गृह » नारायणीमा जलपंक्षी गणना 
प्रमुख समाचार

नारायणीमा जलपंक्षी गणना 

नवलपुर । बसाइ सरेर आउने पानी चराहरु (जलपंक्षी) गणनामा संरक्षणकर्मीहरु जुटेका छन् । चितवन निकुञ्जको सिमाना भएर बग्ने नारायणी नदीमा सोमबारबाट जलपंक्षी गन्न सुरू भएको गणनामा सक्रिय पंक्षीविद् डीबी चौधरीले जानकारी दिए ।
‘हामीले नारायणीको तीन क्षेत्रमा गणना गर्दै छौं । सिख्रौलीदेखि नवलपुरखण्डको नारायणी भंगालोको अमलटारीसम्म मेरो नेतृत्वमा गणना टोली खट्ने छ । सिख्रौलीदेखि चितवनतर्फको भंगालोको अमलटारीसम्म प्रकृतिविद् धनबहादुर तमाङको नेतृत्वमा टोली जुट्ने छ’ गणक डीबी चौधरीले भने ।
त्यस्तै अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म भागिरथ चौधरीले पानी चरा गन्ने उनले बताए । त्यसैगरी नवलपुरको पिठौलीदेखि अमलटारीसम्मको धापिलो खेत, चितवन निकुञ्जको पश्चिममा रहेको मुख्य ताल र अन्य सम्भावित सिमसार क्षेत्रमा पनि पानी चराको गणना हुनेछ । राम्रो वातावरणको सूचक मानिएका बसाइ सरेर आउने पानी चराको अवस्था पत्ता लगाउन सन् १९८७ देखि दक्षिण एसियामा पनि गणना सुरू भएको हो । नेपालमा सोही समयदेखि टाइगर टप्स जंगल लजले चितवन निकुञ्ज क्षेत्रसहित बर्दियामा पनि गणना सुरू गरेको डीबी चौधरीले बताए ।
निकुञ्जको पश्चिम क्षेत्रमा हुने गणनामा अहिले पनि टाइगर टप्स थारु भिलेज लजले गणनाको संयोजन गरेको चौधरीले बताए । वातावरण विनाश, चोरी शिकार र जलवायु परिवर्तनका कारण पानी चराको संख्या दिनप्रतिदिन घट्न थाल्नु दुःखद अवस्था रहेको उनको भनाइ छ ।
नेपालमा पाइने मध्ये चितवन निकुञ्जको सिमसार क्षेत्रमा १११ प्रजातिका जलपंक्षीहरु पाइने गर्दथे । तर, गत वर्षको गणनामा ३९ प्रजाति मात्रै भेटिएका कारण अवस्था निकै चिन्ताजनक रहेको पंक्षीविद् चौधरीको भनाइ छ ।
विभिन्न खालका पाँच प्रजातिका पानी चराहरु केही वर्षयता लगातार देखा पर्न छाडेको गणनामा लगातार संलग्न हुँदै आएका डीबी चौधरीले बताए । ‘सिमसार क्षेत्रहरु खुम्चदै छन् । प्रजाति अनुसारका बासस्थान संरक्षण हुन सकेन । चोरी शिकार पनि हुने गर्छ’ चौधरीले चरा हराउनुको कारण बताए ।
यसका साथै मान्छेको चाप बढ्दो छ । पासो र विषादी राखेर चरा मार्ने गरिन्छ । नदीमा माछा मार्ने क्रम अनियन्तित्र हुँदा पनि चराको संख्या घट्न थालेको चौधरीको अनुभव छ । चरा जोगाउनु पर्छ भन्ने चेतना सर्वसधारणमा त कमै छ सरकारी अधिकारीले पनि संरक्षणका ठोस योजना बनाउँन नसक्दा पानी चराको संख्या घटेको हुन सक्ने चौधरीले बताए ।
गणनाले पंक्षीको अभिलेख राखेर कुन बासस्थलमा कस्ता चराको संख्या राम्रो वा नराम्रो देखियो पत्ता लगाउन सहयोग पुग्छ । यसबाट संरक्षण योजना बनाउन मद्दत पुग्ने चौधरीको विश्वास छ । एसियाका कुनकुन क्षेत्रमा कस्ता कस्ता चराहरु भेटिए भन्ने सूचना आदनप्रदान गर्न सकिने भएको हुँदा यसले पर्यटनमा पनि मद्दत पुग्ने उनले बताए ।
‘चरा भेटिएको कुरा हामीले जिल्ला तहमा मात्रै राख्दैनौं । देश हुँदै विदेशसम्म पुग्छ । चरा हेर्नका लागि हुरुक्क हुने पर्यटकहरु पनि छन् । अझ ती गुणस्तरी पर्यटक हुन् । चराहरुको जानकारी आदानप्रदान हुँदा पर्यटन विस्तारमा पनि टेवा पुग्छ’ चौधरीले भने । सायद यसैका कारण नेपालको पुरानो जंगल लज टाइगर टप्सले चरा गणनामा लगातार सहयोग गर्दै आएको होला ।

Comments

About the author

चितवन पोष्ट