गृह » पिनासको दोहोलो
विचार स्वास्थ्य

पिनासको दोहोलो

डा. हेमराज कोइराला
hemraj.koirala@gmail.com

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाकवरिपरिका पिनास ग्रन्थीहरु (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरु नाकको वरिपरिका हड्डीहरुमा पाइने हावा भरिएका खोक्रा संरचनाहरु हुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन् । यी साइनसहरुमा प्राकृतिक रुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास (साइनोसाइटिस) भनिन्छ ।
प्रकार :
पिनास तीव्र पिनास, मध्यम पिनास र जीर्ण पिनास र आवर्तक तीव्र पिनास गरी चार प्रकारका हुन्छन् ।
१. तीव्र पिनास :
पिनास ग्रन्थीहरु एकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आपैmँ ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ ।
२. मध्यम पिनास :
चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ ।
३. जीर्ण पिनास :
१२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ ।
४. आवर्तक तीव्र पिनास :
लामो एक वर्षमा चार वा धेरैपटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनेर भनिन्छ ।
कारणहरु :
१. एलर्जी
२. नाकमा मासु पलाउनु
३. नाकको हड्डी बाङ्गिनु
४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण
५. .माथिल्लो श्वासमार्गको सङ्क्रमण
६. भाइरसहरुको सङ्क्रमण : राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।
७. ब्याक्टेरिया : स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलो कोकस अरिएस ।
८. ढुसीको सङ्क्रमण : कमजोर प्रतिरक्षा प्रणाली, जस्तैः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।
९. रसायनहरुको गन्ध : तीक्ष्ण रसायनहरुको गन्धले पिनास ग्रन्थीको शोथ गराउँदछ ।
लक्षणहरु :
१) रूघा लाग्नु ।
२) टाउको भारी भएर दुख्नु ।
३) पिनासको ग्रन्थीको क्षेत्रमा दबाब दिँदा दुख्नु ।
४) स्वर परिवर्तित हुनु ।
५) नाकको वरिपरि वा आँखाको ठीक माथि पीडा हुनु ।
६) दाँत दुख्नु ।
७) गन्ध ग्रहण शक्ति कमजोर हुने ।
८) स्वाद ग्रहण शक्ति कमजोर हुने ।
९) ज्वरो आउने ।
१०) बेचैनी बढ्नु ।
११) नाक बुझिनु ।
१२) नाकबाट सिँगान बग्नु ।
१३) घाँटी खसखसाउनु ।
१४) थकान ।
१५) श्वास गन्हाउने ।
१७) हाच्छ्युँ आउने ।
१८) अनुहार सुन्निने ।
निदान विधि :
१) रोगको इतिहास :
पिनास हुँदा टाउको दुख्ने र रूघा लाग्ने लक्षणहरुबाट सुरू हुन्छ । अन्य प्रकारको रूघा लाग्दा सामान्यतया ७ दिनको पूरै समय लिएर ठीक हुन्छ, तर पिनास हुँदा रूघा एक–दुई दिनपछि नै रोकिन्छ र पिनासको रुप धारण गर्छ । पिनास हुँदा देखिने लक्षणहरु प्रायःजसो रूघाखोकी, फ्लू दम, श्वासप्रश्वास प्रणालीको जीर्ण रोगहरु, माइग्रेन, राइनाइटिस आदिमा पनि देखा पर्ने हुँदा पिनासलाई अन्य रोगहरुबाट ठीकसँग छुट्याउन आवश्यक छ । पिनास हुँदा विशेषतः अन्य लक्षणहरुका साथसाथै पिनास ग्रन्थीवरिपरि दबाउँदा असाध्यै पीडा हुन्छ ।
२) एक्स–रे :
एक्स–रे गरेर पिनास ग्रन्थीमा कफ जमे वा नजमेको पत्ता लगाउन सकिन्छ ।
३) सिटीस्क्यान :
सिटीस्क्यान गर्दा अझ कहाँ कहाँ र कति कफ जमेको छ भनेर पत्ता लगाउन सकिन्छ ।
४) एमआरआई :
यो सिटीस्क्यान र एक्स–रेभन्दा पनि उत्तम खालको निधान पद्धति हो ।
रोकथाम र बच्ने उपाय :
पिनासको सबैभन्दा आमकारण भनेको एलर्जी हो । पिनासबाट जोगिन एलर्जीबाट बच्नुपर्ने हुन्छ । एलर्जीका कारणहरु अनेक हुन सक्छन् । जस्तैः
१) माकुराको जालो, फूलको पोलन, चिसो, ढुसी, धूवाँ, धूलो, घोडाको लिदी, पशुको भुत्ला, पक्षीको प्वाँख आदि एलरजेनहरुसँग बच्नुपर्छ ।
२) ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवम् सामानहरुलाई नियमित सरसफाइ गरिरहनुपर्छ । जस्तैः गद्दा, सोफा, कार्पेट, गलैँचा, डोरम्याट, पर्दा रुमाल आदि ।
३) परफ्युम, अत्तर आदिको बासनाले पनि धेरैलाई एलर्जी हुन सक्छ ।
४) दूषित वायुमा जस्तै धूवाँ, धूलो, धूमपान, आद्र वायुबाट बचौँ ।
५) घरमा हावा गुम्सिन नदिऔँ, भएको भेन्टिलेसन प्रणालीलाई चुस्त राखौँ ।
६) जाडोको मौसममा कम तापमान र आद्र हावामा पिनास ग्रन्थीहरुको संक्रमण हुन सक्छ, तसर्थ जाडोबाट बचौँ । यसैगरी, अति उष्ण तापक्रममा पनि श्वास लिँदा पिनास हुन सक्छ ।
७) तनाव, अनिद्रा, डर, चिन्ता, उदासीनता र नैराश्यता आदिबाट पनि बच्ने गरौँ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन गई पिनास हुन सक्छ ।
८) रूघाखोकी लागेका व्यक्तिहरुबाट पनि बच्ने गर्रौ ।
९) तलाउ, पोखरी, खोला वा स्वीमिङ पुलमा डुबेर नुहाउँदा नाकमा पानी पसी पिनास ग्रन्थीको संक्रमण हुन सक्छ ।
१०) मौसमी संक्रमणबाट बचौँ । ब्याक्टेरिया भाइरस, फङ्गस आदिको संक्रमणले पिनास हुन सक्छ ।
११) नाक, कान, घाँटी र दाँतको संक्रमण भएकाहरुले यी संक्रमणलाई बेलैमा नियन्त्रण गरौँ । कहिलेकाहीँ यी संक्रमण पिनास ग्रन्थीमा सरेर पिनास हुन सक्छ ।
१२) जाडोमा निधारसम्म ढाकिने टोपी वा मङ्की क्याप लगाउने गरौँ ।
१४) दैनिक ३–४ लिटर पानी पिउने गरौँ ।
१५) नाकमा मासु पलाएको, नाकको हड्डी टेडो भएको जस्ता समस्याको बेलैमा उपचार गरौँ ।
१६) नाकको सफाइमा विशेष ध्यान दिऔँ ।
उपचार :
पिनासको उपचार गर्नुभन्दा पहिले हामीले पिनास हुनाको कारण पत्ता लगाउनु पर्ने हुन्छ । यसका साथसाथै पिनासको प्रकार, पिनास बढाउने र घटाउने त¤वहरु पनि थाहा पाउनु पर्ने हुन्छ । कारणको यकिन निक्र्योल गरी उपचार गर्दा उपचार चाँडो लाग्दछ र समस्यालाई जरैदेखि उखेल्न सकिन्छ ।
प्राकृतिक उपचार :
१) जलनेति गर्ने :
प्रचिनकालदेखि नै ऋषिमुनिहरुले नाकको सफाइ गर्नका लागि उपयोग गरेको यौगिक विधिलाई जलनेति भनिन्छ । नेतिको भाँडामा उमालेर मनतातो बनाइएको नुनपानीलाई एउटा नाकको प्वालबाट राखी अर्को प्वालबाट निकाल्ने पद्धतिले पिनास नियन्त्रण गर्छ ।
२) सूत्रनेति : रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरी पूरै श्वासमार्गलाई नै सफाइ गर्ने क्रियालाई सूत्रनेति भनिन्छ । सूत्रनेति गरिसकेपछि पुनः जलनेति गर्नुपर्छ ।
३) अनुहारको वाफ लिने : उम्लिएको पानीमा नाक खुलाउने दबाइ हाली वा नहालीकन पानीको वाफमा अनुहार एक्सपोज गरी कपडाले पूरै टाउको र वाफको भाँडोसहित ढाकेर नाकबाट वाफ लिने गर्दा तातो वाफले पिनास ग्रन्थीमा भएको फोहोर निकाली प्रदाह कम गर्न मद्दत गर्दछ । (नोटः वाफ लिँदा आँखा बचाएर लिने गरौँ ।)
४) कुञ्जल क्रिया : उमालेर मनतातो बनाएको पानीमा नुन हाली ८–१० गिलास पानी पिएर वमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा अमाशय सफा हुन्छ नै, साथसाथै यसले नाक र पिनास ग्रन्थीमा जम्मा भएर रहेको फोहोरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।
५) टाउकाको मालिस : तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पु¥याउँदछ ।
६) मसलाहरुको सेवन : तीक्ष्ण स्वाद भएका मसलाहरु जस्तैः तोरी, ल्वाङ, प्याज, लसुन, मरीच, कडीपत्ता, बेसार आदि हालिएको सब्जी खाँदा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तीक्ष्ण स्वादका वस्तुले कफ काट्ने छ ।
७) अकुप्रेसर : अनुहारका पिनास ग्रन्थीमाथि, वरपरका अकुप्रेसर विन्दुहरुमाथि, हत्केला वा पैतालाका विन्दुहरु दबाउँदा पिनासबाट छुटकारा पाउन सकिन्छ ।
८) भुइँकटहरको गुवो वा अंगुरको बीचको प्रयोग : भुइँकटहरको गुवोमा ब्रोमेलिन नामको प्रोटिन पाइन्छ । यो प्रोटिनको उपयोग सुनिएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा घ्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।
९) गाईको घिउ : सुत्नुभन्दा पहिले २–३ थोपासम्म मनतातो गाईको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।
१०) प्रशस्त पानी पिउनस् : पिनास भएकाहरुले प्रशस्त पानी पिउने गर्नुपर्छ । पानीको निहुँमा कोल्डड्रिङ्क्स, पेप्सी, जूस, चिनी हालिएका पेप सूप आदि पिउन हुँदैन । रक्सी र चुरोटको सेवन पनि पिनासका लागि हानिकारक छ । पेय पदार्थको सेवन गर्दा कफ काट्ने पदार्थको छनोट गर्नुपर्छ ।
११) नाकभित्र मासु पलाएको, सुन्निएको, हड्डी बाङ्गिएको वा नासिका मार्ग थुनिएको भए चिकित्सकको यथाविधि परामर्श लिने गरौँ ।
योग चिकित्सा :
आसनहरु : शलभासन, मन्डूकासन महावीरासन, वीरासन, पृष्ठचालनासन, कर्णपिडासन, शीर्षासन ।
प्राणायाम : अनुलोम—विलोम, कपालभाँती, भस्त्रिका, महाभेद ।
ध्यान वा पूर्ण विश्रामका लागि शिथिलीकरण वा शवासनको अभ्यास ।
खानपान व्यवस्थापन :
पिनास मुख्यतः एलर्जी, तनाव, कमजोर प्रतिरक्षा प्रणाली र संक्रमणसँग सम्बन्धित रोग हो । पिनासका लागि खानपान व्यवस्थापन गर्दा मुख्यतः यिनै कारणहरुलाई आधार मानेर गर्नुपर्ने हुन्छ ।
के के खाने ?
१) मसलाहरुको सेवन : पिनास भएकाहरुले तीक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरुको सेवन गर्दा राम्रो हुन्छ । जस्तैः लसुन, प्याज, तोरी, ल्वाङ, मरीच, कडीपत्ता, बेसार, ज्वानो, सौफ, अदुवा, हिङ ।
२) अमला र भुइँकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका खेल्दछ ।
३) खजुर, किसमिस, स्याउ, गैरअम्लीय ताजा फलफूल खाने गरौँ ।
४) तर, पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरुको परहेज गर्नुपर्छ ।
५) तातो पानीको सेवन, प्रशस्त झोल पदार्थको सेवन ।
६) तातो पानी र बेसार ।
के के नखाने ?
तारेको, भुटेको, संरक्षित खाद्यान्न, कोल्डड्रिङ्स, स्टार्चयुक्त खाना, सेतो चिनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तीक्ष्ण मसला, माछा, मासु, अण्डा, चीज, पनिर, बटर, दूध एवं दुग्धजन्य पदार्थ ।
(लेखक चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)

Comments

About the author

चितवन पोष्ट