गृह » विद्यार्थी संख्या घट्नाले गाउँका विद्यालय धरापमा
प्रमुख समाचार

विद्यार्थी संख्या घट्नाले गाउँका विद्यालय धरापमा

–तुलमान गुरूङ
यकराङ । चितवन जिल्लालाई सुगम जिल्लाको रूपमा चिनिन्छ । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, विद्युत्लगायत अति आवश्यक विकासका पूर्वाधार सम्पन्न भएकोले पनि समग्र चितवनलाई नै सुगम जिल्ला मानिएको हो । यहाँको शैक्षिक क्षेत्रको कुरा गर्ने हो भने सबै निजी विद्यालयहरूमा धान्नै नसक्ने विद्यार्थी छन् । सुगम क्षेत्रका सामुदायिक विद्यालयमा पनि कम छैनन् । तर, सुगम जिल्लाको ग्रामीण भेगमा भने विद्यार्थी संख्या बर्सेनि कम हुँदै जाँदा विद्यालय नै मर्ज हुने अवस्थामा पुगेका छन् ।
इच्छाकामना गाउँपालिकाको वडा नं. ६ स्थित यकराङमा रहेको दीपज्योति राष्ट्रिय आधारभूत विद्यालयमा अहिले जम्मा २३ जना विद्यार्थी अध्ययनरत छन् । २०६१ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा ३ सम्मको पढाइ हुँदै आएको छ । सुरूका दिनमा विद्यार्थी संख्या धेरै भए पनि अहिले गाउँका मानिसहरू बजार झर्ने क्रम बढेपछि यहाँको विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको हो । जसले गर्दा विद्यालय नै मर्ज हुने स्थितिमा पुगिसकेको छ ।
विद्यालयकी प्रधानध्यापक रश्मी गुरूङका अनुसार गत शैक्षिक सत्रदेखि नै विद्यालय मर्ज हुन लागेको थियो । तर, गाउँ बाहिरका विद्यार्थीलाई पनि फर्काउन सके विद्यार्थी संख्या बढ्ने र विद्यालयलाई मर्ज गर्न नपर्ने सम्भावना देखेपछि गाउँले सबैसँग बैठक बसेर आ–आफ्नो बालबच्चालाई यही विद्यालयमा भर्ना गर्ने सहमति भएको थियो । तर, कार्यान्वयन कसैले पनि नगरिदिँदा सोचेजस्तो विद्यार्थी संख्या बढाउन नसकेको उनले बताइन् ।
हुन त गतवर्षभन्दा योवर्ष पाँच जना विद्यार्थी संख्या थप भएका छन् । तैपनि सरकारले तोकेअनुसारको विद्यार्थी संख्या भने पु¥याउन नसकेको विद्यालयले जनाएको छ । ‘श्रीमान् विदेश जाने र श्रीमती बजार झर्ने परम्पराले गर्दा अहिले गाउँकै विद्यालय धरापमा प¥यो,’ विद्यालयकी प्रधानाध्यापक गुरूङले भनिन्, ‘यो वर्षसम्म त जसोतसो चलाइयो, अब आउने शैक्षिक सत्रबाट त खै चलाउन पनि गाहै्र छ ।’ सुरूका वर्षहरूमा एउटै कक्षामा १५÷१६ जनासम्म विद्यार्थी भएको स्मरण गर्दै उनले थपिन्, ‘अहिले यहीँ पढ्ने विद्यार्थीका अभिभावक मर्ज नगरौँ भन्छन्, अरूलाई चासो नै छैन ।’
आफ्नो बालबच्चालाई राम्रो शिक्षादीक्षा दिलाउने सबैको चाहना हुन्छ । तर, गाउँका सबै बजार झर्न सक्दैनन् । यकराङ गाउँमा मात्रै ४९ घरधुरी छन् । विद्यार्थी संख्या भने जम्मा २३ जना । विपन्न वर्गका बालबालिकाबाहेक अरू सबै मुग्लिन, खैरैनी, कुरिनटार, भरतपुरलगायतका स्थानमा पढ्छन् । त्यसैले गाउँकै शिक्षाको पनि गुणस्तर बढाउने हो भने शिक्षाकै लागि शहरबजार झर्नुपर्ने स्थिति नरहेको प्रअ गुरूङले बताइन् । ‘गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भनेर गत वर्षबाट अंग्रेजी माध्यमबाट पढाइ सुरू गरेका छौँ,’ उनले भनिन्, ‘तर, सोचेजस्तो विद्यार्थी संख्या नहुँदा अब यहाँ विद्यालय नै नरहने स्थिति छ ।’
गाउँमै भएको यो विद्यालय पनि मर्ज भयो भने यहाँका विद्यार्थीलाई कम्तिमा पनि आधा घण्टा हिँडेर निमावि चनौटे पुग्नुपर्ने बाध्यता छ । ‘सानासाना केटाकेटीलाई सधैँ पु¥याउन पनि सम्भव छैन,’ विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सरिमाया गुरूङले भनिन्, ‘त्यसैले गाउँका सबैले आ–आफनो बालबालिका यहीँ ल्याएर पढाए विद्यालय राम्रोसँग चलाउन सकिन्थ्यो ।’ जिल्ला शिक्षा कार्यालयले गत वर्ष नै मर्ज गर्ने भने पनि सानासाना बालबालिकाको लागि समस्या पर्ने भएकोले रोकेको उनले बताइन् ।
सडक सञ्जालले पनि जोडिइसकेकोले विद्यालयमै शैक्षिक गुणस्तर वृद्धि गरी यसैलाई निरन्तरता दिने प्रयास गरिरहेको उनले बताइन् । यकराङको विद्यालय त एउटा उदाहरण मात्रै हो । जिल्लाका ग्रामीण भेगका अधिकांश विद्यालयको यस्तै अवस्था छ । टाढाको विद्यालय जान नसक्ने हुँदा बीचैमा विद्यालय छाड्नेहरूको संख्या पनि कम छैन । चितवनलाई शैक्षिक हबको रूपमा विकास गर्नको लागि सबै स्थानीय तह तथा शिक्षासँग सम्बन्धित सबै संघसंस्थाहरूले सबै बालबालिकालाई शिक्षाको पहुँचसम्म पुग्ने वातावरण मिलाउन सक्नुपर्ने देखिन्छ ।

Comments

About the author

चितवन पोष्ट