गृह » ‘श्रीमान् वीरबहादुर’ हेरेर आँशु झारे जोशीले
कला प्रमुख समाचार समाचार समाज

‘श्रीमान् वीरबहादुर’ हेरेर आँशु झारे जोशीले

–तुलमान गुरूङ
नारायणगढ । रामलाल जोशीको पहिलो कथा सङ्ग्रह हो ‘ऐना’ । जुन सङ्ग्रहले २०७२ सालमा मदन पुरस्कार प्राप्त ग¥यो । त्यही कथा सङ्ग्रहभित्रको एउटा सशक्त कथा हो ‘श्रीमान् वीरबहादुर’ । जुन अहिले नाट्य रूपान्तरण गरेर नारायणगढस्थित नारायणी कलामन्दिरमा मञ्चन भइरहेको छ । सुदुरपश्चिमको कथालाई चित्रण गरिएको उक्त नाटक हेर्न कथाकार रामलाल जोशी चितवन आएका छन् । आफैँले लेखेको कथालाई नाटकको रूपमा दृश्यमा हेर्न पाउँदा अहिले उनी दंग छन् ।
उनलाई एउटै पीर थियो यत्तिको राम्रो प्रस्तुति छैन कि भन्ने । तर, नाटक हेरिसकेपछि उनले सोचेभन्दा राम्रो लाग्यो । नाटक हेर्दाहेर्दै कतिखेर आँशु खस्यो उनले पत्तै पाएनन् । उनीमात्रै होइन, नाटक हेर्दै गर्दा धेरैको आँखा रसाएका थिए । ‘कथा लेख्दा पनि म यत्तिको भावुक बनेको थिइनँ,’ हलबाट बाहिरिएपछि उनले भने, ‘आज दृश्यमा हेर्दै गर्दा यतिसम्म भावुक भएछु, आँशु खसेकै पत्तो पाइनँ ।’ कलाकारहरूको जीवन्त अभिनयले पनि बढी प्रभावित तुल्याएको उनले प्रतिक्रिया दिए । ‘लेखेको दुई वर्ष नबित्दै नाटकको रूपमा मञ्चन भएको देख्न पाउँदा मसँग खुसीको सीमा नै छैन,’ उनले सुनाए, ‘मेरो यो कथाले लेखनको चरणमा यसरी मान्यता पाउला भन्ने लागेकै थिएन ।’
आफू पहाडीमूलको मानिस भए पनि तराईमा बस्ने थारू समुदायको कथा लेखेको बताउँदै उनले थपे, नाटकको कथावस्तुले सुदुरपश्चिमको परिवेशलाई बोकेको छ । अब धनगढीमा पनि नाटक मञ्चन होस् भन्ने चाहना छ ।’ धनगढी लेखक जोशीको आफ्नै गृहनगर हो । धनगढीमा नाटक मञ्चन गरे चितवनमा नाटक घर निर्माणको लागि एउटा इँटा थप्न आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।
क्षेत्रीय होटल व्यवसायी संघ सौराहा ९हान०का अध्यक्ष सुमन घिमिरेले पनि शनिबार परिवारसहित नाटक हेरे । पढ्दा र हेर्दा धेरै फरक अनुभव भएको उनले सुनाए । ‘कथा त पहिल्यै पढिसकेको थिएँ । तर, दृश्यात्मक रूपमा नाटकमै हेर्न पाउँदा कथालाई झनै सशक्तरूपमा प्रस्तुत भएजस्तो लाग्यो । एकदमै राम्रो लाग्यो । कथा पढ्दा जति आनन्द मिलेको थियो त्यो भन्दा बढी आनन्द दृश्यमा हेरेर मिल्यो ।’
पुस्तक व्यवसायी तथा साहित्यकार लेखराम सापकोटाले नाटक मन परेरै दोहो¥याएर हेरेको बताए । ‘कथा त यसै राम्रो थियो । तर, कलाकारहरूको जीवन्त अभिनयले तान्यो । त्यसैले फेरि हेरेँ,’ उनले भने, ‘कलाकारहरूको अभिनयमा कतै पनि खोट लगाउने ठाउँ छैन ।’ यसअघि नारायणी कला मन्दिरमै मञ्चन भएको नाटक ‘सकस’ हेरेका उनले युवा कलाकारहरू पनि निखारिएका पुराना कलाकारहरूभन्दा कम नभएको प्रतिक्रिया दिए । राम्रो नाटक बनाउन सके र त्यसलाई निरन्तरता दिन सके चितवनमा पनि नाटक राम्रोसँग चल्ने संभावना रहेको उनले बताए ।
कवि भूपिन खड्काले पनि नाटकबारे खुलेरै प्रशंसा गरे । ‘नाटक हेरिसकेपछि लाग्यो, नाटकले वर्तमानमा नाट्य–पर्यावरण खासै मलिलो नभएको चितवनको सांस्कृतिक फाँटलाई हरियो र भरिलो बनाएको छ,’ उनले भने, ‘राजधानीमा भएको नाटकको बलियो संस्कृतिमा पहुँच नभएका दर्शकहरूको लागि यस्ता नाटकहरूले थोरै भए पनि क्षतिपूर्ति गरिदिनेछन् ।’ केही वर्ष पहिले पुष्प आचार्य निर्देशित नाटक ‘सकस’ हेरेपछि यसरी नै खुसी भएको क्षणलाई पनि उनले सम्झिन भ्याए । यसैलाई निरन्तरता दिन सके नाटकको प्रवल सम्भावना भएको उनले बताए ।
चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले पिन माइक बिना पनि नाटकलाई जीवन्तता दिन सफल भएको बताए । ‘नयाँ पुस्ताले पनि नाटक गर्न सकिन्छ भन्ने यो नै ठूलो प्रमाण हो,’ उनले भने, यसैलाई निरन्तरता दिन सकेमा चितवनलाई नाटकको क्षेत्रमा पनि अगाडि लैजान सकिन्छ ।’ नाट्य समूह पनि दर्शकहरूको माया र साथ पाउँदा खुसी छन् । तर, चितवनमा नाटक हेर्ने परिपाटी अझै बनिनसकेको नाटकका प्रमुख पात्र अर्थात् वीरबहादुरको भूमिकामा देखिएका कलाकार सुरेश जिसीले बताए । पुस महिनाको जाडोमा पनि उनले भदौको गर्मीलाई नाटकमा उतार्न सफल भएका रंगकर्मी जिसीले भने, ‘दर्शकहरूको साथ र मायाले यति चिसो मौसममा पनि तातो महसुस भयो ।’ तर, नाटक हेर्ने दर्शकहरूका लागि राजधानीमा जस्तो वातावरण मोफसलमा बनिनसकेको उनले बताए । यही नाटकलाई निरन्तरता दिन सके मोफसलमा पनि बिस्तारै बानी पर्ने उनको भनाइ छ । रंगकर्मी भीष्म जोशीले निर्देशन गरेको उक्त नाटकमा निर्देशक जोशी र जिसीसँगै कृपा अधिकारी, सुमित आचार्य, विवेक तिवारी, अञ्जान ढुङ्गाना, अस्मिता थापा, रञ्जना सापकोटालगायतले अभिनय गरेका छन् । चितवनमै नाटक घर निर्माण गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको हुँदा सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन कर्मी नाट्य समूहका चितवनका संयोजक मुकुन्द खलपात्रले अनुरोध गरे ।
दुई दिन थप मञ्चन
दर्शकहरूको माग बढेपछि गत बुधबारबाट नारायणी कला मन्दिरमा मञ्चन सुरू भएको नाटक दुई दिन थप मञ्चन हुने भएको छ । शनिबारसम्म मात्रै मञ्चन गर्ने तयारी रहे पनि दर्शकहरूको चाहनाअनुसार दुई दिन अर्थात् सोमबारसम्म नाटक मञ्चन गरिने कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रले जानकारी दिए । दुई दिन नै दिउँसो १ बजे र ४ बजे दुई शो मञ्चन गरिने उनले बताए ।

 

Comments

About the author

चितवन पोष्ट