गृह » गणेशस्थानको विकासका लागि पौने दुई करोडको गुरुयोजना तयार
अर्थ समाचार समाज

गणेशस्थानको विकासका लागि पौने दुई करोडको गुरुयोजना तयार

भरतपुर । चितवनको पुरानो धार्मिक स्थलमध्येको बसेनीको गणेशस्थानको उचित विकास गर्नका लागि तीन वर्षे गुरुयोजना तयार भएको छ ।
गणेस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार पहिलो वर्ष ४४ लाख, दोस्रो वर्ष ८४ लाख र तेस्रो वर्ष ५५ लाख गरेर कुल एक करोड ८३ लाख रुपैयाँ बराबरका योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कार्ययोजना अनुसार पहिलो वर्षमा मन्दिर परिसरमा आउने भक्तजन र पर्यटकको लागि पार्किङद्वार निर्माण, पार्किङ ब्यवस्थापन तथा मन्दिर प्रवेशद्वारलाई रंगरोगन गरी सजावट गरिने छ । त्यस्तै मन्दिरलाई सफा र सुन्दर पार्नको लागि मन्दिर परिसरमा टायल बिछ्यााउने योजना पनि समितिले बनाएको छ ।
पिकनिक स्थल थप गर्ने र भइरहेको स्थानलाई व्यवस्थित गर्ने तथा बिहान बेलुका मर्निङवाक गर्नको लागि मन्दिर परिसरको भित्री भाग पूर्व र उत्तर साइडबाट छ फिटको बाटो निर्माण गर्ने पनि पहिलो वर्षको योजनामा छ । त्यस्तै गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्घन समितिको क्षेत्रलाई पूर्णरुपमा तारबार तथा पर्खाल लगाउने पनि गुरुयोजनामा रहेको छ ।
अनुमानित लागत १० लाख रुपैयाँ
खानेपानी, शौचालयलाई आधुनिक र व्यवस्थित गर्ने, मन्दिर परिसरभित्र आवश्यक पर्ने ठाउँहरूमा विश्राम कुर्चीहरू राख्ने जस्ता योजनाहरु पहिलो वर्षभित्र सक्ने अध्यक्ष चुकेले बताए । त्यस्तै दोस्रो वर्षमा गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्घन समितिको हाल २.४३ हेक्टर जग्गा रहेकोमा थप क्षेत्रफल विस्तारको लागि पहल गर्ने योजना छ ।
यसका लागि नवजागृती सामुदायिक वन तथा जलदेवी सामुदायिक वनसँग आवश्यकता अनुसार जग्गा थप गर्न अनुरोध गरी सो क्षेत्रमा बोटानिकल गार्डेन, नमुना पार्क, तलाउ, बगंैचा निर्माण तथा खेल मैदान निर्माण गर्ने अध्यक्ष चुकेले जानकारी दिए । मन्दिर क्षेत्रको पुङ्गी खोलाको काठे पुललाई मर्मत गर्ने र पश्चिम उत्तरतर्फ थप एउटा काठे पुल निर्माण गर्ने दोस्रो वर्षको योजनामा छ ।
गणेशस्थान मन्दिर क्षेत्रको सुरक्षाका लागि प्रहरी बिट राख्ने र त्यसको भवन निर्माण गर्ने योजना पनि रहेको छ । यसका साथै मन्दिरमा पुजारी २४ सैं घण्टा बस्नको लागि दुई कोठाको भवन निर्माण गर्ने, गणेशस्थान मन्दिर क्षेत्र संरक्षण सम्वद्र्घन समितिको परिसर भित्रको कृयापुत्री भवन निर्माण गर्ने लगायतका योजना दोस्रो वर्षभित्र सम्पन्न गर्ने समितिको योजना छ ।
त्यसैगरी कार्ययोजनाको तेस्रो वर्षमा मन्दिर क्षेत्र संरक्षण सम्वद्र्घन समितिको परिसर भित्र साधुसन्त महन्तहरूको लागि विश्राम स्थल निर्माण गर्ने तथा अमृत धाराको जिर्णोद्धारलाई ब्यवस्थित तरिकाले सञ्चालनमा ल्याउने योजना रहेको छ । सोही वर्ष बाइपास रोडबाट मन्दिर आउने बाटोलाई पिच गर्न महानगरपालिकाबाट सर्भे गरी आवश्यक बजेट निकाशा गर्न अनुरोध गर्ने पनि अध्यक्ष चुकेले बताए ।
मन्दिर परिसरबाट दृश्यावलोकनको लागि भ्यू टावर निर्माण कार्य सम्पन्न गर्न, सीसी क्यामेरा जडान गर्ने, गणेशस्थान मन्दिर क्षेत्र परिसरको पूर्वतर्फको खोल्सालाई हयुम पाइप राखि पुरेर पार्किङ प्रयोजनमा ल्याउने जस्ता काम तेस्रो वर्षमा हुने छन् ।
चितवन, तनहँु र नवलपरासी जिल्ला भएर बग्ने कालिगण्डकी र त्रिशूली नदीको संगममा रहेको पवित्र धार्मिक स्थल देवघाटधामदेखि करिब चार किलोमिटर दक्षिणतर्फ भरतपुर महानगरपालिका वडा नं. ११ मा गणेशस्थान मन्दिर रहेको छ । वरण्डाभार जंगल क्षेत्रमा विसं २०१४ सालमा रुखमुनि फेला पारी पूजाआजा गर्दै आएको गणेशको अर्धकदको मूर्ती त्यहाँ रहेको छ ।
गुरूयोजनाको अनुमानित कुल लागत रकम एक करोड ८३ लाख रुपैयाँमध्ये ५३ लाख रुपैयाँ स्थानीय तथा धार्मिक व्यक्तिहबाट उठाउने अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । अपुग रकम भरतपुर महानगरपालिकामार्फत रकम निकाशा गरी काम गर्ने उनले बताए ।

Comments

About the author

चितवन पोष्ट