गृह » नेपाली भाषामा देखिएका समस्या र निराकरण
साहित्य

नेपाली भाषामा देखिएका समस्या र निराकरण

– राजेन्द्र गिरी
rajendragiri191@gmail.com
विषय परिचय
नेपाली भाषामा मानकीकरण परम्पराको थालनी राममणि आ.दी. को हलन्त बहिष्कार भाषिक आन्दोलनदेखि भएको हो । चन्द्रिका व्याकरण, ह्रस्व–दीर्घसम्बन्धी सवाई, समसामयिक नेपाली व्याकरण, नेपाली बृहत् शब्दकोशलगायतका भाषा, व्याकरण र शब्दकोशका माध्यमबाट यसको मानकीकरण गर्ने काम भए पनि वर्णविन्यासका निर्धारणका दृष्टिले वर्तमान समयमा नेपाली भाषामा केही विवाद उठ्ने गरेको छ ।
नेपाली भाषा कुनै जातजातिविशेषको भाषा नभएर सबै नेपालीको साझा भएकाले पनि यसको प्रयोग क्षेत्र विशाल छ । यो राष्ट्रियदेखि अन्तर्राष्ट्रिय भूभागमा सबैको माझमा फैलिएको छ । भारतको सिलोङ, बनारस, सिक्किमलगायतका विश्वविद्यालय र अनेक कलेजमा नेपाली भाषाको पठनपाठन हुने गरेको छ । भाषा जीवनमा एकपटक सिकिने कुरा हो, सधैँ सिकिरहने कुरो होइन । भाषाको वर्णविन्यासगत, पठनपाठन पनि तहगत आधारमा फरक हुँदैन । सुरूमा सिकेको क्रमशः बिस्तार सार्दै लगिन्छ । भाषा परिवर्तनशील वस्तु भएकाले यससम्बन्धी नियमहरु पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुसार समय–समयमा परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो, तर परिवर्तनका नाममा स्थापित मूल्य र मान्यतालाई पूरै भत्काउने काम हुनु उपयुक्त हुँदैन । यसले नेपाली भाषाको विकास गर्न सक्दैन ।
समस्याको पहिचान ः
नेपाली भाषाको विवाद ल्याउने काम घोषणापत्र, परिपत्र र केही आधिकारिक व्यक्तिबाट तयार पारिएका पुस्तकबाट भएको हो । नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र (२०६६) अनिवार्य नेपाली विषय समितिका नाममा तयार पारिएको अनिवार्य शिक्षण निर्देशिका (२०६६), सबैको नेपाली (२०६७), नेपाली भाषा सङ्गोष्ठी (२०६७), ललितपुर घोषणापत्र (२०६८), नेकशुले (२०६९), नेपाली बृहत् शब्दकोश (२०७२) को भाषा विवादमा उल्लेख्य भूमिका खेलेका छन् ।
– नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र (२०६६) नाम दिइ १८ बुँदे घोषणापत्रमा संयुक्त वर्णको खुट्टा काटेर बिगार्न, ह्रस्व र दीर्घसम्बन्धी प्रचलित नियम वा शिष्ट प्रयोगलाई उल्टाएर श्रुतिसमभिन्नार्थक शब्द ‘पूmल’ लाई ‘फुल’ बनाउने, नामयोगीलाई पदवियोग गर्नेजस्ता गतिविधि गरिएका छन् ।
– त्रिभुवन विश्वविद्यालय, अनिवार्य नेपाली विषय समितिको नाममा तयार पारिएको भनिएको अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) मा यस पुस्तकमा शिष्ट प्रचलनविपरीत लिपि, चिह्न गणना गरी नामयोगी, समस्त शब्द, द्वित्व शब्द तथा संयुक्त क्रियालाई पदवियोग गरी सन्दर्भ प्रस्तुत गरेको देखिन्छ ।
– उच्च माध्यमिक शिक्षा परिषद्को नामबाट तयार पारिएको सबैको नेपाली (२०६७) नामक पुस्तकले नेपाली वर्णविन्यासमा अराजकता भित्र्याउने जस्तैः जथाभावी पदवियोग गर्ने, श्रुतिसमभिन्नार्थक ह्रस्व गर्ने, नाम र रचनालाई तहसनहस गर्ने कार्य पनि भएको देखिन्छ ।
– नेपाली भाषासङ्गोष्ठी (२०६७) ले संयुक्त वर्णको खुट्टो काटेर बिगार्ने, ह्रस्वदीर्घसम्बन्धी प्रचलित शिष्ट प्रक्रियामा रहेका ‘पूmल’जस्ता श्रुतिसमभिन्नार्थक शब्दलाई हटाएर ‘फुल’ बनाउने, नामयोगीलाई पदवियोग गर्नेजस्ता चन्द्रगढी घोषणापत्रकै अराजकता थप्ने कार्य भएको देखिन्छ ।
– ललितपुर घोषणापत्र (२०६८) ले श, ष, स मा केन्द्रित भएर भइसकेका सन्दर्भलाई पुरानैतिर फर्काउने वा आगन्तुक शब्दको वर्णविन्यास अस्वाभाविक किसिमले पछिल्तिर फर्काउने प्रयत्न गरेको पाइन्छ ।
– नेकशुले (२०६९) मा प्रस्तुत रुपमा लेखनमा पूरै पचिसकेको लडाइँ, बसाइँ, दाइँ शब्दलाई अपवाद भनी दीर्घ बनाइएको, जोडेर, छुट्याएर दुवै लेख्न सकिने भनिएको देखिन्छ ।
– नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोशको संशोधित नवौँ संस्करण भनी २०७२ सालमा प्रकाशित गरियो । यसमा चन्द्रगढी घोषणापत्रभन्दा पनि अराजकता थप्ने काम भएको देखिन्छ । शिष्ट प्रयोगमा प्रचलित भएका संयुक्त वर्णको जथाभावी खुट्टा काट्ने, ह्रस्व, दीर्घ र वर्णका कारण अर्थमा फरक आउने ‘पूmल’ जस्ता श्रुतिसमभिन्नार्थक शब्द प्रविष्टिबाट हटाउने र तिनलाई अनेकार्थी शब्दका रुपमा प्रविष्टि दिने । एकार्थ बोधक रुढ तथा समस्त शब्दलाई पदवियोग गर्ने, नामयोगी, द्वित्व, संयुक्त क्रिया र व्यक्ति नामको थरभन्दा अघि आउने सबै शब्द पदवियोग गर्ने, वर्ण, अक्षर वा लिपिचिह्न गणना गरी पदयोग र पदवियोग गर्नेजस्ता कार्य भएको देखिन्छ ।
भाषा प्रयोगसँग सम्बन्धित भएकाले भाषागत, प्रयोगगत सन्दर्भलाई बेवास्ता गरी भएका कार्यले भाषामा एकरुपता ल्याउन सक्दैन । वस्तुगत नियमभन्दा निजी स्वार्थबाट सञ्चालित भएका नियम धराशायी अवश्य हुनुपर्ने हुन्छ ।
नेपाली भाषामा ल्याइएका खास समस्यामा संयुक्त वर्णको प्रयोग, पदयोग, पदवियोग, ह्रस्व र दीर्घ प्रयोग, श, ष, सको प्रयोग, पञ्चम वर्ण, चन्द्रविन्दु र शिरविन्दुको प्रयोगले गर्दा नै हुने गरेको हो ।
व्यक्तिगत आग्रहविना प्राज्ञिकहरुले छलफल गरी समस्या समाधान निम्नानुसार गरिएको छ ः
– संयुक्त वर्ण यथावत् रहेको छ :
नेपाली भाषामा आधुनिक प्रविधि कम्प्युटरले प्रयोग गर्नुपर्छ, तर कम्प्युटरअनुसार भाषालाई नभएर भाषाअनुसार कम्प्युटरलाई ढाल्नुपर्छ । कम्प्युटरमा सहज उपलब्ध हुने द्व, द्य जस्ता संयुक्त वर्णलाई बिगारेर द्व, द्य गरी द्वन्द्व, विद्या लेखेर प्रविधिको प्रयोगका नाममा टुक्र्याउने कामले भाषामा एकरुपता ल्याउन सक्दैन ।
– पदयोग र पदवियोग परम्परा यथावतै रहेको छ ः
नाम, विभक्ति, उपसर्ग, प्रत्यय, समस्त शब्द, द्वित्व शब्द, अनुकरणात्मक शब्द, अकरण बुझाउने शब्दको ‘न’, सामान्य वर्तमान, भूत र भविष्यत तथा अज्ञात र अभ्यस्त भूत बुझाउने क्रिया, संयुक्त क्रिया, व्यक्ति नामका बीचको शब्द, नाम र नामयोगीकोे पछि आउने विभक्ति आदि जोडेर लेखिन्छ । वाक्यमा प्रयोग भएका सबै शब्द, क्रियायोगी, संयोजक विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी, निपात, वर्तमान, भूत र भविष्यत तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने क्रिया छुट्याएर लेखिन्छ भन्ने नियम हुँदाहुँदै पदवियोग गर्नुपर्ने दृष्टिकोण उपयुक्त नहुने देखिन्छ ।
– ह्रस्व, दीर्घका कारण अर्थ भेदक हुने श्रुतिसमभिन्नार्थक शब्दलाई पनि जस्ताको तस्तै राखिएको छ ः
अपवादको नाममा दिन–दीन, जुन–जून, पुरा–पूरा, फुल–पूmल जस्ता अर्थ वहन गरिसकेका श्रुतिसमभिन्नार्थक शब्दलाई चलाउन मिल्दैन । अपवाद भाषिक विशेषताले हुने हो । ह्रस्व र दीर्घलाई स्थापित मान्यताबाट पुरानैतिर ढल्काउन र ठीक विपरीत बनाएर उल्टाउने कार्यले एकरुपता ल्याउँदैन ।
संख्याबोधक तीस, बीस, चालीस जस्ता केही शब्दको सुरूको इकार, बाईस, बत्तीस, बयालीस जस्ता शब्दको बीचका इकार, खसी, जोगी, सम्धी जस्ता शब्दको अन्त्यको इकार, ठीक, बीच, ठूलो जस्ता शब्दका इकार र उकार ह्रस्व गर्दा फरक नभए पनि प्रचलनमा भइरहेका शब्दलाई कसरत गर्नु उपयुक्त नहुने देखिन्छ ।
– तत्सम तथा श, ष, सबाट निर्मित श्रुतिसमभिन्नार्थक शब्दलाई यथावत् राखिएको छ ः
नेपालीमा उच्चारणका आधारमा ‘स’ को निर्धारण गरिनुपर्छ भन्ने मान्यता रहे पनि त्यो कुरा उपयुक्त देखिँदैन । श, ष, सबाट निर्मित श्रुतिसमभिन्नार्थक शब्दलाई यथावत् राख्नुपर्छ । अङ्ग्रेजीमा श, सको उच्चारणगत भिन्नताले अर्थमा भिन्नता ल्याउँछ भन्दै शेक्सपियरलाई सेक्सपियर लेख्दा अर्थ भिन्न हुन्छ भन्न ठीक होइन ।
तत्सम शब्दमा क, ट, ढ, ड, ठ, ण, प वर्णका अघि ‘ष’ लेखिन्छ भन्दैमा सबै तद्भव र आगन्तुक शब्दमा त्यस्तै लेख्नुपर्छ भन्नु उपयुक्त होइन । अर्थ भेदक आगन्तुकमा शब्दमा ‘स’ लेख्नुपर्छ ।
– पञ्चम वर्ण तथा शिरविन्दु र चन्द्रविन्दुसम्बन्धी प्रयोगलाई यथावत राख्नुपर्ने देखिन्छ ः
वैकल्पिक प्रयोगका नाममा ङ, ञ, ण, न, मका सट्टा सबैतिर शिरविन्दु वा चन्द्रविन्दु लगाउनुपर्छ भन्नु उपयुक्त होइन । नेपाली भाषा धेरैजसो पञ्चम वर्णकै प्रयोगतर्फ उन्मुख भइसकेको पाइन्छ । अर्थभेदक नहुने कतिपय शब्दमा शिरविन्दु र पञ्चम वर्णको वैकल्पिक प्रयोगका साथै अपवाद छ । माथि चर्चा गरिएको देखि बाहेकका नेपाली वर्णविन्यासमा समस्या छैन । नेपाली भाषाको आफ्नै इतिहास, प्रयोगगत सन्दर्भ र नियम भए पनि नेपालीमा प्रचलित नियममध्ये कतिपय विवादरहित नै छन् भने कति विवादस्पद छन् । विवादमा रहेका नियम समयसँगै आफैँ परिवर्तन हुन्छन् भने कतिपय बौद्धिक, प्राज्ञिक छलफलबाट निष्कर्षमा पुग्न सकिन्छ । जुन हाम्रो नेपाली भाषामा लेखक, शिक्षक, प्राध्यापक, साहित्यकार, कलाकार, विद्यार्थी आदि सबै अटाएका छन् ।
उपसंहार :
नेपाली भाषामा देखापरेका समस्यालाई निराकण गर्नका लागि नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाली विषय समिति आदिबाट पहल हुनुपर्ने हो, तर यो कार्य भएको देखिँदैन । तर पनि त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग मानक नेपाली भाषा अभियान–२०७३ नामक समिति गठन गरी प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले नेपाली भाषाको मानक प्रयोगलाई विवाद नगर्नका लागि विज्ञप्ति जारी गरिएको पाइन्छ । भाषाले संस्कृतिलाई बोकेकोले बाह्य आर्थिक कारणको लोभले भाषामा विवाद गरे हाम्रो संस्कृति पनि विवादित हुने भएकाले विद्यालय तहका पाठ्यपुस्तकमा प्रयुक्त अमानक वर्णविन्यासको खारेजी भएको छ । विद्यालय तहमा प्रयुक्त नेपाली भाषाको अमानक मानिएको वर्णविन्यास खारेजीको निर्णय कार्यान्वयन भएकाले यसै शैक्षिक सत्रदेखि परिमार्जन हुने भएको छ ।

Comments

About the author

चितवन पोष्ट