गृह » कष्टकर जीवन बिताउँदै चेपाङ समुदाय
प्रमुख समाचार

कष्टकर जीवन बिताउँदै चेपाङ समुदाय

केशव अधिकारी
ब्रुसबाङ(धादिङ) । वर्षौदेखि खानेपानी र खाद्यान्न अभावमा संघर्ष गरिरहेका ब्रुसबाङका चेपाङ समुदायको अवस्था अध्ययन गर्न जिल्लाको उच्चस्तरीय टोलीले पहिलो पटक ब्रुसबाङको स्थलगत अवलोकन गरेको छ ।
अध्ययन गरेर सदरमुकाम फर्किएको टोलीले ब्रुसबाङका चेपाङलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न चासो देखाएका छन् । चेपाङ गाउँ पुगेको टोलीसँगको छलफलमा स्थानीय फूलमाया चेपाङले आफू सुत्केरी हुँदा पोषणयुक्त खाना त परै जाओस् दुई छाक खानसमेत नपाएको बताइन् । अन्न मात्रै होइन पानीसमेत पिउन नपाएपछि सुत्केरी अवस्थामा पानी पैँचो खानु परेको उनले बताइन् । सुत्केरी अवस्थामा गाउँदेखि डेढ घण्टाको बाटो तल झरेर नुहाएर आउदा दुई घण्टा लाग्यो । बुढा काम गर्न मनाङ गएकाले छ वर्षको छोराले बोत्तलमा पानी भरेर ल्याएर खुवायो । सासुससुराबाट पानी पैँचो गरेर बच्चालाई नुहाइधुवाइ र लुगा धोइदिएको कारुणिक पीडा उनले सुनाइन् ।
ब्रुसबाङमा ३६ घर चेपाङ परिवार वर्षौदेखि कष्टकर जीवन बिताउँदै आइरहेको छ । उनीहरु विकास र अधिकार खोज्दै धेरै पटक सदरमुकाम धादिङबेसीमा पुगिसके जहाँजहाँ गए पनि आशैआशमा दिनहरु बितिरहेको उनीहरुको भनाइ छ । ‘हामीलाई कि गाउँमा खानेपानी ल्याइदिनुस् कि घरजग्गासहित पानी, स्कुल भएको ठाँउमा बस्ती सारिदिनुस् गाउँका अगुवा प्रेमबहादुर चेपाङ बताउँछन् । शिक्षा नभई अन्तराष्ट्रमा त के , राष्ट्र काम गर्न नपाउने अवस्थामा चेपाङले बाल शिक्षाकै भरमा के काम पाँउछन् र ? पढ्न पाए हाम्रा बालबालिका पनि अरु जाति सरह हुन्छन् । पानी पाए हामी पनि नुहाइधुहाइ ग¥थ्र्यौ । हामी ज्याला गर्न गएर महिनौसम्म घर छाडेर जाँदा घरमा बिरामी परे धामीझाँक्री र सिटामोल ल्याउने कोही हुँदैनन् सोमीलाल चेपाङको गुनासो छ ।
‘बस्ती पहाडको चुचुरोमा भएको र आसपासका डाँडाहरुमा पानीका मुहान नभएका कारणले पानीको विकल्प बस्ती स्थानान्तरण भएकाले जिल्लाको सरोकारवालाहरु मिलेर खानेपानी, आवास, स्कुल, स्वास्थ्य चौकी भएकोे आसपास बस्ती सारेर समुदायको समस्या समाधान गर्नुपर्छ ’ प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले बताए । ब्रुसबाङको बस्ती स्थानान्तरण गरी एकीकृत सुविधासहितको नयाँ ब्रुसबाङ निमार्ण गर्न जिल्ला समन्वय समिति धादिङले यसअघि नै प्रतिबद्धता जनाएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए । अहिले पनि खानेपानी र खाद्यान्नको संकटमा चेपाङहरु बस्नु पर्दा राज्यलाई अप्ठ्यारो लाग्नुपर्ने हो तर लागेको छैन । अझ ३६ परिवार ब्रुसबाङ चेपाङको विषयमा ६ वर्षदेखि निरन्तर छलफल भइरहेको छ, समाधान भएको छैन’, नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङले बताए ।
ब्रुसबाङ पुगेको जिल्लाको उच्चस्तरीय टोलीमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, देवीदत्त गणका गणपति प्रमुख सेनानी भरत बुढाथोकी, बेनीघाट गाँउपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, प्रहरी नायव उपरीक्षक रामबहादुर केसी, गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, वडा अध्यक्ष टंकबहादुर थापा, खाद्य अधिकारकर्मी, सञ्चारकर्मी सहितको टोलीले चेपाङ मसुदायसँग सामुहिक र व्यक्तिगत छलफल गरेको थियो ।
बस्ती पहाडको चुचुरो, हिमालको आमुन्नेसामुन्ने र एक हजार ८४५ मिटर उचाइमा रहेका कारण हिउँद बर्खा चिसो हुन्छ । गरिबीका कारण ३६ घरका १७० जना चेपाङहरु लगाएकै कपडाको भरमा सुत्छन् । कयौ घर खरको अभावमा छाउन सकेका छैनन् । ८ महिनामा पाक्ने र मकैले ६ महिनासम्म खान पुग्छ । बाँकी ६ महिना सिस्नो, टाँकी गिठाभ्याकुरलगायतका जंगली कन्दमुल खानुपर्ने बाध्यता छ । उनीहरुको आयआर्जन बाँस र निगालोको डोको, भकारी बनाएर बेच्छन् । जिनतिन श्वास धानेका छन् । देशलाई खुला दिशामुक्त घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको भए पनि बु्रसबाङमा पानी अभावमा शौचालय निमार्ण हुन सकेको छैन ।

Comments

About the author

चितवन पोष्ट