गृह » चरा गन्दा प्रशस्तै देखिए घडियाल र मगर गोही
समाचार समाज

चरा गन्दा प्रशस्तै देखिए घडियाल र मगर गोही

सौराहा । चितवन निकुञ्जको पूर्वी क्षेत्रमा शनिबारबाट पानी चरा गणना सुरू भएको छ ।
बर्ड एजुकेशन सोसाइटीको तत्वधानमा चरा गन्ने काम सुरू भएको हो । निकुञ्ज भएर बग्ने राप्तीलगायतका आसपासका खोलामा चरा गणना भएको छ । टोलीले राप्ती खोलामा कुमरोजदेखि सौराहासम्म चरा गनेको छ । आज आइतबार सौराहादेखि कसरासम्म गणना हुनेछ ।
निकुञ्ज भएर बग्ने साना ठूला खोला, ताल र सिमसार क्षेत्रमा चरा गनेपछि अन्तिम नतिजा प्रकाशन हुने गणनामा सक्रिय सोसाइटीका पूर्वअध्यक्ष बासु बिडारीले बताए । साइबेरियालगायत जाडो ठाउँबाट नेपालका नदी, ताल तलैया र सीमसार क्षेत्रमा हिँउद याममा पानी चराहरु आउने गर्छन् । बासस्थान राम्रो भएमा र खानो कुरा अर्थात् माछा, लेउ र कीरा भएमा चरा आउने हुन् ।
‘शनिबार कुमरोजको जिन्दगानी घाटदेखि सौराहासम्म गणना हुँदा ८७ प्रजातिका चराहरु भेटिएका छन्’ बिडारीले जानकारी दिए । यो संख्या अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्ष ९५ प्रजातिका चराहरु फेला परेको उनले बताए । नदी प्रदूषण भएमा वा नदीमा भएका माछा मान्छेले धेरै मारेमा आहारा कम भएपछि चराहरु पनि कम आउने पंक्षीविद्हरुको अनुभव छ ।
चरा गणनामा खटेकाहरुले आफूले देखेका अन्य जन्तु जनावर र त्यस क्षेत्रको अवस्थाका बारेमा पनि टिपोट गर्छन् । गणनाको क्रममा २५ वटा घडियाल र २२ वटा मगर गोही भेटिएको बासु बिडारीले जानकारी दिए । घडियाल गोही संकटमा परेको जलचर हो । नेपालका विभिन्न नदीहरुमा जम्मा १९८ वटा घडियाल छन् । चितवन निकुञ्ज क्षेत्रको नारायणी र राप्ती नदीमा १६६ वटा घडियाल छन् ।
सर्सरती अवलोकन गर्दा पनि राप्ती नदीको पूर्वी क्षेत्रमा त्यती धेरै घडियाल देखिनु सन्तोषजनक मानिएको संरक्षणकर्मीहरुले बताए । पानी चराको अवस्था पत्ता लगाउन सन् १९८७ देखि दक्षिण एसियामा पनि गणना सुरू भएको हो । प्रत्येक वर्ष जनवरी ६ देखि २१ भित्र गणना हुने गर्छ ।
‘यो पटक चितवनमा क्यारोल इनिस्कप भन्ने विश्वविख्यात चराविज्ञ आउने भएका कारण हामीले जनवरी ६ को साटो १३ मा चरा गणना सुरु गरेका हौं’ सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले भने । क्यारोलले नेपालमा पाइने चराहरुको विवरण समेटेर पुस्तकसमेत लेखेकी छन् । शनिबारको गणनामा क्यारोलसहित चितवन निकुञ्जको पूर्वीसेक्टर कार्यालय प्रमुख अभिनय पाठकसमेत सहभागी थिए ।

 

Comments

About the author

चितवन पोष्ट