गृह » सुकुमबासीले स्थानीय तहसँग सहकार्य गर्ने
राजनीति समाचार

सुकुमबासीले स्थानीय तहसँग सहकार्य गर्ने

रत्ननगर । लालपुर्जा र अव्यवस्थित बसोबासको समस्या झैल्दै आएका रत्ननगरका सुकुमबासी समुदायले समस्या सामाधानको लागि स्थानीय निकायसँग सहकार्य गर्ने भएका छन् ।
स्थानीय तहको निर्वाचनपछि प्राप्त अधिकार आत्मसाथ गर्दै लालपुर्जा प्राप्ती र व्यवस्थित बसोबासका लागि रत्ननगर नगर कार्यपालिकालाई आवश्यक सहयोग र सचेतसमेत गराउने भएका हुन् । सुकुमबासीको अधिकारका लागि काम गर्दै आएको नेपाल सुकुमबासी सुधार समिति, आकृती महिला बचत तथा ऋण सहकारी संस्था र लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरको मंगलबार सम्पन्न संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । लालपुर्जा वितरणको लागि नगरपालिकालाई आग्रह गर्ने, वास्तविक सुकुमबासीको विवरण संकलन गरी नगरपालिकालाई बुझाउने, सार्वजनिक जग्गा संरक्षणको लागि स्थानीयस्तरमा नगरपालिकालाई सहयोग गर्ने, आफ्ना समस्या जनप्रतिनिधिलाई अवगत गराउन विभिन्न कार्यक्रम गर्ने, समस्या सामधानका लागि एकजुट हुने, समुदायमा जग्गा बेचबिखनमा रोक लगाउने निर्णय भएको नेपाल सुकुमबासी सुधार समिति रत्ननगरका अध्यक्ष फूलमान तामाङले जानकारी दिए ।
‘सुकुमबासीको नाममा हुकुमबासीले फाइदा लिइरहेको हामीले बुझेका छौं’ उनले भने, ‘हुकुमबासीका कारणले गर्दा वास्तविक सुकुमबासीले समस्या झेल्न नपरोस् भनेर लालपुर्जा वितरण र बस्ती व्यवस्थापनको लागि नगरपालिकालाई सहयोग गर्ने निर्णय गरेका हौं । रत्ननगर नगर कार्यपालिका सदस्य तथा प्रवक्ता सरस्वती लामाले सुकुमबासी समस्या सामाधानका लागि नगरपालिकाले कार्ययोजना बनाएर काम गरिरहेको बताइन् । उनले नगरपालिका र लुमन्तीको सहकार्यमा कोष निर्माण गरी आवास निर्माणको काम सुरू भइसकेको बताइन् । बैठकमा आकृति सहकारीकी अध्यक्ष फूलकुमारी लामा, लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह लामा, नेपाल सुकुमबासी सुधार समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो .

Comments

About the author

चितवन पोष्ट