गृह » चितवनलाई आर्थिक राजधानी बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता जरुरी
प्रमुख समाचार

चितवनलाई आर्थिक राजधानी बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता जरुरी

नारायणगढ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले चितवनलाई आर्थिक राजधानी बनाउनको लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
उद्योग वाणिज्य संघ चितवनको ५१ औँ साधारण सभाको उद्घाटन समारोहमा बोल्दै नेता पोखरेलले सरकारको हरेक योजनामा निजी क्षेत्रको भूमिका मह¤वपूर्ण हुने भएकोले विकासको क्षेत्रमा निजी क्षेत्रको अनिवार्य आवश्यकता रहने बताएका हुन् । ‘हिजो हामीले देशकै राजधानी बनाउने भन्र्यौँ, तर सकेनौँ,’ कारण देखाउँदै उनले भने, ‘त्यतिबेला तराईका जिल्लाहरूमा आगो बलिरहेको थियो । त्यस्तो बेलामा चितवनलाई राजधानी बनाउँदा राजधानीमा पनि आगो बल्न सक्थ्यो । त्यसैले हामी नचाहेर पनि चितवनलाई राजधानी बनाउने विषयमा खुम्चिनु प¥यो ।’ त्यसपछि प्रदेशको राजधानी बनाउने भन्ने विषयमा भूगोलले नदिएको उनले बताए । ‘तर, अब हामीले यहीँबाट आर्थिक क्रान्ति सुरू गर्ने बेला भएको छ,’ नेकपा एमाले चितवनका अध्यक्षसमेत रहेका नेता पोखरेलले थपे, ‘यसको लागि जनताले वाम सरकारको आवश्यकता महसुस गरेर हामीलाई संसदमा पठाएको छ ।’
चितवन जिल्ला सबै क्षेत्रको लागि सम्भावित जिल्ला भएकोले अब नेपालको आर्थिक क्रान्ति पनि चितवनबाटै थाल्नुपर्ने बेला आएको उनले बताए । आर्थिक क्रान्ति सफल पार्नको लागि निजी क्षेत्रबाट उद्योग वाणिज्य संघले नेतृत्व लिनुपर्ने उनले बताए । अबको पाँच वर्षभित्र जनताको अगाडि बोलेका कुनै पनि काम पूरा गर्न सकेन भने जनताले माफी नदिने हुँदा जसरी भए पनि बोलेका सबै काम पूरा गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ । ‘यसको लागि पक्ष–विपक्ष, साना–ठूला सबै दललाई समावेश गरेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने ।
प्रदेशसभा सदस्य घनश्याम दहालले पनि नेपालको राजनीतिक आन्दोलन सकिएकोले अब आर्थिक विकासको आन्दोलन गर्ने बेला आएको बताए । आर्थिक विकासको लागि सरकारी निकायभन्दा पनि निजी क्षेत्रको भूमिका मह¤वपूर्ण हुने उनको भनाइ छ । नेपालको आर्थिक विकासको लागि प्रतिपक्षमै रहेर पनि आवश्यक सहयोग गर्ने नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले प्रतिबद्धता जनाए । ‘राम्रो कामको लागि हामी यो पार्टी र त्यो पार्टी भन्दैनौँ,’ उनले भने, ‘जसले राम्रो काम गर्छ उसलाई हामी खुलेर सहयोग गर्छौँ । अब बाम गठबन्धनको सरकार बन्दै गर्दा उहाँहरूको राम्रो कामको लागि हामी सधैँ सकारात्मक छाँै ।’
उद्योग वाणिज्य महासंघका केन्द्रीय एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले चितवनलाई आर्थिक राजधानीको रूपमा विकास गर्नको लागि गहन अध्ययन गर्नुपर्ने बताए । ‘सम्भव भइकन पनि अध्ययन आवश्यक छ,’ उनले भने, ‘गहन अध्ययनमार्फत अगाडि बढेमा जुनसुकै कामले पनि पूर्णता पाउन सक्छ ।’ यसको लागि उद्योग वाणिज्य संघले सबै खालका व्यवसायीलाई स्वच्छ प्रतिस्पर्धामा ल्याउन सक्नुपर्ने उनले बताए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले देशमै उद्योग र उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र वैदेशिक उत्पादनको उपभोगलाई न्यूनीकरण गर्नुपर्ने बताए । निर्वाचन प्रजातान्त्रिक विधिको उत्तम प्रक्रिया रहेको उल्लेख गर्दै उनले जसबाट प्रतिनिधि चयन गरिने भएता पनि प्रक्रिया सकिए पनि मनमुनाटबको स्थिति नबिग्रियोस् भन्ने चाहाना रहेको बताए । अध्यक्ष गौतमले २ वर्षे कार्यकालमा आफूले धेरै राम्रा कामहरु गर्न सकेको दाबी गरे । महोत्सवलाई राजस्वको दायरामा ल्याएको जसबाट १९ लाख बराबरको राजस्व संकलन भएको लगायत विभिन्न कार्यहरु गरेकोले दुई बर्षे कार्यकाल सफल रहेको बताए ।
आज चुनाव
नयाँ नेतृत्वको लागि उद्योग वाणिज्य संघ चितवनमा आज आइतबार चुनाव हुँदैछ ।
चुनावी प्रतिस्पर्धामा वर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र निवर्तमान वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान प्यानल नै बनाएर अघि बढेका छन् ।
पत्रकार जोशीलाई नगदसहित सम्मान
उद्योग वाणिज्य संघ चितवनले यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार पत्रकार ईश्वरकुमार जोशीलाई प्रदान गरेको छ ।
शनिबार संघको ५१औँ साधारण सभाको अवसरमा पत्रकार जोशीलाई नगद ५१ हजार रूपौयाँसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । जोशीले प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलको हातबाट पुरस्कार ग्रहण गरेका हुन् । पत्रकार जोशी चितवनमै रहेर विसं २०५० सालदेखि हालसम्म नेपाल टेलिभिजनमा चितवन संवाददाताको रूपमा कार्यरत छन् भने २०५५ सालदेखि बीबीसी नेपाली सेवाको लागि पनि चितवन संवाददाताको रूपमा कार्यरत छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका सल्लाहकारसमेत रहेका पत्रकार जोशी यसअघि २०७१ सालमा प्रकृतिको साथी नामक संस्थामार्फत गोरखाको बारपाकमा नगद २५ हजार रूपैयाँ पुरस्कारसहित सम्मानित भएका थिए ।

Comments

About the author

चितवन पोष्ट