गृह » नवलपुरका दुई नेतालाई कारबाहीको सिफारिस
राजनीति

नवलपुरका दुई नेतालाई कारबाहीको सिफारिस

कावासोती । नेकपा माओवादी केन्द्र नवलपुरले जिल्ला पार्टी सहइन्चार्ज धनप्रसाद सापकोटा र महाधिवेशन आयोजक समिति सदस्य चेतनाथ पोख्रेललाई कारबाही गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको छ ।
उनीहरुले पार्टी अनुशासन भन्दा बाहिर रहेर काम गरेको भन्दै कारबाही गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको हो । उनीहरुले निर्वाचनका बेला टिकट नपाएर आफ्नो पार्टीको उम्मेवारलाई हराउन लागि परेको कारण कारबाहीको माग गरेको स्रोतले जनाएको छ । सिफारिस पत्रमा पार्टी अनुशासन विपरीत कार्य गरेकोले सिफारिस गरिएको भनी उल्लेख गरिएको छ ।
केही दिनअघि प्रदेश इन्चार्ज देव गुरुङको समेत उपस्थितिमा बसेको जिल्ला पार्टीको बैठकले कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरे अनुसार सिफारिस गरिएको नेकपा माओवादी केन्द्र नवलपुर इन्चार्ज किसान शर्मा गैरेले बताए । कारबाहीको लागि केन्द्रमा सिफारिस गरेपछि नेकपा माओवादी केन्द्र नवलपुर दुई खेमामा बाँडिएको छ । जिल्लाको बैठकले नगरकमिटी र गाउँ कमिटीको बैठकको मिति तय गरेर बैठक डाकेको भए पनि त्यसलाई काउन्टर दिँदै धनप्रसाद सापकोटा, चेतनाथ पोख्रेल र मित्र शरण शर्मा बिहानीले आफ्नो पक्षमा कार्यकर्ता जुटाउन बैठक गर्दै हिडेको गैरे पक्षधरहरुले जनाएका छन् ।
गैरेले आफैले हस्ताक्षर गरेर केन्द्रमा पठाएको पत्रमा इन्चार्ज किसान शर्मा गैरे उम्मेवार भएपछि कार्यवाहक इन्चार्ज भएका धनप्रसाद सापकोटा र चेतनाथ पोखे्रलले निर्वाचनमा सक्रिए भएर नलागेको, आफ्ना उम्मेद्वारलाई हराउन कांग्रेससँग साँठगाँठ गरेको, निर्वाचन सकिएपछि हालसम्म पार्टी सम्पर्कमा नआएको जस्ता कारण उल्लेख गर्दै कारबाहीको लागि सिफारिस गरिएको छ ।
एमालेबाट पनि धोका भयो
सिफारिस पत्रमा नेकपा एमालेका नेता तथा कार्यकर्ताबाट पनि निर्वाचनमा धोका भएको उल्लेख गरिएको छ ।
सिफारिस पत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नवलपुरमा नेकपा माओवादी केन्द्र पराजित हुनुमा एमाले पार्टीका नेता कार्यकर्ताहरुबाट भएको सामान्य धोका र अन्तरघातलाई सामान्य मानिए पनि हाम्रै पार्टीको नेतृत्वमा रहेका कम्रेडहरु जिम्मेवार नहुनु प्रमुख कारक रहेको उल्लेख गरिएको छ । नवलपुरमा प्रतिनिधिसभा सदस्यका २ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको ४ वटा निर्वाचन क्षेत्र रहेकोमा नेकपा एमाले र माओवादी केन्द्रले आधाआधी वितरण गरेको थियो । जहाँ नेकपा एमालेका सम्पूर्ण उम्मेदवार विजयी भएका थिए भने माओवादी केन्द्रका सम्पूर्ण उम्मेदवार पराजित भएका थिए ।

Comments

About the author

चितवन पोष्ट