गृह » बदलिँदै ठोरी 
प्रमुख समाचार

बदलिँदै ठोरी 

दिपेन्द्र अधिकारी
पर्सा (ठोरी) । कुनै समय हप्तौ लगाएर बाजेले नुन बोक्न जाने ठोरी नाका हिजोआज यातायातको सहजताका कारण भरतपुरबाट एकै दिनमा पुगेर फर्कन सकिने भएको छ ।
ठोरीको खास सदरमुकाम वीरगन्ज हो । तर, नुनतेललगायतका खाद्यान्न र लत्ताकपडाको किनमेल सीमा पारि भारतमा हुने गरेको छ । वर्षौअघिको चलायमान ठोरी नाका अहिले सुस्त छ । दिनको चार/पाँच हजारको मात्र भन्सार कट्ने गरेको पाइन्छ । ठोरीका स्थानीयले हाल सामान्यरुपमा सञ्चालनमा आएको ठोरी नाकालाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
सम्भावनाभन्दा समस्या बढी देखेर ठोरीमा बस्दै आएकाहरु पनि विस्तारै अन्यत्र बसाइ सर्न थालेका छन् । तर, हालका गाउँपालिका अध्यक्ष भने ती सबै समस्याको समाधान गरी पुनः ठोरीलाई सम्भावनायुक्त गाउँ बनाउन खटिरहेका छन् ।
भन्सार सञ्चालन, खानेपानी व्यवस्थापन, निकुञ्ज वन्यजन्तुबाट सुरक्षा, नदीनाला नियन्त्रण गरी ठोरीलाई हरियाली गाउँपालिका बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले बताए ।
‘दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीको पनि भन्सार काट्ने गरी हामी केही योजना लिएर अघि बढ्दै छौं’, ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ।
‘गाउँमा खानेपानी समस्या थियो, अब तीन वर्ष भित्रमा उक्त समस्या समाधान हुने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए । नदी तथा खोला नियन्त्रण समस्याको रुपमा रहेको जानकारी गराउँदै उनले यो समस्याका लागि पनि बजेट विनियोजन भइसकेको बताए । त्यस्तै, चितवन निकुञ्ज, पर्सा निकुञ्ज र भारततर्फको वाल्मीकि टाइगरले घेरेको ठोरीमा सधै वन्यजन्तुले सताउने गर्छ । हात्तीले दुःख नदिएको समय हुँदैन । यी दुःखहरु पनि अब विस्तारै कम हुँदै जाने अध्यक्ष श्रेष्ठले बताए ।
गाउँमै भ्यू टावर, झोलुङ्गे पुल, होमस्टे निर्माण गरी आन्तरिक र भारतीय पर्यटक तान्न सकिने उनले बताए । ‘अहिले पनि भारतबाट पिकनिक खानका लागि नेपाल आउँछन्, अध्यक्ष श्रेष्ठले भने,‘सरकारले झोलुङ्गे पुल विस्थापन भन्दै गर्दा हामीले पर्यटक तान्नका लागि सानो झोलुङ्गे पुल बनाउँदैछौं ।’
चितवनमा जान तयार छौं
ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठ (पदमलाल) ले हाल प्रदेश नम्बर २ अन्तर्गत पर्सा जिल्लाको सिमानामा रहेको ठोरी गाउँपालिका चितवनमा गाभिन तयार रहेको बताएका छन् ।
दुई हप्ताअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठोरी गाउँपालिका प्रदेश नम्बर ३ स्थित चितवन जिल्लामा गाभिने बताएका थिए । जसको मधेसवादी दलहरुले विरोध गरेका थिए । तर, यसै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने आफूहरु यसअघि पनि पटकपटक चितवनमा गाभिन माग गरेको र गाउँपालिकाको पहिलो बैठकले पनि उक्त निर्णय गरिसकेको बताए ।
तराई भन्दा पनि पहाडी बासिन्दा र समुदायसँग आफूहरुको बिहेवारी, व्यापार, सम्बन्ध राम्रो भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सिङ्गो ठोरी बासीको माग छिटो भन्दा छिटो सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए । मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, रसुवाका मानिसहरुको यस क्षेत्रमा बसोबास छ । त्यस्तै तमाङ, वाह्मण क्षेत्री र नेवार जातिको बाक्लो बस्ती यस भेगमा रहेको छ । तत्कालीन ठोरी, निर्मलबस्ती र सुवर्णपुर गाउँपालिका मिलेर स्थानीय तह संरचनाअन्तर्गत ठोरी गाउँपालिका बनेको थियो ।

Comments

About the author

चितवन पोष्ट