गृह » शंकास्पद गतिविधि गर्ने नौ जना प्रहरी नियन्त्रणमा
समाचार समाज

शंकास्पद गतिविधि गर्ने नौ जना प्रहरी नियन्त्रणमा

केशव अधिकारी
धादिङ । अलगअलग बसबाट उत्रिएर एकै ठाउँमा जम्मा भई बस कुरिरहेको अवस्थामा धादिङको धुनिबेसी नगरपालिका–६ धार्केबाट ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँको नागढुङ्गा नाका हुँदै छुट्टाछुट्टै सवारी साधनमा धार्के आएका आठ महिला र एक पुरुषलाई बुधबार बेलुका नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रमुख जीवन निरौलाले जानकारी दिए । नागढुङ्गामा माइती नेपालको टोलीले चेकजाँच गर्ने भएकाले धार्केसम्म छुट्टाछुट्टै सवारी साधनमा आएर उत्रिएर अर्को बस चढेर भारततर्फ जाने तयारीमा रहेका ९ जनाको गतिविधि शंकास्पद देखिएकाले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक निरौलाका अनुसार पक्राउ पर्नेमा दाङ घोराहीका ३५ वर्षीय प्रसाद विश्वकर्मासहित ८ जना महिला रहेका छन् । पक्राउ पर्नेमा २२ देखी ३८ वर्ष सम्मका महिला रहेका छन् । ती महिलाहरु नुवाकोट, मकवानपुर, इलाम, तेह्रथुम, काभ्रे, संखुवासभा, सिन्धुली र रौतहट जिल्लाको रहेको पनि प्रहरीले जनाएको छ ।
खानीखोला प्रहरीले पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि माइती नेपाल नागढुङ्गामा पठाएको थियो । पाँच जना महिला पहिलोपटक विदेश जान लागेको भए पनि तीन जना महिला यसअघि पनि विदेश ओहोदोहोर गरिरहेको र पक्राउ परेका पुरुषलाई कुनै पनि महिलाले नचिनेको भने पनि सबैजना एकै ठाउँमा बसेर बस कुरिरहेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटना अनुसन्धानका लागि माइती नेपालको नागढुङ्गा चेक प्वाइन्टलाई बुझाएकोमा ती सबैलाई माइती नेपालको केन्द्रीय कार्यालय गौशालामा पठाइ प्रहरी र संस्थाको समन्वयमा अनुसन्धान भइरहेको माइती नेपाल नागढुङ्गाका सुपरभाइजर पदम बस्नेतले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट