गृह » प्रधानसेनापतिद्वारा महोत्सवको अवलोकन
समाचार समाज

प्रधानसेनापतिद्वारा महोत्सवको अवलोकन

होमनाथ सापकोटा
रत्ननगर । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सवको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शनिबार स्थलगत अवलोकन गरेका छन् ।
चितवनको दोस्रो ठूलो रत्ननगर महोत्सव अवलोकनका लागि सेना प्रमुख क्षेत्री काठमाडौंबाट हेलिकप्टरमा रत्ननगर आएका थिए । सेनापति क्षेत्रीलाई रत्ननगर नगर कार्यपालिकाका मेयर नारायण वन, महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मी, निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले महोत्सवको अवलोकन गराएका थिए । सेनापति क्षेत्रीले महोत्सवस्थलमा निर्माण गरिएको एतिहासिक धरहराको प्रतिमूर्ती, कृषिपरिसरलगायत विभिन्न उत्पादनमूलक सामग्री राखिएको स्टलहरुको अवलोकन गरेका थिए । सेनापति क्षेत्रीले धरहरामा चढेर नजिकैको सुन्दर दृश्यहरुको अवलोकनसमेत गरेका थिए ।
महोत्सवमा सेनापति क्षेत्रीले केही समय महोत्सवको स्टेजमा बसेर सांस्कृतिक कार्यक्रमसमेत हेरेका थिए । रत्ननगरका मेयर नारायण वनले महोत्सवको सुरक्षा अवस्था र यसको उद्देश्यका बारेमा प्रधानसेनापति क्षेत्रीलाई जानकारी गराएका थिए । अनुगमनका क्रममा महोत्सवका संयोजक राजाराम रेग्मीले रत्ननगर महोत्सवको उद्देश्यका बारेमा सेनापतिलाई जानकारी गराउँदै रत्ननगर महोत्सवले समग्र जिल्लाको आर्थिक तथा व्यवसायिक विकासमा विशिष्ट योगदान गर्दैै आएको बताएका थिए ।
रत्ननगर महोत्सवको अवसर पारेर कृषि उत्पादन बढाउने उद्देश्यका साथ महोत्सव परिसरमै माटो परीक्षण शिविर गरिएको छ । कृषि उत्पादन बढाउन र माटोमा भएको अम्लिय पनको परीक्षण गरी त्यसलाई सुधार गर्न खेतियोग्य जमिनको माटो परीक्षण गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।
तेस्रो दिन शनिबार परेकाले अवलोकनकर्ताहरुको महोत्सवमा भीड लागेका थियो । महोत्सवको सांकृतिक कार्यक्रमअन्तर्गत शनिबार चर्चित गायक हेमन्त शर्मा, मिलन लामा, नेत्रजी पन्त, नीशा बम्जन र रत्ननगर कला मन्दिरका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । महोत्सवको चौथो दिन आइतबार भूवन प्यासी, शशी रावल, बेली डान्स, पूजा गुरुङलगायतका प्रस्तुति रहने कला तथा सांस्कृति समितिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पुस २७ गतेदेखि सुरू भएको महोत्सवमा तेस्रो दिन शनिबार दर्शकको सहभागिता उत्साहजनक रहेको थियो । शनिबार १० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए । महोत्सव माघ ७ गते सम्म चल्नेछ ।

Comments

About the author

चितवन पोष्ट