गृह » निर्माण सामग्रीको मूल्य घटाऊ
सम्पादकीय

निर्माण सामग्रीको मूल्य घटाऊ

देशमा विकास निर्माणका कामले तीव्रता लिइरहेका बेला निर्माण सामग्रीको अचानक मूल्य वृद्धि भएपछि यसले नेपालको अर्थतन्त्र नै प्रभावित हुने देखिएको छ । खुला बजार अर्थतन्त्रमा कार्टेलिङ गरी मूल्य वृद्धि भएको भन्दै सर्वत्र आलोचना हुनुका साथै मूल्य वृद्धि तत्काल फिर्ता लिन आग्रह गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिट्टी, बालुवालगायतका वस्तुमा बढेको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । महासंघले निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले निर्माण व्यवसायको क्षेत्रमा नकारात्मक असर पर्ने र त्यसको प्रभाव समग्र देशको अर्थतन्त्रमा पर्ने जनाएको छ । निर्माण सामग्रीको बढ्दो मूल्यले विकास निर्माणको लागत वृद्धि भई त्यसले सरकार, निर्माण व्यवसायीदेखि सर्वसाधारणसम्म प्रत्यक्ष प्रभावित गर्ने भएको छ । मूल्य वृद्धिका कारण चालू आर्थिक वर्षमा विकास निर्माण क्षेत्रका लागि विनियोजित बजेट नै अपुग हुने देखिएको छ । भूकम्पपीडितले घर बनाउन सुरू गरेका बेला अचानक मूल्य वृद्धिका कारण प्रभावितका लागि सरकारी अनुदानले घर बनाउन समस्या हुने देखिएको छ ।
भूकम्पबाट प्रभावित ६ लाख घरको पुनर्निर्माण गर्न आवश्यक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भनाइ छ । यति धेरै संख्यामा पुनर्निर्माण हुने घरमा हालै भएको मूल्य वृद्धिले अरबौँ व्ययभार थपिनेमात्रै होइन, कतिपय पीडितले सरकारको अनुदानबाट घर निर्माण गर्न असमर्थ हुनेछन् । मूल्य वृद्धिले स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देशमा विकास निर्माणले गति लिने जनताको आशामाथि कुठाराघात भएको छ । चुनावपश्चात् इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिले सर्वसाधारणको ढाड भाँचिएको छ । इन्धनको मूल्य वृद्धिले गर्दा समग्र विकास निर्माणको गतिलाई प्रभाव पारिरहेका बेला निर्माण समाग्रीको मूल्य बढाउँदा जनता दोहोरो मारमा परेका छन् । अहिले राष्ट्रिय गौरवका आयोजना एवम् सरकारी भवन, निजी घर तथा भूकम्पपीडितहरु पुनर्निर्माणको क्रममा रहेका छन् । अचानक मूल्य बढ्दा घर निर्माणको लागत बढ्नेमात्र होइन, समयमै निर्माण सम्पन्न हुनेमा पनि आशंका उत्पन्न भएको छ ।
एक महिना अघिदेखि विकास निर्माणका मुख्य कच्चा पदार्थहरू सिमेन्ट र डन्डीको मूल्य वृद्धिले गर्दा कतिपय परियोजनाहरु प्रभावित हुने देखिएका छन् । निर्माणको कामलाई प्रभावित गर्ने गरी गरिएको मूल्य वृद्धिले समग्र अर्थतन्त्रदेखि आर्थिक वृद्धिमा समेत नकारात्मक असर पार्छ । यस विषयमा उद्योग वाणिज्य महासंघलाई ध्यानाकर्षण गराइएको छ । निर्माण व्यवसायी महासंघले सिमेन्ट र डण्डी उद्योगीले कार्टेलिङ गरेर मूल्य बढाएको र यसमा सरकारले नै साथ दिएको आरोप लगाएको छ । निर्माण व्यवसायीहरूले सिमेन्ट र डण्डीमा गरिएको मूल्य वृद्धिले अप्रत्याशित मूल्य वृद्धिले मुलुकको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने भन्दै बिनाशर्त बढाइएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । मुलुकको समग्र अर्थतन्त्र नै प्रभावित हुने गरी भएको अस्वभाविक मूल्य वृद्धि फिर्ता हुनैपर्छ । यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ गर्नुहुँदैन । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजन व्यवस्थालाई कडाइका साथ अनिवार्य लागू गरेर मूल्य वृद्धि गर्नु जरूरी देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट