गृह » भरतपुरमा सूचना प्रविधि मेला हुने
प्रविधि समाचार

भरतपुरमा सूचना प्रविधि मेला हुने

भरतपुर । कम्प्युटर एशोसिएसन नेपाल महासंघ चितवन शाखा (क्यान)ले सूचना प्रविधिसम्बन्धी मेला आयोजना गर्न लागेको छ ।
भरतपुर बन्दै गरेको एक्स्पो सेन्टरमा हुन लागेको ‘तेस्रो डिजिकम क्यान इन्फो–टेक २०७४’ सूचना प्रविधिसम्बन्धी ज्ञान लिन चाहने व्यक्तिको लागि मेला बढी फलदायी हुनेछ । यही माघ २५ देखि २९ गतेसम्म आयोजना गरिने मेलाको तयारी तीव्र पारिएको क्यान चितवनले जनाएको छ ।
मेलामा ८० वटा स्टल रहनेछन् । कम्प्युटर, ल्यापटप, मोबाइललगायत सबैखालका सूचना र प्रविधिसँग सम्बन्धित स्टलहरू रहने मेला संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष भानु शर्माले जानकारी दिए । ‘मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवेयर, सुरक्षासम्बन्धी सामग्री, मोबाइल, टिभी, उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताहरूका स्टलहरू रहनेछन्,’ संयोजक शर्माले भने, ‘आईटी सम्बन्धी जनचेतनामूलक सेमिनार, गोष्ठी, रोबोटिक प्रदर्शनी तथा अन्तरविद्यालय र अन्तर कलेजस्तरीय क्विज कम्पिटिसन पनि हुनेछ ।’ मेलाबाटै आवश्यक सूचना प्रविधिसम्बन्धी सामान खरिद गर्न पाइने व्यवस्थासमेत मिलाइएको उनले बताए ।
‘चितवनको समृद्धि, सूचना प्रविधि’ भन्ने मूल नारासहित मेला आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय सूचनाबिना हरेक कार्य अधुरो हुने भएकोले समयअनुसारको सूचना र प्रविधिको आवश्यक पर्ने भएकोले आवश्यक जानकारी र परामर्श लेनदेन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको उनले बताए । मेला सम्पन्न गर्नको लागि करिब ७१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । मेलामा करिब दुई लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको संस्थाका सचिव सन्तोषजनक भुसालले जानकारी दिए । मेला अवलोकन गर्नको लागि ५० रूपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुनै पनि सामुदायिक विद्यालयले विद्यालयको सिफारिसमा सामूहिकरूपमा आएमा निःशुल्क प्रवेश दिइने सचिव भुसालले बताए । यसअघि २०६५ र २०६७ सालमा मेला आयोजना गरिएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट