचार, कथ्य र जीवन्त घटनाक्रमका लागि सधैँ नै स्मरणीय हुने पुस्तक बनेको छ ।
१९. दी इडियट
फ्योदर दोस्तोयेब्स्कीकै अर्को उपन्यास ‘दी इडियट’ पनि मेरा प्रिय पुस्तकहरुको सूचीमा परेको छ । २६ वर्षको लेव निकोलेयविच केन्द्रीय पात्र रहेको यस उपन्यासमा ऊ स्विस अस्पतालमा धेरै वर्ष बिताएपछि रस्सिया फर्किएको र त्यसपछि महिला पात्रहरुसँगको प्रेम र संघर्षसम्मको महागाथाको वर्णन छ । यो उपन्यासले मन र मस्तिष्कलाई एकैचोटि केन्द्रित गर्दै छुट्टै संसारको स्वादसमेत दिलाउँछ । रसिस्यन साहित्यमा यस पुस्तकलाई स्वर्णकालीन समयको महान् उपलब्धि भनेरसमेत चर्चा गरिएकोले यो उपन्यास महान् बनेको होइन, यसमा अदभुत पात्रको अविश्वसनीय चित्रणका कारण पनि यो उपन्यास महान् बन्न गएको हो । पात्रगत मनोविज्ञान र प्रेम अनि संघर्षका अगाडि भौतिक सम्पत्ति, शक्ति, सुख–सुविधा र यौनको बढ्दो हस्तक्षेपलाई यो उपन्यासले यसरी उठाएको छ कि मूल पात्रप्रति पढ्दै जाँदा अन्तिमसम्म नै सहानुभूतिको खोलो नै बग्दछ । लोभलाग्दो र फराकिलो पृष्ठभूमि दी इडियट उपन्यासको आकर्षक पक्ष हो, जसले पाठकलाई कत्ति पनि विचलिन हुन दिँदैन ।
२०. वेटिङ फर गोदो
स्यामुयल बेकेटको महानतम नाटक ‘वेटिङ फर गोदो’ को मेरो जीवनमा शक्तिशाली प्रभाव छ । यसमा विशेषगरी दुई मुख्य पात्रहरु भ्लादिमिर र इस्ट्रागोनको एउटा काल्पनिक पात्र गोदोको आगमन लिएर गरिएको निरन्तर प्रतीक्षालाई आश्चर्यजनक रुपमा बृहद् पृष्ठभूमिका साथमा देखाइएको छ । मुख्य पात्रहरुको व्यर्थ र नसिद्धिने प्रतीक्षाकै कारण पाठकहरु समेत त्यो प्रतीक्षा कहिले समाप्त हुने हो भनेर अधैर्य हुन्छन् । आधुनिक समाजको विसङ्गत पक्षलाई जोडदार रुपमा उठाइएको यो नाटक अस्तित्ववादी चिन्तन र सोचको प्रभावशाली प्रयोग पनि बन्न गएको छ ।
२१. लङ वाल्क टु फ्रिडम
दक्षिण अफ्रिकाका महान् राजनेता नेल्सल मण्डेलाको आत्मकथा ‘लङ वाल्क टु फ्रिडम’ एउटा अथक र अविचलित स्वतन्त्रता सेनानीको यस्तो प्रभावशाली कथा हो, जसले आफ्नो देश दक्षिण अफ्रिकालाई अंग्रेजको गुलामीबाट मुक्त बनाएरै छोड्छ । मण्डेला देशको स्वतन्त्रताका लागि लगातार २७ वर्षसम्म जेलमात्रै पर्दैनन्, जेलजीवनमा रहँदा उनको जीवन पूरै खतरैखतराले पनि भरिएको हुन्छ । उनको जीवनकालमा आएका ती तमाम संघर्षमय उतारचढावलाई समेत सविस्तार यस आत्मकथामा शक्तिशाली रुपमा वर्णन गरिएको छ । सयौँ दुःख, कष्ट, यातना र पीडाका बाबजुद पनि मण्डेलाले अन्तिमसम्म हिम्मत नहारी शत्रुसँग लडिरहेको कथा पाठकहरुका लागिसमेत निकै प्रेरणादायक बन्न पुगेको छ ।
२२. पिग्मिलियन
जर्ज बर्नाड शको नाटक ‘पिग्मिलियन’को कथाले मलाई सधैँ नै आकर्षित गरिरहेको छ । एउटा बोलीचाली र व्यवहारमा असभ्य केटी कसरी रुपान्तरित भएर एउटी सभ्य र सुसंस्कृत महिला पनि बन्न सक्छे भन्ने विषयवस्तुमा आधारित यो नाटकका प्रत्येक दृश्य कौतुहलता र रोचकताले भरिएका छन् । यसमा मुख्य पात्र एलिजा डुलिटललाई त्यस रुपमा रुपान्तरण गर्न प्रोफेसर हिगिन्स र पिकरिङले यस्तो खतरा उठाउँछन्, जसमा उनीहरु अन्तिममा सफल पनि हुन्छन्, यद्यपि नाटकभरि नै तनाव र द्वन्द्वका परिदृश्यहरुले खतरा मोल्नु भन्ने त्यति सजिलो पक्कै हुँदैन भन्ने पनि देखाइरहेको हुन्छ । नाटकका पात्रहरुमा आएको चरित्रगत उतारचढाव, भाषिक प्रस्तुति, विषयवस्तुमा रहेको नवीनताका साथै त्यसको सूक्ष्म चित्रणले यस नाटकलाई अङ्ग्रेजी साहित्यको एउटा कोशेढुंगा बनाएको छ भन्दा अन्यथा हुँदैन ।
२३. मैला आँचल
हिन्दी भाषाको सशक्त आँचलिक उपन्यासका रुपमा मैले ‘मैला आँचल’लाई लिएको छु । ग्रामीण जनजीवन, संस्कृति, बोलीचाली र त्यहाँको विद्यमान रहनसहनलाई सटीक र कलात्मक भाषाको प्रयोगद्वारा जीवन्त चित्रण गरिएको यो उपन्यासले मेरो मन–मस्तिष्कमा गहिरो छाप छोड्न पुगेको छ । उपन्यासमा रहेका पात्रहरुको जीवन्त चित्रणका लागिमात्र नभएर स्थानीय रुपमा रहेको दुःख, पीडा, सङ्घर्षलाई समेत यति सूक्ष्म र सशक्त ढंगले रेणुले प्रस्तुत गरेका छन् कि पाठकले आफूलाई त्यही ठाउँ र त्यही परिवेशमै प्राप्त गरिहेको हुन्छ ।
२४. गोदान
होरी र धनिया मुख्य पात्र रहेको प्रेमचन्दको ‘गोदान’ उपन्यास पनि आँचलिक परिवेशमै केन्द्रित छ । भारतीय तत्कालीन परिवेशको चित्रण गरिएको यस उपन्यासमा गान्धीवादी, माक्र्सवादी र प्रगतिवादी धारलाई सजीव ढंगले उजागर गरिएको छ, जसले मनमा गहिरो छापसमेत छोड्न पुग्छ । भाषामा रहेको सरलता, लालित्य र कोमलता तथा प्रस्तुतिमा रहेको इमानदारीपनले मेरो लागि यो उपन्यासलाई सदैव प्रिय बनाएको छ । भावनाका तह–तहमा पु¥याएर संवेदनाका पत्रहरु उप्क्याउन सफल गोदान हिन्दी भाषाका अत्यन्तै अब्बल उपन्यासभित्र पर्ने कुरामा कुनै शंका छैन ।
२५. मधुशाला
हरिवंशराय बच्चनको अनुपम कृति ‘मधुशाला’ जति पढे पनि पढिराखौँ जस्तो लाग्छ । यद्यपि, म सानैदेखि मदिराजन्य पदार्थबाट कोसौँ टाढा रहँदै आएको छु । मदिराहरुको स्वाद कस्तो हुन्छ भन्ने अहिलेसम्म पनि मलाई थाहा छैन, तर मधुशाला पढेपछि मलाई किन हो, त्यत्तिकै पनि नशा लाग्न थाल्छ । यस कृतिमा मधुशालालाई लिएर जीवनका समस्या, अवस्था र भोगाइहरुलाई जुन ढंगले कलात्मक स्वरुपमा अवतरण गराएर सन्देशसमेत दिन खोजिएको छ, त्यो अतुलनीयमात्र नभएर त्यसको समृद्धतालाई समेत जति व्याख्या र विश्लेषण गरे पनि कमै हुन्छ भन्ने मेरो ठहर छ ।

 

Comments

About the author

चितवन पोष्ट