गृह » भाइरलले चपाउँदै छ जाजरकोटलाई
सम्पादकीय

भाइरलले चपाउँदै छ जाजरकोटलाई

पश्चिम नेपालको पहाडी जिल्ला जाजरकोटमा तीन साताअघिदेखि महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट हालसम्म १३ जनाले ज्यान गुमाइसकेका छन् भने १५०० भन्दा बढी बिरामी परेको अप्रिय खबर सार्वजनिक भएको छ । स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी, दूषित पानीको प्रयोग र सरसफाइमा पर्याप्त ध्यान नदिइएको कारण भाइरल ज्वरो यसरी व्यापक रुपमा फैलिएको स्वास्थ्यविज्ञहरु बताउँछन् । स्वास्थ्यकर्मी र औषधिको सहज उपलब्धता नभएको कारण यो रोगले दिन प्रतिदिन महामारीको रुप लिएको पाइएको छ । सरकारले पठाएको चिकित्सकसहितको टोली र औषधिले स्थानीय आवश्यकतालाई धान्न सकेको छैन । चिकित्सकका अनुसार बालबालिका र दीर्घरोगी बिरामीहरुमा भाइरल ज्वरोको संक्रमण बढी मात्रामा देखिएको छ ।
सरकारको ध्यान जाजरकोटको अत्यन्त कमजोर स्वास्थ्यस्थितिप्रति पुग्न नसकेको कारण रोगले महामारीको रुप लिएको हो । सरकार अहिले तराई मधेसको शीतलहरप्रति केन्द्रित छ । तर, अभागी भूगोल भएको जाजरकोटको पछिल्लो स्वास्थ्यस्थितिप्रति सरकारी उदासीनता आफैँमा आलोचनाको विषय बन्न पुगेको छ । पराजित मानसिकतामा रहेको सरकार अहिले प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमै बढी मात्रामा केन्द्रित रहेको पाइन्छ । सम्भवतः यसैकारण जाजरकोटको दयनीय स्थितिप्रति उसको ध्यान पर्याप्त मात्रामा पुग्न सकेको छैन । स्थिति जेजस्तो भएता पनि आफू कुर्सीमा रहुन्जेल सरकार पदीय दायित्व र जिम्मेवारीबाट कदापि पन्छिन पाउँदैन । जाजरकोटमा राज्यको सशक्त उपस्थिति अहिलेको आवश्यकता हो ।
मानिसको जीवनमा स्वास्थ्यको अत्यन्त ठूलो भूमिका रहने गर्दछ । तर, हामी अधिकांश नेपालीहरु आफ्नो स्वास्थ्यस्थितिप्रति संवेदनशील बनिरहेका छैनौँ । खान हुने र नहुने कुराहरुप्रति हाम्रो हेल्चेक्र्याइँ र उदासीनताकै कारण अकालमा ज्यान जाने गरेका अनेक उदाहरणहरु हामीमाझ रहेका छन् । स्मरणीय छ, अभागी जिल्ला जाजरकोटमा यसअघि २०६६ सालमा ६ महिनासम्म झाडापखाला रोग फैंलिँदा ३५० जनाको ज्यान जानुका साथै ३० हजार जना बिरामी परेका थिए । त्यसपछि २०७२ सालमा पनि ३ दर्जन गाउँमा स्वाइन फ्लुको प्रकोप दुई महिनासम्म फैलिँदा १७ जनाको ज्यान जानुका साथै ५ हजार जना बिरामी परेका थिए । दूषित पानीको प्रकोप नै यो समस्याको मूल जड भएको स्वास्थ्यकर्मीहरुको अनुमान छ । प्रकृतिले ठगेको र राज्यको ध्यान पनि पर्याप्त मात्रामा पुग्न नसकेको कारण जाजरकोटमा पटकपटक रोगहरु फैलिएर ठूलो संख्यामा मानवीय क्षति भइरहेको हो । यो स्थितिलाई नियन्त्रणमा लिन सरकारले विशेष प्रयास गर्नु अत्यावश्यक भइसकेको छ ।

Comments

About the author

चितवन पोष्ट