गृह » वास्तविक ज्ञानको अभ्यास
विचार

वास्तविक ज्ञानको अभ्यास

– आचार्य लक्ष्मण भण्डारी
acharyalb@gmail.com

विद्यालयमा जानु, विश्वविद्यालयहरुमा अध्ययन गर्नु, विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा भर्ना भएर परीक्षा दिनुले मात्र हाम्रो ज्ञानको आवश्यकता परिपूर्ति नहुन सक्दछ । ज्ञान भनेको जानकारी नभएर ठीक र बेठीकको उचित छिनोफानो गर्ने आन्तरिक शक्तिको नाम हो । जबसम्म व्यक्ति उचित र अनुचितको भेद पर्गेल्न सक्दैन, तबसम्म उसले पढेको छैन भनेर बुझ्नुपर्दछ । ज्ञान पाउनु भनेको नै जीवनलाई उचित बाटोतिर लिएर जानु हो । पशुहरुमा यो दिव्य ज्ञानको अभाव हुने गर्दछ । यसैले, उनीहरु ठीक–बेठीकको उचित विवेचन गर्न सक्दैनन् । मनुष्यको ज्ञानले उसलाई यही कर्तव्य र अकर्तव्यको विवेचन गर्ने ऊर्जा प्रदान गर्ने गर्दछ । यही ज्ञान शक्तिका आधारमा नै मनुष्य पशुभन्दा भिन्न भएको हो ।
सबैभन्दा विचारणीय त के छ भने नपढेका हुनाले कसैले ठीक र बेठीक छुट्याउन नसक्दा जीवनमा धेरै बेठीक भइरहेको कुरालाई सामान्य मान्न सकिएला, तर पढेर पनि यदि जीवनमा बेठीक भइरहनुलाई के भन्ने ? प्रशस्त अध्ययन अध्यापन गर्दागर्दै पनि हामीले उचित र अनुचितलाई समान मान्न थाल्यौँ भने त्यतिखेर के गर्ने ? यो आजको अहम् प्रश्न हो । आज ज्ञानी मान्छेको कमी छैन । हिजोभन्दा आज उच्च शिक्षा हासिल गर्ने मानिसको सङ्ख्या बढेर गएको छ । नयाँनयाँ विषयहरु पनि थपिएका छन्, विश्वविद्यालय र विद्यापीठहरु पनि थपिएका छन् । यति हुँदाहुँदै पनि किन बेथितिहरु हट्न सकेनन् ? किन धेरै पढेका मानिस पनि सुखी र शान्त हुन सकेनन् ? किन तिनले निरक्षर र अज्ञानीका दुःखपीडा घटाउन सकेनन् ? यी विचार नगरी नहुने प्रश्नहरु हुन् ।
गीताको तेह्रौँ अध्यायका केही श्लोकहरुमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ :
‘अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः ।।
इन्द्रियार्थेषु वैराग्यमनहङ्कार एव च ।
जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम् ।।
असक्तिरनभिष्वङ्गः पुत्रदारगृहादिषु ।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।।
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी ।
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ।।
अध्यात्मज्ञाननित्यत्वं तत्त्वज्ञानार्थदर्शनम् ।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोऽन्यथा ।।
अर्थात्, श्रेष्ठताको अभिमानको अभाव, दम्भाचरणको अभाव, अहिंसा, क्षमाभाव, मनवाणीको सरलता, गुरूसेवा, शौच, अन्तस्करणमा स्थिरता, आत्मनिग्रह, इन्द्रियवैराग्य, अहङ्कारको अभाव, जन्ममृुत्यु र जराव्याधिबारे बारम्बार चिन्तन गर्नु ज्ञान हो । त्यस्तै, घरपरिवारमा अनासक्ति, ममताको अभाव, प्रिय र अप्रियमा समता, अव्यभिचारिणी भक्ति, एकान्त र पवित्र स्थानको वास, विषयासक्त मनुष्य समुदायदेखि भिन्न रहनु, नित्य अध्यात्म ज्ञानमा स्थित रहनु र त¤वज्ञानका लागि मात्र हेर्नु, बुझ्नु, वास्तवमा यही नै ज्ञान हो । यसविपरीत जेजे छन्, हुन्छन्, ती सबै अज्ञान हुन् ।)
यसरी, भगवान् श्रीकृष्णले अर्जुनलाई सम्झाउँदै ज्ञानका विभिन्न लक्षणहरुबारे चर्चा गर्नुभएको छ । उहाँले सबैभन्दा पहिले श्रेष्ठताको अभिमान नहुनुलाई ज्ञानको पहिलो लक्षण बताउनुभयो । अर्थात्, जब व्यक्तिले केही जान्दछ, बुझ्दछ वा प्राप्त गर्दछ, त्यतिखेर ऊ पहिलेभन्दा तुलनात्मक रुपमा विशेष भएको हुन्छ, श्रेष्ठ भएको हुन्छ । बिस्तारै उसभित्र आपूm श्रेष्ठ भएको घमण्ड बढ्न थाल्दछ । उसले आपूmलाई नै अरुभन्दा श्रेष्ठ र सभ्य देख्न थाल्दछ । यो एउटा सच्चा ज्ञानी व्यक्तिका लागि सुहाउने कुरा होइन । जब व्यक्तिभित्र आपूm नै श्रेष्ठ भएको अभिमान जागृत हुन्छ, तब बिस्तारै उसको अभिमानमा अनेक अपराधहरु हुन सुरू गर्दछन् । सच्चा साधकहरु सधैँ यस विषयमा सचेत रहनुपर्दछ कि कतै आपूm नै श्रेष्ठ हुँ भन्ने कुराको अभिमान स्वयम्भित्र विकसित हुन नपाओस्, किनकि ज्ञान भनेको सरलता हो, विनय हो र भगवान् श्रीकृष्णले भनेभैmँ व्यक्तिभित्र श्रेष्ठताको अभिमानको अभाव हुनु हो ।
ज्ञानको दोस्रो लक्षण दम्भाचरणको अभाव हो भनेर गीतामा बताइएको छ । दम्भ भनेको घमण्ड हो । जब व्यक्ति वास्तवमै ज्ञानी हुन्छ, त्यतिखेर उसभित्र कुनै पनि किसिमको दम्भ हुँदैन । उसले कुनै पनि कुरामा घमण्ड गर्दैन, किनकि उसको ज्ञानले ठान्छ, संसारका सबै व्यक्ति र विषय विनाशशील छन् । त्यसैले, कुनै पनि कुराको व्यर्थ दम्भ गरेर आखिर हुन्छ नै के र ? हाम्रो घमण्डको आयु कहिल्यै पनि लामो हुँदैन । न त यसलाई कसैले मन नै पराउँदछन् । र पनि किनकिन हामी दम्भी हुन मन पराउँछौँ, घमण्डी हुन मन पराउँछौँ । यदि हामी घमण्डी छौँ र सबैसँग दम्भ र घमण्डका साथ आचरण वा व्यवहार गर्दछौँ भने त्यतिखेर हामी अज्ञानी छौँ, हामीलाई वास्तवमैे केही थाहा छैन भनेर बुझ्नुपर्दछ । वास्तविक ज्ञान भनेको त दम्भाचरणको अभाव हो ।
ज्ञानी मान्छेको अर्को लक्षण हो, अहिंसा । अहिंसा भनेको तन, मन र बचनका माध्यमले कसैको पनि अहित नगर्ने स्वभावको नाम हो । हिंस्रकहरु जहिले पनि धारिलो हतियारजस्ता हुन्छन् । उनीहरु शरीरले पनि अरुको काटमार गर्दछन्, मनले पनि काटमार गर्दछन् भने बचनका माध्यमले पनि अरुलाई दुःखी तुत्याउँदछन् । उनीहरु आफ्नो अहम् एवम् इन्द्रिय तुष्टिका लागि यति त्रूmर बनिदिन्छन् कि त्यसको कुनै हिसाब हुँदैन । आज हिंसा घरघरमा मौलाएको छ, व्यक्तिव्यक्तिमा मौलाएको छ । यही हिंसाका कारण सामाजिक मूल्य र आदर्शहरु पनि जीर्णशीर्ण बनेर गएका छन् । यसैले, अहिंसा ज्ञानी मानिसको शोभा हो । अज्ञानीहरु सबै प्रकारले अरुलाई सताउन खोज्दछन् । उनीहरुको हृदय पनि कठोर र संवेदनाहीन बनिदिन्छ । त्यही संवेदनाहीन हृदय लिएर उनीहरु पशुदेखि मनुष्यसम्म सबैमाथि जाइलाग्छन् । यो अज्ञान हो । ज्ञान यो कठोरताबाट नित्य मुक्त हुन्छ र संवेदनायुक्त हुन्छ । यसैले, हामी यदि कुनै पनि किसिमको हिंसा गर्दैनौँ र अहिंसा व्रत धारण गर्दछौँ भने हामी साँच्चै नै ज्ञानी हुन्छौँ ।
क्षमाभावलाई पनि गीताले ज्ञानको लक्षण मानेको छ । व्यक्ति गल्ती गर्दै सिक्दै जीवन मार्गमा अघि बढ्ने प्राणी हो । संसारमा हरेक व्यक्तिले कुनै न कुनै किसिमको गल्ती गरेकै हुन्छन् । हामी सबैले जीवनव्यवहारका क्रममा धेरथोर त्रुटि गरेका छौँ । कोही पनि त्रुटिमुक्त छैन । अवश्य पनि सबैले उत्तिकै मात्रामा गल्ती गरेका हुँदैनन् । कसैले धेरै गल्ती गरेका होलान्, कसैले थोरै गल्ती गरेका होलान् तर गल्ती अवश्य गरेका छन्, हुन्छन् । ज्ञानीहरु यही सोच्दछन् ः गल्ती सबैबाट हुन्छ । हामीले पनि भोलिका दिनमा गल्ती गर्न सक्दछौँ, अपराध गर्न सक्दछौँ । त्यसैले, क्षमादान गर्न सक्नुपर्दछ । क्षमादान एउटा विशिष्ट संस्कार हो । यो विशाल हृदय भएका मानिसको लक्षण हो । ज्ञानको उज्यालोले धमक्क बलेका मानिसको लक्षण हो । नभएका गल्ती पनि खोजेर बित्थामा दुःख दिने मनस्थिति बनाएर बसेका आजका अधिकांश मानिसहरुको भीडमा क्षमाशील व्यक्तिहरु साँच्चै नै वन्दनीय हुन्छन् । हामीले कसैका त्रुटिप्रति गर्ने क्षमादानले त्यस्ता व्यक्ति पनि सुधारको दिशामा अग्रसर बन्न सक्दछन् । जसले क्षमा गर्न सक्दैन, उसको हृदय प्रतिशोधले भरिन्छ । प्रतिशोधकै कारण मानिसका बीचमा परस्परमा हिंसा, द्वन्द्व, वैमनस्य र हत्याजस्ता अमानवीय कृत्यहरु पनि बढेर जान्छन् । हाम्रो क्षमाशीलताले ती सबै अमानवीय वृत्तिहरु घटेर जाने सम्भावना हुन्छ । यो नै ज्ञानीहरुको लक्षण । जो क्षमाशील हुँदैन, ऊ पढेर पनि अनपढ हुन्छ, बुझेर पनि अबुझ हुन्छ ।
ज्ञानी मानिसहरु कहिल्यै पनि कर्कश हुँदैनन् । उनीहरुको मन पनि सरल हुन्छ । वाणीमा पनि मधुरता हुन्छ । यति विनीत हुन्छन् उनीहरु कि यस्तो लाग्दछ, सरलता नै तिनको पहिचान हो । गीतामा यसलाई भगवान् श्रीकृष्णले ‘आर्जवम्’ भन्नुभएको छ । अर्थात् स्वच्छ, सरल, सुमधुर र कोमल । पूmलहरु कोमल हुन्छन्, सरल हुन्छन्, विनीत हुन्छन् । साना भए पनि हरेक पूmलहरुलाई देखेर मानिसहरु नजिक आउँछन्, खिचिन्छन्, तानिन्छन् । ती मानिसहरु ज्ञानी होइनन्, जो पढेर पनि जटिल छन्, धेरै बुझेर पनि कुटिल छन् । मन, वाणी, व्यवहार सबैमा आर्जवता, सरलता अथवा कोमलता पनि ज्ञानी मानिसको पहिचान हो ।
ज्ञानीहरु जहिले पनि आचार्यहरुप्रति नतमस्तक हुन्छन् । उनीहरु गुरूलाई नै ज्ञानको स्रोत ठान्दछन् । गुरूमा भगवान्को साक्षात् रुप देख्नु ज्ञानीहरुको विशेषता हो । जहाँ गुरूको अनादर हुन्छ, त्यो ठाउँ र अवस्था दुवै अन्धकार र अज्ञानका अवस्था हुन् ।
शौच पनि ज्ञानको अर्को लक्षण हो । शौचको अर्थ आन्तरिक र बाह्य सरसफाइ हो । जसले समयमै दिसापिसाब गर्दैन, हप्तौँसम्म पेटमै लिएर बस्दछ, त्यो व्यक्तिले पिएचडी नै गरे पनि त्यसको कुनै अर्थ छैन । दैनिक स्नान गर्नु, मलमूत्र नियमित त्याग गर्नु, प्रभु स्मरण गर्नु, काम, क्रोध आदिलाई व्यवस्थापन गर्नु नै शौचभित्र पर्दछन् । एउटा ज्ञानी मान्छेले अनिवार्य रुपमा आपूmलाई भित्र र बाहिर दुवै तरिकाले शुद्ध र पवित्र राखेको हुनुपर्दछ । यसैलाई शौच भनेर भनिन्छ ।
ज्ञानीको अर्को लक्षण स्थिरता पनि हो । हामी अस्थिर र कमजोर बन्नुहुँदैन । विभिन्न प्रतिकूल अवस्थाहरु आउँछन् र हामीलाई सताउन खोज्दछन्, तर हामीले आफ्नो विचार र दर्शन बदल्नुहुँदैन, हाम्रा मूल्य र आदर्श बदल्नुहुँदैन । अन्तस्करणभित्र स्थिरता कायम हुनुपर्दछ । यसो हुनु नै हामी ज्ञानी हुनुको लक्षण हो ।
मानिस विभिन्न इन्द्रियहरुले बनेको हुन्छ । ती इन्द्रियहरुलाई परिचालित गर्ने विवेक शक्ति पनि उससँग छ । इन्द्रियका विभिन्न रूचि, आकाङ्क्षा र आसक्तिहरु हुन्छन् । यदि ती समस्त इन्द्रियहरु विवेकका नियन्त्रणमा छन् र विवेकद्वारा शासित छन् भने त्यतिबेला व्यक्ति राममा बदलिएको हुन्छ । यही अवस्था नै ज्ञानको अवस्था हो । तर, विवेकमाथि हाम्रो इन्द्रियसत्ता हाबी भयो भने त्यतिखेर हामी राम नभएर हराम बन्ने अवस्था आउँछ । यसैले, ज्ञानी मानिसहरु कुनै पनि सांसारिक भोग र इन्द्रियजन्य आसक्तिप्रति मोहित हुँदैनन् । इन्द्रियका अर्थमा ती वैरागीजस्तै हुन्छन् । उनीहरु केवल इन्द्रिय तुष्टिको मनोकाङ्क्षा लिएर कहिल्यै बाँच्दैनन् ।
ज्ञानीहरुमा अहङ्कारको पनि अभाव हुन्छ । उनीहरु सबैको अस्तित्व स्वीकार्दछन् । परमात्मा सर्वत्र व्याप्त हुनुहुन्छ भन्नु उनीहरुमा अहङ्कार नुहुनुको प्रमाण हो । सबैमा परमात्माको दर्शन गर्नेहरुले सबैलाई मूल्य दिन्छन्, मह¤व दिन्छन् । हामी जत्तिकै सबै एउटै प्राकृतिक रहस्य र शक्तिले बन्ने र बाँच्ने गर्दछन् । यसैले, म मात्रै विशेष र महान् छैन भन्नु नै ज्ञान हो भन्ने गीताको दर्शन रहेको छ ।
भगवान् श्रीकृष्णले ज्ञानीहरुले सधैँ जन्म, मृत्यु, जरा, व्याधि, दुःख र दोषहरुको पटकपटक स्मरण गर्नुपर्दछ भनेर भन्नुभएको छ । हामी किन जन्मियौँ ? मृत्यु के हो ? बुढ्यौली किन हुन्छ ? दुःख भनेका के हुन् ? किन दोषमुक्त हुन सकिँदैन ? यस्ता प्रश्नहरुमाथि घोत्लिँदै जाँदा हामीले जीवनको वास्तविकता बोध गर्न सक्दछौँ । भगवान् बुद्धले यही गर्नुभएको थियो । यस्ता प्रश्नहरुमाथि निरन्तर चिन्तन गर्दै जाँदा हामीले आपूmलाई काम, क्रोध, लोभ र मोहजस्ता अनेक वृत्तिहरुबाट पनि टाढै राख्न सक्दछौँ । हामीभित्रको पवित्रता अझ बढेर जान्छ । जीवन–मृत्युसम्बन्धी शाश्वत् विषयमाथिको चिन्तनले हामीभित्र सत्यको गहिरो प्रभाव पर्दछ । भौतिक संसारको अनावश्यक लाभहानिको चक्करबाट पनि हामी मुक्त बन्न सक्दछौँ । यही नै प्रज्ञावान्हरुको लक्षण हो ।
हामीलाई लाग्दछ, हाम्रा छोराछोरी सत्य हुन् । हामी ठान्दछौँ हाम्रो घर, हाम्रो परिवार नै सबैथोक हो । हाम्रा इष्टमित्र, जायजेथा यी सबै रहन्छन्, सधैँ रहन्छन् । तर, यो केवल भ्रम हो । ज्ञानीहरु घरपरिवारलाई प्रेम त गर्दछन्, तर अनासक्त हुन्छन् । छोराछोरी, घरपरिवार, कुलकलत्रप्रतिको मोह र आसक्ति हटाउनु पनि ज्ञान पाउनु हो । ज्ञानीहरु सर्वथा गृह आसक्तिबाट मुक्त हुन्छन् ।
मेरो–मेरो भन्ने भावलाई ममता भनिन्छ । ज्ञानीहरुले आपूmलाई जहिले पनि प्रकृतिको एउटा साधन ठान्दछन् । उनीहरुलाई लाग्दछ, हामी भनेका परमात्माको योजनाबमोजिम मनुष्य जीवन पाएका हौँ र यस धरतीमा आएका हौँ । हामीले केवल कर्म गर्नुछ । कर्मको फल के–कस्तो हुन्छ भन्ने उनै परमात्माले निर्धाराण गर्दछन् । यस्तो दृष्टि राख्ने हुनाले उनीहरुले कहिल्यै पनि ममताको डोरीभित्र आपूmलाई कैद राख्दैनन् । त्यसकारण, वास्तवमा ज्ञानीहरुले आफ्ना सबै उपलब्धि, सफलता, सिद्धि र सम्पत्ति उनै परमात्मा र परमार्थका लागि लगानी गर्न मन पराउँछन् । यसैले, उनीहरु ममतामुक्त हुन्छन् ।
भगवान् श्रीकृष्णका अनुसार जानेबुझेका र ज्ञान पाएका साधकहरु प्रिय र अप्रिय दुवै अवस्थाहरुमा समान हुन्छन् । प्रियलाई पाउँदा हर्षित हुनु र अप्रियलाई पाउँदा दुःखित हुनु त अज्ञानीहरुको काम हो । अज्ञानीहरु मात्र इष्ट र अनिष्टमा भेद गर्दछन् । इष्टप्रति अनुराग प्रकट गर्नु र अनिष्टप्रति द्वेष गर्नु नै अज्ञान हो । ज्ञान सबै अवस्थाहरुमा समान रहन्छ । चाहे वसन्त आओस्, चाहे शिशिर आओस्, सबै इष्टानिष्ट अर्थात् प्रियाप्रियप्रति समान रहनु नै ज्ञानी हुनु हो । यदि हामी आपूmलाई मन परेको चीज पाउँदा अति खुसी हुने र मन नपरेको चीज आउँदा अति दुःखी हुने गर्दछौँ भने सम्झनुपर्दछ, हामीभित्र कतै अज्ञानको अँँध्यारो जीवित छ । हामीले आपूmलाई शाश्वत् ज्ञानको उज्यालोले भरिपूर्ण तुल्याउनुछ ।
ज्ञानी मान्छे कहिल्यै पनि नास्तिक हुँदैन । अनन्य भक्तियोगका माध्यमले परमात्माप्रति अव्यभिचारिणी भक्ति गर्नुपर्दछ भन्नेहरु ज्ञानी हुन्, किनकि यही नै आस्तिकता हो । भक्ति पनि अनेक थरी हुन्छन् । सांसारिक एवम् व्यक्तिगत लाभहानिका लागि परमात्माको ढोका ढकढक्याउनु, क्षणिक मनोरञ्जन एवम् आनन्दको उद्देश्यले मात्रै प्रभु स्मरणको नाटक गर्नु व्यभिचारिणी भक्ति हो । यस्तो भक्ति असा¤िवक हुन्छ । अरु बेलामा भगवान्लाई गाली गर्ने, मन्दिर र मूर्तिहरु तोडफोड गर्ने तर पैसा चाहिएपछि महायज्ञ लगाएर चौपट्टै भक्ति प्रदर्शन गर्नेहरु पनि व्यभिचारी भक्त हुन् । त्यस्तो किसिमको ‘ताक परे तिवारी, नत्र गोतामे’ प्रकृतिको भक्ति गर्नेहरु कहिल्यै पनि ज्ञानी हुँदैनन्, किनकि त्यो भक्ति नभएर भक्तिको नाममा कलङ्क हो । ज्ञानीहरु र केवल भक्ति, समर्पण, श्रद्धा र विश्वासको भरिलो छाती लिएर परमात्माको भक्ति गर्दछन्, जसलाई अव्यभिचारिणी भक्ति भनेर भनिन्छ ।
त्यस्तै, एकान्त र शुद्ध देशमा रहनु पनि ज्ञानीको लक्षण हो । यहाँ देश शब्दले स्थान भन्ने बुझाउँदछ । ज्ञानीहरु त्यस्तो ठाउँमा जाँदैनन्, जहाँ मानिसहरुको भीड हुन्छ, होहल्ला हुन्छ र शान्ति भङ्ग भएको हुन्छ । त्यस्तो ठाउँमा गएर अध्ययन, चिन्तन, मनन् केही पनि गर्न सकिँदैन । ज्ञानीहरु जहाँ बस्दछन्, त्यो ठाउँ पवित्र पनि हुनुपर्दछ । कुनै असा¤िवक भोजन तयार पारिएको, अपशब्द बोलिएको, फोहोर—दुर्गन्ध फ्याँकिएको, कसैको बदख्वाइँ गरिएको र केवल भौतिक संसारको लाभहानिको चर्चा गरिएको ठाउँ अपवित्र ठाउँ हुन् । त्यस्तो, ठाउँमा ज्ञानीहरु कहिल्यै पनि जानुहुँदैन । कुनै पनि सिर्जना भीडमा बसेर हुन सक्दैन । ज्ञानी मानिसहरु त्यसैले सधैँ शान्त, सुन्दर, एकान्त र पवित्र स्थानमा बस्ने गर्दछन् ।
विषयासक्त मानिसको समुदायमा पनि नबस्नु भनेर भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ । ज्ञानी मान्छे यदि विषय—वासनाले भरिएको र भौतिक संसारको रुप–सौन्दर्यलाई नै सबैथोक ठान्ने मानिसहरु भएको समाजमा बस्यो भने बिस्तारै उसमा पनि त्यसको प्रभाव पर्दै जान्छ । ज्ञानको चर्चाका ठाउँमा विषयचर्चाले स्थान पाउन थाल्दछ । त्यसैले, जो त्यस्ता विषयासक्तहरुदेखि मुक्त रहन्छ, त्यो ज्ञानी हो भनेर भनेर ज्ञानीको लक्षण गरिएको छ ।
ज्ञानी हुनुको अर्को प्रमाण अध्यात्म ज्ञानमा नित्यस्थिति हो । अर्थात्, ज्ञानीहरु आध्यात्मिक हुन्छन्, आस्तिक हुन्छन् । अध्यात्म भनेको ईश्वर, जगत्, प्रकृति, कर्तव्य, आदर्श र मूल्यहरुमाथि चिन्तन र व्यवहार गर्ने विज्ञान हो । यसलाई विज्ञानको पनि ज्ञान भनेर भनिन्छ । विभिन्न किसिमका भौतिक एवम् सांसारिक समस्याहरुबाट कसरी छुटकारा पाउन सकिएला भन्ने चिन्तन नै अध्यात्म चिन्तन हो । यसैले, ज्ञानीहरु निरन्तर यही चिन्तनमा मस्त हुने गर्दछन् ।
भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभयो कि हरेक दृष्टिहरु परमात्मा दर्शनका लागि केन्द्रित गर्नेहरु ज्ञानी हुन् । अर्थात्, त¤वज्ञान कहाँ पाइन्छ, कसरी पाइन्छ, कुनचाहिँ हो भन्ने दृष्टि ज्ञानको अर्को प्रमाण हो । हरेक त¤वज्ञान परमात्माको विशुद्ध आस्था र श्रद्धाकेन्द्रित हुन्छन् । सच्चा ज्ञानीहरु सदैव सर्वत्र सत्यको मात्रै चिन्तन गर्दछन्, सत्यको सङ्गत गर्दछन् र सत्यकै पूजा–आरति गर्दछन् । यही गीताको आशय हो ।
यसप्रकार, भगवान् श्रीकृष्णले ज्ञानका विभिन्न लक्षण बताउनुभएको छ । हामीले पनि आपूmभित्र यी लक्षणहरुको खोजी गरौँ । हेरौँ, बुझौँ । नभए अभ्यास गरौँ । गीताले ज्ञानका अनेक आयामहरुलाई प्रस्तुत गरिदिएको छ र परिचित समेत तुल्याएको छ । ज्ञान कहिल्यै पनि अहङ्कारमा विश्वास गर्दैैन, अशुद्धिमा विश्वास गर्दैैन र क्षणभङ्गुरतामा विश्वास गर्दैन । यसैले, वास्तविक ज्ञान गीतामा उल्लेख भएजस्तै अभिमानको अभाव हो, अहिंसा, क्षमा, सरलता, गुरूभक्ति र शुद्धीकरण हो । ज्ञान इन्द्रिय व्यवस्थापन र अनासक्ति मात्रै होइन, अनहङ्कारिता र जन्ममृत्युबारेको चिन्तन पनि हो । ममता नहुनुलाई पनि ज्ञान भनिएको छ भने इष्टानिष्ट दुवै अवस्थामा समान रहनु पनि ज्ञान हो ।
ज्ञानको यो रहस्यलाई एक पटक हामीले प्राप्त गरेको ज्ञानसँग तुलना गरौँ— के हामी अनासक्त हुन सकेका छौँ ? के भित्र–बाहिरको शुद्धीकरणमा हाम्रो शिक्षाले कुनै सहयोग पु¥याएको छ ? दुःख र सुखका अवस्थाहरुमा पनि के हामी शान्त र उत्तेजनामुक्त हुन सकेका छौँ ? के हामीले पाएको डिग्रीले विषयासक्त मानिसहरुको भीडबाट हटेर एकान्त र पवित्र स्थानमा गएर अन्तस्करणको स्थिरता विकासमा हामीलाई कहिल्यै बल पु¥याएको छ ? के हामीले विश्वविद्यालयबाट प्राप्त गरेको हाम्रो विद्याले कहिल्यै हाम्रा जन्म, मृत्यु, बुढ्यौली, रोग आदिबारे विचार गर्दै सत्य र परमार्थको पवित्र अभियानमा सहभागी हुन कहिल्यै प्रेरित गरेको छ ? गरेका भए त हाम्रो घर, समाज, देश, स्वयम् हामी हिंसामुक्त हुनेथियौँ, रोग, भोक, र शोकमुक्त हुनेथियौँ । तर, हामी सबै रोग, भोक र शोकले ग्रस्त छौँ । यति धेरै पढेर पनि हामी अस्वस्थ छौँ, अज्ञानको अँध्यारोमा बाँच्न विवश छौँ । जसले हाम्रा रोग, भोक र शोकहरुलाई शान्त पारोस्, त्यस्तो पो ज्ञान ! सबैतिर बेचैनी, अभाव र अप्ठ्याराहरु पैदा गर्ने ज्ञान पनि केको ज्ञान ! पढेर पनि हामीले खै के पढ्यौँ ? आउनुस्, आजसम्मको हामीले प्राप्त गरेको ज्ञानको समीक्षा गरौँ । गीतामा भगवान् श्रीकृष्णले ज्ञान भनेर जेजे भन्नुभयो, ती विपरीतका सबै अज्ञान हुन् । अब हामीले पनि आजैदेखि वास्तविक ज्ञानको अभ्यास गरौँ ।

Comments

About the author

चितवन पोष्ट