गृह » डा केसीको समर्थनमा भरतपुरमा प्रदर्शन 
प्रमुख समाचार

डा केसीको समर्थनमा भरतपुरमा प्रदर्शन 

भरतपुर । अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ ।
राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सांसदसमेत सहभागी भए । डा केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिकहरुको दायित्व भएको सहभागिहरुको प्रतिक्रिया थियो ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका केसीलाई सोमबार मात्र अदालतको अवहेलनाको आरोपमा सर्वोच्च अदालतमा परेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । केसीको अनशनकै बलमा बर्खास्त भएका चिकित्साशास्त्र अध्ययन संस्थानका डिन शशी शर्मालाई पुनर्बहाली गर्ने आदेश सर्वोच्च अदालतले दिएपछि डा केसी असन्तुष्ट भएका थिए ।
वरिष्ठताको आधार वा मापदण्ड बनाएर डिन नियुक्त गर्नुपर्नेमा त्यसो नगरेको भन्दै डा केसीले अनशन सुरू गरेपछि सरकारले चार वर्षअघि शर्मालाई बर्खास्त गरेको थियो । अदालतले सरकारको निर्णय उल्ट्याउँदै शर्मालाई चार दिनका लागि भए पनि डिनमा फर्काउने आदेश दिएपछि डा केसीले प्रधानन्याधीश गोपालप्रसाद पराजुली विरुद्ध टिप्पणी गरेका थिए ।
सोही टिप्पणीका आधारमा पक्राउ परेका केसीलाई तत्काल छाड्न माग गर्दै मंगलबार साँझ सोलीडारिटी फर डा गोविन्द केसी एलायन्सले भरतपुर चौबिसकोठीमा पाँच बजेदेखि आधा घण्टा प्रदर्शनको आह्वान ग¥यो । सो आह्वान बमोजिम प्रदर्शनमा सर्वसाधारण र राजनीतिक नेताहरुसमेत सहभागी भए । सो प्रदर्शनमा चितवन क्षेत्र नं. २ प्रदेशसभा २ का निर्वाचित सदस्य विजय सुवेदीसमेत सहभागी थिए ।
त्यस्तै विवेकशील साझा पार्टीका नेता भूपेन्द्र बस्नेतलगायतका नेता र अन्य युवा विद्यार्थी सर्वसाधारणले डा केसीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरे । केसीले सर्वसाधरणको हितका लागि मेडिकल शिक्षा पद्दतिको माग गरेका कारण उनको जायज अभियानलाई हतोत्साहित बनाउने काम कसैले पनि गर्न नहुने प्रदर्शनमा सहभागी विवेकशील साझा पार्टीका नेता भूपेन्द्र बस्नेतले बताए ।
एलायन्सले डा केसीको पक्षमा उनको आठौं अनशनदेखि नै प्रदर्शन गर्दै आएको छ । पछिल्लो पटक डा केसीको समर्थनमा भरतपुरमा रिले अनशनसमेत आयोजना भएको थियो । त्यस्तै मंगलबार दिउँसो भरतपुरमा नै डा केसीको मसर्थनमा नयाँ शक्ति पार्टी, नेपालले पनि प्रर्दशन गरेको छ । डा केसीले तीन करोड नेपालीको सरोकारलाई लिएर आफ्नो ज्यान नै धरापमा पार्दै अभियान चलाउँदै आएको सो पार्टीले जनाएको छ ।
‘डा केसीले जनसरोकारका मागहरु उठाएर शान्तिपूर्ण संघर्ष गर्दै आएका छन् । सरकारले उनको जायज मागलाई पूरा गर्न सधै आनाकानी गर्छ । वास्तवमा सरकारले जनताको जीवन प्रति मजाक नै गरेको छ । यस्तो बेलामा केसीलाई पक्राउ गर्नु कदापि उचित छैन’ नयाँ शक्ति पार्टीको विज्ञप्तिमा उल्लेख छ ।
गोविन्द केसीमाथि भएको पछिल्लो कारबाहीले शान्तिपूर्ण आन्दोलनकर्तालाई तनावतर्फ धकेल्न खोजेको नयाँ शक्ति पार्टी, नेपाल चितवनका संयोजक विष्णुहरि तिमल्सेनाले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सरकारले डा केसीको न्यायोचित मागको तत्काल सुनुवाइ गर्नुपर्ने र केसीलाई रिहाइ गर्नुपर्ने नयाँ शक्तिले माग गरेको छ ।

Comments

About the author

चितवन पोष्ट