गृह » खोइ ती कविहरु ?
साहित्य

खोइ ती कविहरु ?

 

– केशवमोहन अधिकारी
keshabmohanadhikari@yahoo.com

ती कविहरु
खोइ कता पो गए कुन्नि !

कविताका ‘सौन्दर्य चेत’को कलम
विचारको मसीमा
चोपलिँदै उम्रन्थे कविता

शब्दहरुको ओजनले
जब भावलाई जुरूक्क उचाल्थ्यो
कलाको कसिलो अँगालोमा
सुवास छर्दै उम्रन्थे कविता

जब ओइरिन्थ्यो आगोको मुस्लो झैँ
शब्दहरुको प्रहार
कँपाउँदै चट्टाने तानाशाहहरुलाई
क्षेप्यास्त्र बनी उम्रन्थे कविता

जब खेल्थे परिघटना र चुली कल्पना
कविका उच्च चेतनासँग
बढार्दै फोहोर आदर्श र नैतिकतालाई
ज्ञान बनी उम्रन्थे कविता

जब म आजकल
हेडलाइन्स देख्छु
बिचौलिया र प्रवक्ताहरुको
सोध्न मन लाग्छ–

खोइ ती कविहरु ?
कस्ता भए कविहरु ?

Comments

About the author

चितवन पोष्ट