गृह » इतिहास पुरूषको स्मरण गर्दा
सम्पादकीय

इतिहास पुरूषको स्मरण गर्दा

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९६ औँ जन्मजयन्ती हिजो देशभरि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइयो । इतिहास पुरूष पृथ्वीनारायण शाहलाई नेपालको इतिहासले उच्च सम्मान गर्दै आएको छ । तर, विडम्बना नै मान्नुपर्छ कि नेपालमा गणतन्त्र आएपछि पृथ्वीनारायण शाहको जयन्ती मनाउन आवश्यक ठानिएन । त्यसैकारण, केही वर्ष पृथ्वीजयन्तीको क्रमभंग भयो र अहिले फेरि उनको जन्मजयन्ती मनाउन सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । यसरी पृथ्वीजयन्ती आज हामी सबैको साझा सरोकारको विषय बन्न पुगेको छ । टुक्रा–टुक्रामा विभाजित नेपाललाई एकीकरण गरेर पृथ्वीनाराण शाहले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनको यो सत्कार्यप्रति हामी सबै नतमस्तक हुनुपर्दछ । हिजोको सार्वजनिक बिदा धेरै हदसम्म अर्थपूर्ण र मह¤वपूर्ण मानिएको छ ।
इतिहासमा स्थान जमाउने अवसर कमैमात्र नागरिकलाई प्राप्त हुन्छ । तिनैमध्येका एक हुन्, पौरखी र दूरदृष्टि भएका पृथ्वीनारायण शाह । उनले टुक्रा–टुक्रामा विभाजित राज्यलाई मिलाएर एउटै देश नेपाल बनाउन गरेका अनेक प्रयासहरु आफैँमा स्तुत्य र प्रशंसनीय रहेका छन् । राष्ट्रनिर्माण गर्नु भनेको आफैँमा निकै जटिल र चुनौतीपूर्ण कार्य हो । त्यस्तै मह¤वपूर्ण र साहसी काम गरेर पृथ्वीनारायण शाहले नेपाली जनताप्रति ठूलो गुन लगाएका छन् । उनकै अतुलनीय योगदानको फलस्वरुप आज नेपालले अन्तर्राष्ट्रिय मञ्चमा यौटा स्वतन्त्र र स्वाधीन राष्ट्रका रुपमा परिचय स्थापित गर्न सफल भएको छ । यो हामी सबैका लागि गर्वको विषय हो ।
टुक्रिएर छुट्टाछुट्टै अस्तित्वमा रहेको भूगोल राष्ट्र नभएर बाइसे र चौबिसे राज्यका रुपमा स्थापित थिए । साहसी पुरूष पृथ्वीनारायण शाहका लागि त्यो दृश्य पचेन र सिंगो नेपाल यौटा बनाउने महाभियानमा उनी जुटेका हुन् । लड्दालड्दै उनी आफ्नो अभियानमा सफल भएकै कारण आज हाम्रो देश नेपाल र हामी नेपाली भनेर गौरवका साथ भन्न सक्ने अवस्थामा छौँ । फुटेर होइन जुटेरमात्र आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सकिन्छ भन्ने चेतनाले उनलाई हरदम घोचिरह्यो । शिक्षा दुर्लभजस्तै मानिने तत्कालीन अवस्थामा एकीकरणको अभियानलाई मूर्तरुप दिन उनी सक्षम भए । उनको दृढ इच्छाशक्तिका कारण नेपाल राष्ट्रले आज आफ्नो स्पष्ट पहिचान बनाउन सफल भएको कुरामा कुनै दुईमत छैन । यस्ता इतिहास पुरूष र नेपालीका भाग्यनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नु हामी सबै नेपालीको साझा कर्तव्य हो भन्ने हामी ठान्दछौँ ।

Comments

About the author

चितवन पोष्ट