गृह » सरकार गठन गर्न ढिला गर्नु हुदैन : उपराष्ट्रपति 
प्रमुख समाचार

सरकार गठन गर्न ढिला गर्नु हुदैन : उपराष्ट्रपति 

होमनाथ सापकोटा
रत्ननगर । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकार गठनको लागि अब ढिला गर्न नहुने बताएका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि रत्ननगरको टिकौली चौरमा सुरू भएको नवौं रत्ननगर महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जनताले दिएको जनमतको कदर गर्दै नयाँ सरकार छिट्टै गठन हुनुपर्ने बताए । उनले संघीय संरचना अनुसार केन्द्रीय र प्रदेश सरकार गठनमा अब ढिला गर्न नहुने बताए । उनले केन्द्र र प्रदेशमा छिट्टै सरकार बन्नेमा आफू आशावादी रहेको बताए । ‘केन्द्र र प्रदेशमा अब छिट्टै सरकार बन्नेछ’ उनले भने, ‘त्यतातर्फ सरकार र दलहरुको ध्यान केन्द्रित होस् ।’
स्थानीय सरकार बनिसकेको भन्दै उनले अब केन्द्रीय र प्रदेशको सरकार गठन हुन जरूरी रहेको बताए । निर्वाचनको जनादेशले नयाँ सरकारको आवश्यकता महसुस गरेको भन्दै उनले जनमतको कदर गरेर नयाँ सरकार गठन प्रक्रिया सुरू गर्न दलहरुलाई आग्रह गरे । राजनीति संक्रमणकालको अन्त्य भइसकेको भन्दै उपराष्ट्रिपति पुनले मुलुकको समृद्धिको लागि नयाँ सरकार छिट्टै बन्नुपर्ने बताए । तीन वटा निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको युगमा प्रवेश गरेको उपराष्ट्रिपति पुनको भनाइ छ ।
‘अबको युग आर्थिक समृद्धिको युग हो’ उनले भने, ‘सोही अनुुसार काम गरेर मुलुकलाई विकासको उचाइमा पु¥याउन आवश्यक छ ।’ नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको भन्दै उपराष्ट्रपति पुनले विदेश लगानी भित्र्याउन अब बन्ने सरकारको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए । उपराष्ट्रपति पुनले वैदेशिक लगानी भित्र्याउन भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गरे । ‘नेपाल लगानीको हिसाबले भर्जिन देश हो’ उनले भने, ‘लगानी भित्र्याउने काममा निजी क्षेत्रले भूमिका खेल्न जरुरी रहेको बताए ।’ उपराष्ट्रिपति पुनले जनविद्युत्, कृषि, पर्यटन, जडिबुटीको व्यवसायिकरणको लागि ठूलो लगानी हुन जरुरी रहेको बताए । उपराष्ट्रिपति पुनले प्रकृतिक सम्पदालाई विकासको आधार बनाउन सरकारलाई सुझाव दिए । ‘हामीसँग अथाह प्रकृतिक सम्पदा रहेका छन्’ उनले भने, ‘यसलाई आधार बनाएर विकास गर्न सकियो भने मुलुक छिट्टै समृद्ध बन्नेछ ।’ उपराष्ट्रिपति पुनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी फराकिलो हुनुपर्ने बताए ।
गरिबी न्यूनीकरणको लागि निजी क्षेत्रको भूमिका अहम् रहेको भन्दै उनले गरिबी न्यूनीकरण र आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रबीच बलियो सम्बन्ध हुनुपर्ने विचार राखे । उनले सरकार, निजीक्षेत्र र सहकारीको सहकार्यबाट मात्र आर्थिक विकास सम्भव रहेको उपराष्ट्रिपति पुनको भनाइ थियो ।
उपराष्ट्रिपति पुनले चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययन सुरू गर्न सरकारलाई आग्रहसमेत गरेका छन् । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासको हिसाबले चितवन धेरै अगाडि रहेको भन्दै उनले जिल्लालाई विशेष आर्थिक क्षेत्र बनाउनुपर्ने बताए । ‘चितवन सबै हिसाबले उत्कृष्ट जिल्ला हो’ उनले भने, ‘चितवनलाई आर्थिक राजधानी बनाउँदा उपयुक्त हुन्छ’ ।
कार्यक्रममा प्रदेशसभा सांसद कृष्णप्रसाद खनालले अब बन्ने सरकारले टिकौलीमा क्षेत्रीयस्तरको रंगशाला निर्माणको प्रक्रिया सुरू गर्ने बताए । उनले समग्र पूर्वी चितवनको विकासको लागि रंगशालासहित सौराहामा अन्तराष्ट्रिय मापदण्डको सभाहल, निकुञ्ज र बस्तीको सिमानामा पर्खाल र यस क्षेत्रमा विशेषज्ञसहितको अस्पताल निर्माणको काम गर्ने बताए ।
संघका अध्यक्ष राजाराम रेग्मीले यस पटक महोत्सवका कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताए । महोत्सवमार्फत सरकारले कृषि क्षेत्रको विकासका लागि गर्न खोजेका कामको प्रवद्र्धनका लागि यस पटकको महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग सहकार्य गरिएको बताए । माघ ७ गतेसम्म चल्ने सो महोत्सव ४५० वटा स्टल रहेका छन् । यस पटकको महोत्सवको मुख्य आकर्षणको रुपमा ७५ फिट अग्लो धरहरामा ३० फिटबाट दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । उद्घाटनको अवसर पारेर संघले प्रकाशन गरेको स्मारिका उपराष्टपति पुनको हातबाट विमोचनसमेत गरिएको छ । महोत्सव उद्घाटन हुनुपूर्व विद्युत् चोकबाट शोभायात्रा निकालिएको थियो ।

Comments

About the author

चितवन पोष्ट