गृह » ‘ब्लडमनी’ जुटेपछि परिवारमा खुसीयाली
समाचार समाज

‘ब्लडमनी’ जुटेपछि परिवारमा खुसीयाली

–रामकुमार श्रेष्ठ
नवलपरासी । साउदीको जेलमा रहेका नवलपरासी (नवलपुर)को मध्यविन्दु नगरपालिका–८ का थानेश्वर भुसाललाई छुटाउन आवश्यक पर्ने ब्लड मनी ४५ लाख संकलन भएपछि थानेश्वर छुट्ने भएकोमा उनको परिवारमा खुसीयाली छाएको छ ।
६२ वर्षीय वृद्धआमा यमकला भुसाल र ६५ वर्षीय वृद्ध बुबा तीलाराम भुसालको सहारा थानेश्वर भुसाललाई छुटाउन ब्लड मनी पूरा भएपछि उनको बुबाआमामा खुसीको सीमा छैन । आमा भुसालले भनिन्, “पहिलो त मेरो लागि ४५ लाख भनेको ४५ करोडझैँ लागेको थियो । भएको सम्पत्ति बेचेर पठाउन पनि नपुग्ने छोरासँग अब भेट होला भन्ने लागेको थिएन । यस्तै रहेछ दैवको लीला भन्ने लागेको थियो । तर अहिले म निक्कै खुसी छु, मेरो छोरालाई छुटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।”
साउदीको जेलमा चार वर्षदेखि रहेका थानेश्वरको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)को अगुवाईमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको थियो ।
थानेश्वरलाई सवारीसाधन चलाउने लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए । उनले चलाएको ट्रिपरमा अर्को गाडीले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने गाडीमा रहेका र ठक्करबाट धकेलिएको ट्रिपरले अगाडि ठक्कर दिदाँ अर्को गाडीमा रहेका गरी दुईजनाको ज्यान गएको थियो ।
दुर्घटनामा थानेश्वर घाइते भएका थिए । दुर्घटनापछि झण्डै १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीका साहुले घर आउन नदिई फेरि काममा लगाएको आमा यमकला भुसालले बताइन् । दोस्रोपटक घर फर्कने बेलामा पनि साउदी प्रहरीले उनलाई त्यही मुद्दामा पक्राउ गरेको थियो । थानेश्वरलाई छुटाउन कावासोतीमा रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले मह¤वपूर्ण भूमिका खेलेको थियो ।
उनकी आमा यमकलाले भनिन्, “सामी परियोजना, पिएनसिसी, पत्रकार, साउदीमा रहेको नेपाली दूतावास, ब्लडमनी उठाउन अनुमति दिने नेपाल सरकारलगायत विभिन्न संघसंस्थाहरु जसले मेरो छोरा छुटाउन भूमिका खेले, म उनीहरुप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु ।”
केरा खेती गर्दै आएका बुढाबूढीका दुई छोरामध्ये जेठो थानेश्वर साउदी जेलमा छन् भने कान्छो छोरा कतारमा छन् । उनले भनिन्, “छोराहरु आएपछि अब कुनै पनि हालतमा विदेश जान दिन्न, यहीँ केही गर्न लगाउँछु ।”
आमा भुसालले भनिन्, “विदेशमा कमाएको पैसा बाहिर जान नदिने गरी त्यहाँको सरकारले यस्तो गरेको हो । त्यसैले कसैलाई पनि विदेश नजान सल्लाह दिन्छु, गइहाले पनि जाने देशको भाषा, त्यहाँको कानुन, आफू जानुअगाडि लिनुपर्ने सल्लाह सुझाव लिएर जानमात्र आग्रह गर्दछु ।”
भुसाललाई छुटाउन आवश्यक पर्ने ब्लडमनी जुटे पनि उनका पीडित र पीडक पक्षबीच अदालतमा भेट गराएर मुद्दा मिलेपछि मात्र उनी छुट्ने भएकोले उनी कहिलेसम्म छुट्छन् भन्ने यकिन भने नभएको सामी परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताइन् ।
भुसालका बुवा सुस्तःमनस्थितिका छन् । भुसाल जेल परेपछि उनकी श्रीमतीले उनलाई छाडेर दोस्रो विवाह गरेर गएपछि भुसालका परिवार घरकी कान्छी बुहारी र एउटी नातिनीको अनुहार हेरर दिन बिताउने गरेका छन् । बुवा तिलाराम भुसाल बोल्न त्यति नजान्ने भए पनि उनी पनि छोरा जेलबाट छुटेर आउने खबरले निक्कै खुसी देखिएका छन् ।
साउदी अरब, कतार, बहराइन, कुवेत, यूएई, मलेसिया, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका देशमा बस्ने नेपाली तथा सहयोगी संस्थाहरुले सहयोग उपलब्ध गराएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिए ।
नवलपरासीबाट उनी उनलाई छुटाउनका लागि सामी परियोजनाले दुई लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेर पिएनसिसीलाई हस्तान्तरण गरेको थियो ।
थानेश्वर मुक्त गराउन डेढ लाख रियाल (झण्डै ४५ लाख रुपैयाँ) लाग्नेछ । तोकेको जेल अवधि सकिए पनि जरिवाना रकम बुझाउन नसक्दा उनी अझै जेल छुट्न सकेका छैनन् ।
भुसाललाई विदेश पठाउने इन्नोभेटिभ मेनपावर कम्पनीले उनलाई छुटाउन आवश्यक पर्ने रकममा ५१ हजार रुपैयाँ सहयोग गर्ने वचन दिए पनि त्यो रकम नदिएको आमा यमकलाले बताइन् । थानेश्वरले ब्लडमनी पुगेको खबर पाएपछि आमालाई फोन गरेर कानुनी प्रक्रिया पूरा गरी छिटो निकाल्न आग्रह गरेको बताइन् ।
आमा यमकलाले अब आफ्नो छोरा छुटाउन के के गर्नुपर्छ आफूलाई थाहा नभए पनि अब यसमा सहयोग गर्ने संघसंस्थाहरुले सबै प्रक्रिया पूरा गरेर छुटाइदिन्छन् भन्नेमा ढुक्क रहेको बताइन् । उनले भनिन्, “दिनरात आँशुको धारामा बित्ने गर्दथ्यो, अहिले त ठूलो राहत महसुस भएको छ । अति नै खुसी लागेको छ, सत्यको जीत हुँदोरहेछ, सत्यले जित्यो ।”
थानेश्वर जेलबाट छुट्ने खबरले उनका परिवारमात्र होइन, गाउँका छिमेकी तथा गाउँले पनि निक्कै खुसी देखिएका थिए ।

Comments

About the author

चितवन पोष्ट