गृह » न्यायालय एक : स्वभाव र स्वरुप अनेक
समाचार समाज

न्यायालय एक : स्वभाव र स्वरुप अनेक

सामाजिक अभियन्ता प्रा. डा. गोविन्द केसी प्रकरणले बितेको तीन दिनमा निकै चर्चा परिचर्चा र कौतुहल सिर्जना ग¥यो । प्रधानन्यायाधीशको नागरिकता र एसएलसी लगायतका शैक्षिक प्रमाणपत्रहरु नक्कली हुन् । त्यसैले निष्पक्ष छानबिन गर्न र उनले सम्पादन गरेका मुद्दाहरुको पनि पुनरावलोकन हुनुपर्छ भन्ने मागसहित १४औँ पटक आमरण अनशनमा बसेका डा. केसीको मागलाई सर्वोच्चकै इजलाशले प्रधानन्यायाधीशको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउन गत बुधबार आदेश गरेपछि डा. केसीको नैतिक जित हुने सम्भावना देखिएको छ ।
यसरी बहालवाला प्रधानन्यायाधीश विरुद्ध विष बमन गर्दै नैतिकताको गम्भीर प्रश्न उठाउने डा. केसी भने सकारात्मक ढंगले चर्चाको शिखरमा पुगेका छन् । चिकित्सा शिक्षामा माफियातन्त्र अन्त्य गर्नेदेखि लिएर देशमा सुशासनको माग गर्दै आफ्नो ज्यान हत्केलामा राखेर १४औँ पटकसम्म आमरण अनशनमा बस्ने डा. केसीलाई हाम्रो पनि साधुवाद छ । अब यो मुद्दाको अन्तिम फैसला हामी सबैको लागि चासो र प्रतीक्षाको विषय बनेर रहेको छ ।
यसरी यौटा मुद्दा सहज गन्तव्यसहित प्रक्रियामा अगाडि बढेको छ भने हाम्रो आफ्नै गृहनगर चितवन जिल्ला अदालतमा लामो समयदेखि प्रक्रियामा रहेको गोरखा फुजेलका कृण अधिकारीको हत्याकाण्ड सम्बन्धी मुद्दाले तीन वर्ष बित्दा पनि फैसला हुन सकेको छैन । यो मुद्दाको गत बुधबार २०औँ पटक पेसी सरेपछि न्यायका नौ सिङ हुनछन् भन्ने पुरानो उखान अहिले चरितार्थ भएको छ । विसं. २०६१ साल जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले विसं २०६१ साल जेठ २४ गते हत्याराको किटानी जाहेरीसहित निवेदन दिएका थिए ।
तर बिडम्वना नै मान्नुपर्छ कि हत्याराको पत्ता लाउन नैतिक दबाबस्वरुप शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको रुपमा परिचत आमरण अनशन बस्दाबस्दै मृत्यु भएको थियो । अर्को बिडम्वना के छ भने उनको लाशको अन्तिम संस्कार अहिलेसम्म भएको छैन ।
अन्तर्राष्ट्रिय कानुनको स्थापित मान्यता नै यो छ कि ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो । हामीलाई यस्तो लाग्छ कि यो घटनामा न्यायपालिका हदैसम्म चुकेको छ । कृष्णप्रसादकी आमा गंगामाया अझै पनि आफ्नो छोराको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौँको वीर अस्पतालमा आमरण अनशन अहिले पनि जारी छ । यस्तो संगिन र प्राथमिकतामा पर्नुपर्ने मुद्दामा २० औँ पटकसम्म पेसी चढ्नु भनेको पीडित पक्षलाई न्याय नदिनु सरह हो । डा. गोविन्द केसीले आमरण अनशन बस्दा सिंगो नेपाल नै हल्लियो भने झण्डै मृत्युको मुखमा पुग्न लागेकी गंगामायाले कहिले न्याय पाउलान् ? अथवा उनले न्याय नै नपाएर पतिले जस्तै मृत्युवरण गर्नुपर्ने हो कि ? यदि यस्तो हुन गएमा त्यसको कसले लिने भन्ने प्रश्नले आज जवाफको माग गरिरहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट