गृह » यो क्रूर मौसममा
साहित्य

यो क्रूर मौसममा

– धर्मराज अर्याल
आजको यो क्रूर मौसममा
मलाई तिम्रो धेरै सम्झना आएको छ
तर दुर्भाग्य
तिमी अलि टाढा छ्यौ
भूगोलको यौटा कुनामा तिमी
र अर्को कुनामा म छु
चाहेर पनि हामी
आज एकाकार हुनसक्ने छैनौँ
मेरो प्रिय !
तिमीलाई त्यहाँ कस्तो अनुभूति हुँदैछ ?
जस्ताको तस्तै खबर पठाउनु ।

जब म हाम्रो विगत सम्झन्छु
उकाली ओरालीहरु आउँछन्
र नाच्छन् आँखाको वरिपरि
क्रूर समय र निर्दोष परिवेशमा टेकेर
जब मैले तिम्रो हात समातेको थिएँ
मलाई तिम्रो प्रेमले
भयमुक्त बनाएको थियो ।

त्यो दिन पनि मौसम क्रूर थियो
आजको जस्तै
ठीक आजको जस्तै ।

त्यतिबेला
आफ्नी प्रेयसीलाई दिने
कुनै उपहार थिएन मसँग
थियो त मात्र सुकोमल भावना
मात्र एक थुंगा फूल टिपेर
तिम्रो हातमा राखेको थिएँ मैले
र त्यसलाई तिमीले
सहर्ष स्वीकार गरेकी थियौ ।

त्यसपछि हाम्रो यात्रा
सँगै भयो निरन्तर
तर कठोर र निर्दयी समयलाई
स्वीकार थिएन हाम्रो पवित्र प्रेम
समयको प्रहारले
तिमीलाई विदेशी भूमिमा पु¥यायो
पापी पेटको लागि
तिमीले स्वदेश छाड्दा
म भित्रभित्रै अथाह रोएको थिएँ
त्यो दिन मेरो आङमा घाम लागेन
र आज पनि घाम उदाएन
यो क्रूर मौसमले
मलाई रुन बाध्य पारेको छ प्रिय ।

मैले सुनेको थिएँ
लैजा मजनु
मुना मदन
र मालती मंगले नामका कृतिहरुमा
छन् अमर प्रेमका जीवन्त कथाहरु
त्यसक्रममा थप्नुछ मैले
तिम्रो र मेरो नाम हृदयमा ।

जब तिमी जहाज चढेर गएकी थियौ
म पनि वेगवान गतिको हावामा
तिमीलाई भेट्न भनेर
त्यो दिन पनि आकास रोएको थियो
घाम नउदाएको त्यो क्रूर मौसममा
मैले आफूलाई सम्हाल्न
निकै मुश्किल भएको थियो ।

वर्षहरु बित्दै गए
तर तिमी आइनौ जन्मभूमि सम्झेर
सायद म पनि तिम्रो विस्मृतिमा परेँ
पैसाले हो कि सुखले हो ?
तिमी जसरी भुलियौ विदेशमा
मैले तिमीलाई भुल्न सकेको छैन ।

Comments

About the author

चितवन पोष्ट