गृह » अनुदान बढाउन दुग्ध किसानको माग
अर्थ समाचार समाज

अनुदान बढाउन दुग्ध किसानको माग

भरतपुर । निश्चित मापदण्ड पूरा गरेका सहकारी संस्थामा दूध बिक्री गर्ने किसानहरुले सरकारबाट प्रति लिटर थप एक रूपैयाँ अनुदान पाउँन थालेका छन् ।
बुधबार चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८ औं वार्षिक साधरणसभामा बोल्ने वक्ताहरुले अनुदानको दर र दायरा बढाउन सरकारसँग माग गरे । आर्थिक वर्ष ०७३/७४ बाट सरकारले सहकारीमा दूूूूध बेच्ने किसानहरुलाई उनीहरुले पाएको मूल्यमा थप एक रुपैयाँ अनुदान दिने नीति लिएको थियो । दुग्ध उत्पादक केन्द्रीय सहकारी संघको विशेष पहलमा सरकारले यस्तो व्यवस्था गरेको साधरण सभामा बोल्दै दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका सञ्चालक भागिरथ तिमिल्सिनाले बताए ।
दिनमा एक हजार लिटरभन्दा बढी दूध संकलन गर्ने सहकारीमा दूध बेच्ने किसानका लागि सरकारले अनुदानको व्यवस्था गरेको थियो । अहिले दिनमा तीन सय लिटर दूध संकलन गर्ने सहकारीले पनि यस्तो अनुदान पाउनुपर्छ भन्ने माग आफूहरुको रहेको तिमिल्सिनाको भनाइ छ । दूधमा यसरी अनुदान दिन सरकारले अघिल्लो आर्थिक वर्षमा सात करोड रूपैयाँ छुट्टाएको थियो ।
जसमध्ये चितवनमा दुई करोड ४८ लाख रूपैयाँ अनुदानको रुपमा आएको थियो । सरकारले यो वर्ष अनुदानका लागि १० करोड रूपैयाँ छुट्टाएको केन्द्रीय सञ्चालक तिमिल्सिनाले जानकारी दिए । साथै यस्तो अनुदानको रकम प्रति लिटर प्रति वर्ष एक रूपैयाँ थप हुँदै जानुपर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिका अध्यक्ष हरिहर सुवेदीले माग गरे ।
‘अन्य तरिकारी अनुदान दिनुभन्दा किसानका लागि उनीहरुले उत्पादन गरेर बिक्री गरेको दूधमा नै अनुदान दिनु राम्रो र प्रभावकारी देखिएको छ । यस्तो अनुदानले किसानहरु प्रोत्साहित भएका छन् । तर, अनुदानको दर र दायरा भने फराकिलो बनाउँदै लैजानु पर्छ’ अध्यक्ष सुवेदीले भने । दुग्ध व्यवसायमा लागेका किसानले राहत अनुभव गर्ने कार्यक्रमहरु बढाउने पनि उनले सरकारसँग माग गरे ।
दुग्ध उत्पादनमा संलग्न किसानको अनुसार सहकारीहरुले किसानको दूधलाई सरदर प्रति लिटर ५० रूपैयाँ तिर्दै आएका छन् । त्यसमा सरकारले एक रूपैयाँ अनुदान दिँदा पनि ठूलो राहत अनुभव गर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । दैनिक हजार लिटरभन्दा माथि दूध संकलन गर्ने सहकारीहरु थोरै नै थिए । त्यसैले तीन सय लिटर संकलन गर्नेले पनि अनुदान पाए धेरै राम्रो हुने सहकारीका पदाधिकारीहरुको भनाइ छ ।
यसका साथै किसानले दूधको उचित मूल्य अझै पाउन नसकेको गुनासो पनि उनीहरुले गरे । ‘दूधको लागत मूल्य बढ्दो छ । त्यो अनुसारको बिक्री मूल्य किसानले पाएका छैनन् । लागत के कसरी घटाउन सकिन्छ यसमा पनि चिन्तन मनन हुन आवश्यक छ । साथै किसानका प्रतिनिधि, डेरी उद्योगी र सरकारका प्रतिनिधि रहेको अधिकार सम्पन्न मूल्य निर्धारणा आयोग गठन हुनु पर्छ’ संघका चितवन अध्यक्ष हरिहर सुवेदीले माग गरे ।
चितवनमा दूध उत्पादनमा सक्रिय १४६ वटा सहकारी संस्थाहरु छन् । यी सहकारीमा दैनिक दुई लाख लिटरको हाराहारीमा दूध संकलन हुन्छ । एकजना व्यक्तिले दिनमा औसतमा २५० ग्राम दूध खानुपर्ने हुन्छ । तर, अहिले नेपालमा १४४ ग्राम खाने गरेको अध्यक्ष सुवेदीले बताए । त्यसैले दूधको उत्पादन बढाउन आवश्यक देखिन्छ । तर, किसानले उत्पादन गरेको दूधले राम्रो मूल्य नपाउने मात्रै होइन बिक्री नै हुन पनि गाह्रो छ ।
खास गरेर नेपालमा धुलो दूध उत्पादन गर्ने राम्रो कारखाना नहुँदा कुनै समयमा किसानले उत्पादन गरेको दूध बिक्री हुन गाह्रो हुने गरेको छ । ‘यो समस्या हटाउनका लागि धुलो दूध कारखाना राम्रोसँग चलाउन आवश्यक छ । तर, नेपालमा सथापना भएको एउटा ठूलो धुलो दूध काराखान चितवन मिल्क लामो समयदेखि बन्द छ । यसलाई चलाउन हामी माग गर्दछौं’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष सुवेदीले भने ।

Comments

About the author

चितवन पोष्ट