गृह » जाडो
साहित्य

जाडो

— गणेश श्रमण

आहा कति जाडो
आच्छु कति चिसो ।

हिउँ परिरहेछ
शीत तुषारापातको कुरा छाडौँ
जताततै बरफ जमिरहेछ
लुगलुग कमाइरहेछ
उफ् कस्तो जाडो ।

यस्तो जाडोमा पनि
मलाई भने गर्मी भैरहेछ !

सूर्य पनि कति कडा
घाम पनि कति चर्का
भतभती पोलिरहेछ
आगोमा बसालेको कराइ तातेर
बीटबाट नौनी घिउका डल्ला
पग्लिएर पीँधमा झरेझैँ
आफ्नै शरीरबाट पसिना झरिरहेछ ।

हिउँका चट्याङहरु पग्लिएर
हिमनदी बगिरहेछन्
हिमनदी पग्लिएर
नदीहरु बढिरहेछन्
खोलाहरु उर्लिरहेछन्
मूलहरु फुटिरहेछन्
उफ् कस्तो गर्मी ।

यस्तो गर्मीमा पनि
मलाई भने जाडो भैरहेछ !

शीतलहर चलिरहेछ
पहाड पूरै सेताम्य छन्
हिउँमाथि हिउँ परिरहेछ
हिउँका पहाड अग्लिरहेछन्
हिउँकै साम्राज्य फैलिरहेछ
उफ् कस्तो जाडो ।

यसरी नै
बाह्रै महिना हामी भने
सताइएका छौँ
कहिले जाडो
कहिले गर्मी ।

जाडोमा काम्दै गर्दा
गर्मीले पग्लेको नदी सम्झिन्छु
गर्मीमा पसिना बगाउँदै गर्दा
चिसोले जमेको हिउँ सम्झिन्छु ।

कहाँ छ र जाडो
कहाँ छ र गर्मी !

खै यो मौसम
जाडो हो कि गर्मी
गर्मी हो कि जाडो !

Comments

About the author

चितवन पोष्ट