गृह » नेपाली सिमाना मिचिएकोमा प्रजिअलाई ज्ञापनपत्र
राजनीति

नेपाली सिमाना मिचिएकोमा प्रजिअलाई ज्ञापनपत्र

भरतपुर । मोहन वैद्य निकट विद्यार्थी संगठनले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक अमित सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वीरगञ्जको छप्कैया भारतीय पक्षले कब्जा गरेको जमिनलगायत देशैभरी अतिक्रमण भएको जमिन, राष्ट्रियता, जनजीवनसँगै विद्यार्थीको हक अधिकारमा संवेदशील र संघर्षरत रहेको जानकारी गराउँदै ६ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझएका हुन् ।
अखिल क्रान्तिकारीले जग्गा अतिक्रमण बाहेक अन्य पाँच वटा बुँदामा शिक्षासम्बन्धी माग पेस गरेको छ । क्षमता भन्दा बढी विद्यार्थी ओसार्ने बोर्डिङ स्कुललाई कारबाही हुनुपर्ने, जिल्ला शिक्षा कार्यालयअन्तर्गत शाखाहरु स्थानीय निकायमा गाभिएपछि परीक्षा, नियमनलगायत पैदा भएका प्रशासनिक जटिलतालाई अबिलम्व हल गनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।
विद्यार्थी भाडा दरमा छुट व्यवस्था ठीक ढंगले लागू नभएको भन्दै नगर भित्रमा साना–ठूला सबै सवारी साधनमा हप्ताको सातै दिन छुट व्यवस्था कडाइका साथ लागू गनुपर्ने लगायतका माग छन् ।
ज्ञापनपत्र बुझाउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला संयोजक अमित सापकोटा, पूर्वचितवन जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य अमृत चापागाईं, केन्द्रीय सदस्य दिपक पोख्रेल र सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई अध्यक्ष कृष्ण सुनारको उपस्थिति थियो ।

 

Comments

About the author

चितवन पोष्ट