गृह » गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीय खुसी
समाचार समाज स्वास्थ्य

गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीय खुसी

ठोरी । ठोरी गाउँपालिका–२ की ६७ वर्षीया यमुना श्रेष्ठ घुँडा दुख्ने समस्याबाट पीडित बनेको धेरै वर्ष भयो । वृद्ध अवस्थामा उनलाई यो समस्याले झनै च्यापेको छ । तर, भरतपुर र वीरगन्जको यात्रा दूरी टाढा हुँदा उनलाई स्वास्थ्य सेवा लिन गाह्रो भएको छ ।
तर, श्रेष्ठजस्ता थुप्रै व्यक्तिमा देखिएको घुँडा दुख्ने समस्या र हाडसँग सम्बन्धी अन्य समस्याको समाधान गाउँमै भयो । यातायातको असुविधा, लामो दूरी र गरिबीका कारण हाडजोर्नीसँग सम्बन्धित रोग भएकाहरुले गाउँको विशेषज्ञ सेवा पाएका छन् । गाउँमै हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा पुगेपछि ठोरी गाउँपालिका वाड नम्बर २ का स्थानीय खुसी भएका छन् ।
अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र स्थानीय युवा जागृती क्लबको आयोजनामा एक दिने निःशुल्क हाडजोर्नी शिविर शनिबार सम्पन्न भएको हो ।
शिविरमा १६० जनाले सेवा लिए । ‘धेरै जसो वृद्धवृद्धामा हाडजोर्नीको समस्या देखियो, अलाइभ हस्पिटलका विशेषज्ञ डाक्टर प्रमोद लामिछानेले भने, ‘पैसा अभाव र यातायात अभावले गर्दा सहज स्वास्थ्य नपाएकाहरुले सेवा पाएका छन् ।’ हाडजोर्नीसम्बन्धी स्वास्थ्यमा समस्या देखिएका कतिपयको सेवाका लागि अलाइभ हस्पिटलबाट पनि सेवा दिन सकिने डा. लामिछानेले बताए ।
संस्थाको सामाजिक उत्तरदायित्वको भावना अनुसार पर्सा जिल्लाको पछाडि परेको क्षेत्रमा गई निःशुल्क सेवा दिइएको अस्पतालका प्रबन्धक डा बीएम खरेलले बताइन् । यसअघिका वर्षहरुमा पनि अन्य विकट ठाउँमा स्वास्थ्य सेवा दिएको जानकारी गराउँदै व्यवस्थापक डा खरेलले ठोरी क्षेत्रमा पनि आवश्यकता र मागका आधारमा सेवा पु¥याइएको बताइन् ।
‘यातायात असुविधा र विपन्नताका कारण वर्षौदेखि थलिएका बिरामीले गाउँमै सेवा पाउँदा हामी निकै खुसी छौं’, ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले भने, ‘सामान्य शिविर भन्दा हाडजोर्नीसम्बन्धी शिविर महत्वपूर्ण रहेको बताए ।’
‘आँखा, पेट, नाक, कान, घाँटी जस्ता समस्याको बारेमा पटकपटक शिविर भएको थियो, आयोजक स्थानीय क्लब युवा जागृती क्लबका अध्यक्ष जीवन कृष्ण सापकोटाले भने,‘उपचार सेवासमेत महंगो रहेको यो विशेष सेवा गाउँमै पाउँदा सबै खुसी छन् ।’
विश्वास फार्मेसी वसन्तपुर माडीका सञ्चालक गोविन्द नेपालले भने,‘ठोरी क्षेत्रमा भएको हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवाले ठूलो राहत मिलेको छ ।’

Comments

About the author

चितवन पोष्ट