गृह » अग्निपरीक्षाको घडीमा केपी ओली र प्रचण्ड
विचार

अग्निपरीक्षाको घडीमा केपी ओली र प्रचण्ड

डा. ढाकाराम सापकोटा
dhakaramsapkota13@gmail.com

नेपाली जनताले बहुदल देखे, गणतन्त्र देखे, कांग्रेसलाई तीनपटक बहुमत दिएर सत्ता चलाउने मौका दिए, तर आजसम्म हेर्न र अनुभव गर्न नपाएको कम्युनिस्ट पार्टीको बहुमतको सरकार थियोे । कम्युनिस्टका नाममा राजनीति गरे तापनि विगतको व्यवहार, आचरण र जीवनशैली हेर्दा पूरै विश्वास गर्न त सकिँदैन, तथापि यसपटकको चुनावमा वाम गठबन्धनभन्दा उपयुक्त अर्को कुनै थिएनन् । त्यसैले, काङ्ग्रेसी शासनबाट आत्तिएका, आफूलाई कम्युनिस्ट भन्ने र स्थायी सरकारको आशा राख्नेहरुले अहोरात्र खटेर वाम गठबन्धनका नेतालाई जिताए । आधिकारिक रुपमा निर्वाचन आयोगले सबै निर्वाचनका परिणामहरु सार्वजनिक नगरे पनि वाम गठबन्धन दुईतिहाइ नजिक पुगेको प्रस्ट भइरहँदा नागरिकहरुमा उत्साह र आशाका किरणहरु देखिन थालेका छन् । २०६२÷६३ मा गणतन्त्रको माग गर्दै सडकमा उठेको जुलुसलाई बिर्साउने गरी विजय ¥यालीहरु निस्केका छन् । वाम गठबन्धनले बहुमत ल्याउने अवसर नपाएकै कारण देशले काँचुली फेर्न नपाएको भनेजसरी उत्साह छाएको छ । हुन पनि, एकातिर मनमोहन अधिकारी र केपी ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्दै गर्दा हठात् सत्ताबाट हटाइनु र अर्कोतर्फ दस वर्षको अवधिमा १० वटा सरकार गठन तथा विघटन हँुदै गर्दा ५ वर्षका लागि स्थिर सरकारको गठन हुने गरी बहुमत आउँदा खुसी हुनु स्वाभाविक छ ।
नेपाली जनताले आजसम्म आशैआशमा दशकौँ बिताए । पञ्चायती व्यवस्थाका विरूद्धमात्र होइन राजतन्त्रका विरूद्ध आन्दोलनको आह्वान् गर्दा सधैँभरि साथ दिँदै आए । विगतमा कांग्रेसलाई तीनपटक बहुमत दिएकै थिए, तर निजी स्वार्थका कारण कांग्रेसको शासन देश र जनताका लागि अभिशाप नै बन्यो । यसपटक आफहरुलाई बहुमत दिए स्थिर सरकार दिने उद्घोषका साथ निर्वाचनमा गएको वाम गठबन्धनलाई शानदार बहुमत दिएका छन् । जनताले काम गर्छु भन्नेलाई मौका दिएकै छन् । वाम गठबन्धनले जनतासँग जसरी मत मागेका थिए त्यसैगरी दिएका छन् ।
कांग्रेसले जनमतको कहिल्यै कदर गर्न जानेन । अहिले पनि चुनावमा लज्जाजनक रुपमा पराजित हँुदा पनि सत्ता छाड्न चाहेको छैन । बरू, केही दिन सत्ता लम्ब्याउने र वाम गठबन्धनलाई फुटाउने उद्देश्यका साथ हिँडिरहेको छ । यद्यपि, जनमतले कांग्रेसलाई सत्ताबाट हटाइसकेको छ । ढिलोचाँडो कांग्रेस सत्ताबाट हट्नैपर्छ । वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने कुरा निश्चित छ, तथापि जनताले आजसम्म धेरै व्यवस्था बदले तर बदल्न नसकेको नेताहरुको सोच रहेको छ । नेताको सोच जनताले भन्दा पनि स्वयम्ले बदल्ने कुरा हो । हुन पनि, संसार बदल्न जति गाह्रो छ त्योभन्दा कयौँ गुणा गाह्रो आफूलाई बदल्नमा छ भन्ने गरिन्छ । नेपाली राजनीतिमा देखिएको र स्थापित भएको नजिर नै राजनीति सेवा नभई व्यवसाय भएको छ । कमिसन बटुल्दै रातारात धनी बन्ने, नातागोता र भाइभतिजाहरुलाई ठाउँमा पु¥याउने, पार्टी डनवाद र धनवादले चलाउने नराम्रो परम्परा बसेको छ । यी सबै कुरा बदल्न साँच्चै दृढ संकल्पको खाँचो छ । इतिहासमा यसअघि कहिल्यै नभएको अग्निपरीक्षामा वाम गठबन्धनलाई उभ्याएका छन् जनताले । जनताको अग्निपरीक्षामा कसरी उभिने हो, वाम गठबन्धनलाई मौकासहित चुनौती दिएका छन् ।
संसदीय राजनीतिक व्यवस्थामा सरकारको भूमिका जति मह¤वपूर्ण हुन्छ, त्यति नै भूमिका प्रतिपक्षीको पनि हुने गर्छ । यसअघि वामपन्थीहरु प्रतिपक्षीमा बस्ने मात्र होइन, पटकपटक सरकारको नेतृत्व गरेकै थिए । त्यस कारण, यो मुलुकमा भएका खराब काम काङ्गे्रस एक्लैले गरेको थियो भनेर पन्छिने ठाउँ कतै बाँकी छ भन्ने लाग्दैन । भागबन्डाको नाममा पदहरुको बाँडफाँड भएकै हुन् । बाँडेर खाने कुरामा ठूलो दल हुनुका नाताले अन्यका तुलनामा नेकाले बढी खाएकै हो । जनताले बहुमत दिँदैमा हामी राम्रा रहेछौँ भन्ने भ्रम पाल्नुहँुदैन । जनताले बहुमत दिएर वाम गठब्न्धनलाई बहुमतमा पु¥याएका छन् । बहुमतसँग जनताको विश्वास जोडिएको छ । पटकपटक सरकारमा पुगेर काम गर्न नसक्दा हाम्रो बहुमत भएन भनी उम्किन जति सजिलो थियो त्योभन्दा कयौँ गुणा चुनौती आएको छ । त्यो चुनौती पूरा गर्न विगतको शैली पूरै बदलिनुपर्छ । तस्करी गरेर कमाएको सम्पत्ति श्रीमतीको दाइजो पेवा भनी सम्पत्ति विवरण देखाउन लाज मान्नुपर्छ ।
२०६४ देखि आजसम्म १० जना प्रधानमन्त्री र करिब पाँच सयजति मन्त्री बने । तिनले पैसा कमाए, केही महिना झन्डावाला गाडी चढेर दुनियाँमा आफू सबैभन्दा ठूलो भएको महसुस गरे, तर आजका दिनमा तिनको कुनै अस्तित्व छैन । अस्तित्व छ भने जनताको पक्षमा काम गर्ने गोकर्ण विष्ट, लालबाबु पण्डित, जनार्दन शर्मालगायतका केही सीमित व्यक्तिको मात्र छ । जनताको मूल्याङ्कन गर्ने आधार पदमा को पुग्यो भनेर होइन पदमा पुग्दा के ग¥यो भनेर हो । कुनै बेला राम्रो काम गरेका मनमोहन अधिकारीको नाम लिँदै भोट माग्दा कति गौरवको अनुभूति भयो । ९० वर्षीय वृद्ध आमाले मेरो भोट सूर्यमा हाल्देऊ भन्दै मतपत्र आफ्ना सहयोगीलाई थमाइरहँदा मनमोहन अधिकारी यतैकतै भएको अनुभूति भयो । यतिबेला केपी ओलीले मुलुक बनाउनुपर्छ भन्ने अभियान चलाउँदामात्र मुलुक जुर्मुराएको छ ।
आजका दिनमा ओली देश बनाउन हिँडेको व्यक्ति भन्ने अनुभूति हुन्छ भने प्रचण्ड भन्नेबित्तिकै उनका विगतका क्रियाकलाप झल्झल्ती आँखाअगाडि आइदिन्छ । हुन पनि, उनमा रहेको अस्थिर स्वभावको फाइदा उठाउन अनेक जाल फालिरहेका छन् । वाम गठबन्धनलाई नरूचाउनेहरु यसलाई कसरी भत्काउन सकिन्छ भनेर अहोरात्र दिमाग घुमाएका छन् । प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार छौँ भन्दै सञ्चारमाध्यममा रोइकराई गरेका छन् । उनलाई गरिएको त्यो प्रस्ताव मुलुकलाई सधैँ अस्थिरतामा धकेलेर धमिलो पानीमा माछा मार्न चाहनेहरुको पासो हो । त्यसैले, जनताले भोट हालेर जिताउने एउटा कुरा हुन सक्छ, तर वास्तविकता के हो स्वयम्ले मूल्याङ्कन गर्न आवश्यक छ ।
समग्र मतपरिणामले सबैलाई उत्साहित बनाइरहेका बेला कतै प्रचण्डले…भन्ने आशङ्का पनि सँगसँगै आएको छ । यतिबेला वाम गठबन्धनका पक्षमा जुन मतपरिणाम आएको छ, त्यो ओलीका लागि देश हाँक्ने (स्थिर सरकार चलाउने, रेल कुदाउने, ग्यासका पाइप घरघर पु¥याउने) र प्रचण्डका लागि पटकपटक जनताका अगाडि बोलेका कुरामा कति विश्वासिला छन् भनी अन्तिम मूल्याङ्कनका लागि हो । अग्निपरीक्षाको घडी सुरू भयो अब केपी ओली र प्रचण्डको, नेताहरुलाई चेतना भया ।

 

Comments

About the author

चितवन पोष्ट