गृह » सरोगेट मदर
विचार साहित्य

सरोगेट मदर

— रामहरि पौड्याल

‘ह्वाट अ लब्ली कप्पल !
गड ब्लेस देम !!’
किंग्स लिनको सेन्ट मार्गरेट चर्च आज आगन्तुकहरुको उल्लासपूर्ण भीडले भरिएको छ । तिनीहरुको उमंगले सजिएको छ । जोन र जेनिसाका ७ वर्ष लामो प्रेमले आज पूर्णता पाएको दिन । तिनीहरुको खुसीमा मिसिएका थिए सारा इस्टमित्रहरु, साथीसँगीहरु । क्रिश्चियन परम्पराअनुसार पादरीले तिनीहरुको लगनगाँठो कसिदिए एकैछिनमा । सबैले ताली बजाएर समर्थन गरे । हिजोसम्मका सिंगल लाइफ आज म्यारिड कप्पलमा परिणत भयो । मिसेस जेनिसको खुसी उनको मुखाकृतिबाट झल्किएको थियो । उता, मिस्टर जोनलाई सपना झैँ लागिरहेको थियो ।
चियर्स !
चियर्स !!
चियर्स !!!
बिहेको पार्टीको रिसेप्सन भव्य थियो । “डुक हेड“ होटलको बलरूम भरिभराउ देखिन्थ्यो, आगन्तुकहरुको पार्टी क्रेजले । पिउने र पियाउने उपक्रम चल्यो राति अबेरसम्म । डिस्को लाइट, चर्को म्युजिक, पिएर मदहोस मान्छेका भीड । एउटा नौलो मादकता सबैमा देखिन्थ्यो । ती सबैका केन्द्रमा थिए जोन र जेनिशा ।
मधुयामिनिका सुमधुर सम्झनाहरु साँचिए, जीवनभर नभुल्ने गरी । प्रेमका प्रतिज्ञाहरु फेरि दोहो¥याइए, दुबईको अग्लो भवनबाट । भावी परिवारका संरचनाहरु सजाइए । खाकाहरु बनाइए । रोड म्यापहरु कोरिए, सन्… सम्म्र प्रेमको निशानी तिनीहरुको सन्तान जन्माउने भनेर ।
‘ओ हनी ! त्यो अल्लि चाँडै भएन र ? जीवनमा रोमान्स पनि त गर्नुप¥यो नि’– जेनिसाले फिगर कन्सस आफ्नो कायालाई बेडरूमको ठूलो ड्रेसिङ ऐनामा आफूलाई नियाल्दै जवाफ दिई ।
‘अफकोर्स डार्लिङ !’– जोनले चपक्क अँगालो हाल्दै सहमति जनायो ।
एकैछिन तिनीहरु हराए अलौकिक संसारमा । मधुयामिनिका प्रथम चरण ! दोस्रो चरण !!….. बेलायतीहरुको प्रेमले वैवाहिक औपचारिकता पाएर हनिमुनको दैलोसम्म आउँदा धेरै हन्डर र ठक्कर खाएको हुन्छ हरेकका जीवनमा । जति सजिलै बाँधिन्छन् सम्बन्धहरु, त्यत्ति नै सजिलोसँग टुंगिन्छन् सम्बन्धहरु । यो यौन स्वछन्दताको केन्द्र हो बेलायत, जहाँ आईमाईहरु बलिया छन् । तिनकै शासन चलेको छ मुलुकमा शताब्दीयौँदेखि । महारानी एलिजाबेथको मुलुक यो ।
वैवाहिक जीवनका उर्बर समय त्यो जोडीले सन्तानका चाहनालाई धकेल्दै लग्यो रोमान्सका नाममा, व्यस्त प्रोफेसनल करियरको नाममा । त्यसका लागि अपनाइए सस्ता सन्तान नहुने तरिकाहरु । पिल्स, सुई…..सबै सबै उपायले तिनीहरु आफूलाई धपाइरहे । तिनीहरुले सोचे– जीवनका घडीहरु तिनीहरुकै मुट्ठीमा घुम्ने छ आफूले चाहे झैँ, आफूले रोजे झैँ ।
जतिबेला तिनीहरुले चाहे, समयले सायद कोल्टे फेरिसकेको थियो । चालीसको पूर्वाद्र्धमा सुरू गरिएको त्यो पारिवारिक चाहनाले तिनीहरुलाई अपेक्षित लाभ दिएन सोचेजस्तो, सम्झेजस्तो ।
‘सन्तान प्राप्ति’ हरेक दम्पतीको वैवाहिक जीवनको उत्कृष्ट अभिलाषा ! पुस्तान्तरणको एउटा अमूल्य कडी । सन्तानसुखका अनन्त चाहनामा डुब्न पाउँदा हुने अतुलनीय खुसी हरेक युगल प्रेमीहरुका आकांक्षाहरु हुन् । जीवनका इच्छाहरु हुन ।
यस्तै सुनौला भविष्य साँचेर सात–सात वर्ष लामो आफ्नो प्रेमलाई विवाहको औपचारिकतामा टुंग्याएका थिए तिनीहरुले । त्यो सम्बन्ध कति पाको थियो दुवैका लागि । जोनले त्योभन्दा अगाडि आठवटा असफल प्रेम व्योहोरेको थियो भने जेनिशाले सातवटा त्यस्ता अत्यास लाग्दा कहरहरु काटेकी थिई, आजको दिनसम्म आइपुग्दा । अब बढी त्यस्ता सस्ता प्रेम र डेटिङमा नहराउने संकल्पले ती दुई जोडी एकआपसमा गाँसिएका थिए । तिनलाई सात–सात वर्षको कठोर परिश्रमले सिञ्चेका थिए । खारेका थिए तिनीहरु प्रेमको साँचो परीक्षामा । तीसको उत्तरार्धमा थालिएको त्यो वैवाहिक सम्बन्ध चालीसको पूर्वार्धमा मात्र सन्तान प्र्रािप्तका लागि तयार भएको थियो । एउटा पूर्ण चाहनामा होमिएको थियो ।
पहिलो गर्भको उत्कट खुसी मात्र केही हप्तामा मिस क्यारेजमा टुंगियो । दोस्रो प्रिग्नेन्सी बाल बाल बाँच्ने घटना बन्यो । इक्टोपिक प्रिग्नेन्सीले दाहिनेपट्टिको फेलोपिन ट्युब काटेर फाल्नुप¥यो । केही घन्टा मात्र ढिला भएको भए जीवन सकिन सक्थ्यो जेनिशाको । सन्तान प्राप्तिका यस्ता दर्जनौँ हृदयविदारक ट्रेजेडीहरुको तिनीहरुले सामना गरिरहे । युरोपको केन्द्र बेलायत आधुनिक मेडिकल साइन्सका यावत् सुविधाहरु भएर पनि त्यो जोडीलाई सन्तानसुखको सुयोग कहिल्यै मिलेन ।
‘ह्वाट अ सेम हनी ! किन मैले तिमीलाई एउटा उत्तराधिकारीसमेत दिन सकिनँ ? म बाँझी आइमाई ! म कुनै कामकी रहिनँ !’– गहभरि आँसु पार्दै जेनिशाले भनी ।
जोनले सम्हालिने प्रयास ग¥यो । सन्तान नहुनुको पीडा चर्को थियो । सन्तानलाई सकुशल अवतरण गर्न नसकी केही हप्ता र महिनामा मिस क्यारेजको दुःखद क्रूरतालाई पटकपटक सहनुपर्दा त्यसले निम्त्याउने शारीरिक तथा मानसिक तनाव र ती जोडीले भोग्नुपर्ने बाध्यता थियो त्यो । धेरै यस्ता मिस क्यारेजबाट वाक्क भएकी बेलायतकी वरिष्ठ प्रसूति विज्ञले तिनीहरुलाई अन्तिम अस्त्रका रुपमा टेस्ट ट्युब बेबीको सल्लाह दिइन् ।
पहिलो प्रयास, दोस्रो प्रयास र अन्तिम प्रयास सबै सबैले हावा खाए । त्यत्रो महँगो प्रविधिले तिनीहरुलाई कंगाल बनायो । मानसिक र शारीरिक रुपमै बेस्सरी टुटेफुटेका त्यो जोडीले लगभग सन्तानको आशा मारिदिएका थिए ।
उनीहरुको प्रोफेसनल लाइफ सधैँको मिस क्यारेज र सधैँको अपूर्ण प्रिग्नेन्सीले चौपट भैसकेको थियो ।
एकदिन लन्डनबाट फर्कंदै गर्दा ट्रेनमा कसैले फालेको पत्रिकामा सरोगेट मदरको कथा पढेर जेनिशा दंग पर्दै घर फर्की । उसका सन्तान प्राप्तिका सपनाहरु फेरि पुनर्जागृत भएर आए ।
घरमा आएर उसले गुगलमा सर्च गरी । सरोगेट मदरको सम्भावना, लाग्ने शुल्क र त्यो देशको सरोगेसी कानुन सबैलाई एकपटक रामोसँग अध्ययन गरिसकेर त्यो जोडी फेरि तम्सियो आफ्नो सन्तान प्राप्तिको महासपनामा ।
सरोगेसी सेन्टर, उनीहरुको चाहनाको संसार बनेर खडा भयो । धेरै दिनको मेडिकल जाँच पड्ताल । धेरै मोलमोलाइपछि तिनीहरु तयार भए सरोगेसीका लागि । एउटी नेपालबाट झिकाइएकी पहाडी दिदी पैसाका लागि तिनको भाडाको गर्भ बोकिदिने भइन् । त्योबापत् उनले १२ लाख रूपैयाँ पाउने भइन् । नेपालबाट भूकम्पले आफ्नो थातथलो सबै ढलाएपछि राम्रो जागिरको चक्करमा सिन्धुपाल्चोकबाट अनेक हन्डर र ठक्कर खाँदै एउटा दलालमार्फत त्यो काम गर्न थालेकी रहिछन् ।
गोरे दम्पतीका लागि त्यो १२ लाख केही थिएन, तथापि ती दिदीका लागि त्यो रकम ठूलै थियो तिनको औकातभन्दा । गरिबीले बनाएको खाडल पुर्न उनले त्यो काम स्वीकारिन् ।
आधुनिक मेडिकल साइन्सका यावत् सुविधाले सजिसजाउ त्यो सरोगेसी सेन्टर इन्डियामै नम्बर एक थियो । डाक्टर श्रीवास्तवको टोलीले तिनीहरुको डिम्ब र शुक्राणुलाई कृत्रिम रुपमा झिकेर ल्याबमा निषेचित गराई तिनै नेपाली आईमाईको गर्भाशयमा प्रत्यारोपण गरियो । उनलाई महिनौँसम्म त्यही सेन्टरमा राखेर पूर्ण निरीक्षण गरियो । अन्त्यमा डाक्टरले त्यो सफल भएको घोषणा गरे ।
जोन र जेनिशा खुसीले उफ्रिए त्यो क्षण । अब हाम्रो हातमा सन्तानसुख सल्बलाउने र चल्बलाउने छ, त्यो कल्पना मात्रले पनि त्यो जोडीलाई एउटा अदभुत रोमाञ्च पैदा गरिरह्यो ।
आफ्नो पेटमा हजारौँ माइल परका बेलायती गोरेहरुको नासोलाई हुर्काइबढाई गर्नु सानो काम थिएन । त्यो पनि, पूरा नौ नौ महिना आफ्नो गर्भमा । गरिबीको एउटा नाम मजबुरी । परिस्थितिको दास बन्नुको अर्को विकल्प पनि तिनमा थिएन । आफूलाई धिक्कारिरहेका बेला तिनले यसो सोचिन्–
यो पनि एउटा धर्म हो कसैलाई सन्तान बनाइदिनु, बाँझोपनबाट मुक्ति दिलाइदिनु । कसैसँग कुकर्म गरेको पनि त होइन, सबै कुरा डाक्टरले ठिक्क बनाइदिएका छन् । मात्र, एउटा कृत्रिम सुई त हो मैले लिएको । त्यो गोरेसँग म सुतेको त छुइनँ नि । पैसाका लागि आफूलाई बेच्ने पनि छन् । आफूलाई बजारमा पस्कनेहरु पनि छन् । म मात्र कसैको सन्तान बनाइदिने भाडाकी आमा बनेँ । भोलि यो सन्तान हवाईजहाज चढेर बेलायत पुग्ने छ । के यसलाई मेरो माया लाग्ला त ? ती गोरे र गोरेनीले मलाई सम्झलान् त ? यी सबै भावनाहरु उनका मनमा खेल्दै रहे । आँसुले उनलाई भिजायो, आफ्नो बाध्यता सम्झेर ।
उता, जोन र जेनिशा दिन गनिरहेका थिए, समय पर्खिरहेका थिए । आफ्ना उत्तराधिकारीको स्वागतमा स्वगतातुर देखिन्थे । बेबीका लागि चाहिने सामान, बेबीको कोठा सबै सजाएर राखेका थिए । मनभरि र तनभरि एउटा उमंग तरंगित भैरहेको थियो । सारा इष्टमित्रहरु समेत तिनीहरुको खुसीमा सामेल हुनलाई हतारिरहेका थिए र सोधिरहेका थिए । बेबीको आगमन उनीहरुले पर्खिरहेका थिए । वातावरणमै एउटा छुट्टै मादकता नाचेको थियो, बेलायतको किंगिस्लन टाउनमा ।
समय आफ्नो गतिमा कुदिरह्यो, तिनीहरुको अपार खुसीसँगै । वर्षौंदेखिको सन्तानसुखको पीडाले भर्खरै मुक्ति दिलाउँदै थियो । एकातिर धुमधामसँग नवआगन्तुकको स्वागतमा मान्छेहरु लालायित थिए भने अर्र्काितर ती भाडाकी आमाको आफ्नै दुःख र दर्दहरु थिए । प्रेग्नेन्सीको अन्तिम प्रहरले उनलाई हुनसम्म गाह्रो भैरहेको थियो । स्वासप्रश्वासमा बाधा पुगिरहेको थियो । पेट फुलेर दमाहाजस्तो भएको थियो । बच्चाको दिनहुँको किकका कारण सुत्न अप्ठेरो भैरहेको थियो । उनलाई कुनै पनि कुराको फ्रिडम थिएन । सबै कुरा उनीहरुको मर्जीअनुसार चल्नुपर्ने थियो बच्चा नजन्मुन्जेल ।
यसरी हुर्काएको सन्तान भोलि अर्काको हुन्छ । बेलायती बाबुआमाको देशमा हुन्छ । मैले फगत एकपटक हेर्नसमेत पाउँदिनँ । यस्तो सम्झेर कहिलेकाहीँ उनी निकै भावुक हुन्थिन् । आफ्नै रगत नभए पनि आफूले गर्भमा हुर्काएको र बढाएको सम्झेर उनी द्रवित हुन्थिन् ।
— हरे भगवान् ! मैले मात्र पैसाका लागि कसरी आफ्नो कोख बेचेँ ?
— के भाडाकी आमा सरोगेट मदरका कुनै पीडा हुँदैनन् ?
— आफ्नो गर्भगृहमा जन्मेको बच्चाको कुनै कानुनी हक हुँदैन ?
जतिजति उनको डिउ डेट नजिक आउँछ, उतिउति उनको मन उद्वेलित भैरहन्छ बेस्सरी सम्झनामा ।
आखिर समय आइपुग्यो । यथासमयमै तिनलाई व्यथा लाग्छ । सबैले दौडाउँदै हस्पिटल लैजान्छन् । हस्पिटल भरिभराउ हुन्छ । अनेकथरी परीक्षण र अनेकथरी जाँचपछि पनि डेलिभरी नर्मल नहुने देखेर उनलाई अप्रेसन थिएटरतिर दौडाइन्छ ।
लामो लाइफ थ्रेटेनिङ अप्रेसनपछि उनको डेलिभरी सकिन्छ । एउटा स्वस्थ बच्चा हस्पिटल थर्काउने गरी रून्छ– चियाँ ! चियाँ !! चियाँ !!!
वरिपरिका सबैमा एउटा ठूलो खुसी त्यो रूवाइले ल्याउँछ । त्यो खुसी जसको प्रतीक्षामा एउटा सिंगो जीवन जोन र जेनिशाले तड्पाइरहेका थिए । खोजिरहेका थिए लामो समयसम्म त्यसलाई । तिनले के गरेनन् सन्तानसुखका लागि ? सधैँ हरेस खाने त्यो दम्पती आज आफ्नो काखमा बच्चा रोइरहेको सुन्दा अवाक् भए । एकछिन केही पनि बोल्न सकेनन् । तिनलाई लाग्यो– यो सपना हो कि बिपना ? वास्तवमा त्यो बिपनै थियो । त्यो रूँदै गरेको बच्चा तिनीहरुकै सन्तान थियो र थियो तिनीहरुको उत्तराधिकारी । ती नेपाली आईमाई त मात्र साधन थिइन्, त्यो बच्चालाई नौ महिनासम्म पेटमा पालिदिने र बढाइदिने । एउटा कन्ट्रयाक्ट सकिएको थियो बच्चाको आगमनसँगै ।
जेनिशाका आँखा रसाए, हात पनि थरथर कामिरहेका थिए । बच्चालाई हातमा समाउँदै उनले आँखा चिम्म गरिन् र भगवान्लाई धन्यवाद दिइन् ।
— थ्यांक्यु डार्लिंङ ! तिमीले मेरो सपनालाई बिपनामा परिणत ग¥यौ ।
— म कहिल्यै तिम्रो यो गुण बिर्सने छैन र आजन्म तिम्रो ऋणी हुने छु ।
उनले दह्रो अंकमाल गरिन् उनीसित । जोनले पनि त्यस्तै भन्यो र उनलाई त्यसरी नै कृतज्ञताको हग ग¥यो । बच्चालाई हेर्दै तिनीहरु हराए, आआफ्नै संसारमा ।
बच्चा अब मस्तसँग सुतिरहेको थियो प्रसूति वार्डमा । उसलाई दुनियाँका यी सारा काम र कन्ट्रयाक्टसँग कुनै लिनु–दिनु पनि थिएन । ऊ कसरी जन्म्यो र कहाँ जन्माइयो ? यो उसको सरोकार पनि थिएन । उसलाई भोक लागेको बेला दूध चाहिन्थ्यो, बस् उसको संसार त्यत्ति थियो वर्तमानका लागि ।
दूधको तयारी ।
नेप्पी चेन्ज ।
मसाज, नुहाइधुवाई सबै चल्दै रह्यो । त्यो भाग्यमानी बच्चाका लागि सेवकहरु टन्न थिए ।
उता, भर्खरै ठूलै अप्रेसन गरेर बच्चा जन्माइदिएकी महिलाको स्वास्थ्य खस्केको थियो नराम्ररी । आफ्नो ज्यानको बाजी राखेर कसैको कोख भर्न खोज्ने कसैको सन्तान प्राप्तिको अभिलाषालाई पूर्णता दिने महान् कार्य गर्ने तिनी लम्पसार थिइन् बेडमा मुर्दा झैँ ।
समयको गतिलाई रोकेर र छेकेर राख्न सकिँदैन । त्यो आफ्नै प्रवाहमा बगिनै रहन्छ अथाह नदी झैँ लक्ष्य भेट्न अविराम । समुद्र भेट्न आतुर नदी बाटाघाटाका अवरोधलाई आफैँ पन्छाउँदै बढिनै रहन्छ समय झैँ ।
जन्मनु र मर्नु सृष्टिका आफ्नै नियमितता हुन् । आज ऊ जन्माइएको छ । आधुनिक विज्ञानको चमत्कारका रुपमा एउटाको रक्त भएर अर्काको कोखमा हुर्केर धर्तीमा खडा भएको छ । हिजो यो सम्भव थिएन । आज सामान्य भएको छ पैसा हुनेहरुका लागि । आफ्नो कोखमा राख्ने झन्झट नगर्नेहरुका लागि यो केही लाख रूपैयाँको खेल भएको छ । भोलि यो विज्ञान कहाँ पुग्ने हो ? मातृत्वको परिभाषा खुम्चँदै गएको यो वर्तमानमा भोलि कसरी प्रस्तुत होला ?
महिनादिन पनि कति छिट्टै बिते । आज उनीहरु बेलायत उड्दै छन्, सानो छोरा जोजेलाई लिएर । बिहानदेखि नै उनीहरुलाई फुर्सत छैन आफ्ना सुटकेसहरु कस्न, आफ्ना सरसामानहरु पोको पार्न ।
उता, ती सरोगेट मदरको मनभित्र एउटा ठूलो आँधी र एउटा भयंकर हुन्डरी मच्चिँदै छ । आफ्नो कलेजोको टुक्रालाई आज उनीहरुले लुटेर लाँदैछन् । नौ नौ महिनाको उनको पीडा ! उनको भावनात्मक उपहारलाई उनीहरुले पु¥याउँदै छन् अर्कै संसारमा, अर्कै महादेशमा, अर्कै परिवेशमा । खोइ, जीवनमा फेरि भेट होला कि नहोला यो मेरो रक्तको टुक्रासँग ! उनले एक्लै कल्पिरहेकी छन् यो मनोविनोद आफैँसँग ।
आँखाबाट दुई थोपा आँसु चुहाइन् तिनले ।
बाहिर तिनीहरुलाई एयरपोर्ट पु¥याउन ट्याक्सी आइसकेको थियो । सबै सामानहरु राखिए । बच्चालाई बोकेर तिनीहरुले उनीसँग बिदा मागे । त्यो हृदयविदारक दृश्य हेरिनसक्नु थियो । उनको मनमा मातृत्वको महासागर उर्लेको थियो त्यो समय ।
उनीहरुले घरको गेट काट्दै गर्दा शान्त बालकसमेत क्वाहा ! क्वाहा !! क्वाहा !!! गरेर रून थाल्यो आकाश थर्काउने गरी । बादल नै बर्साउने गरी रोयो बच्चा । उनले त्यो दृश्य हेर्न र देख्न सकिनन् । उनी भुइँमा थचक्क बसिन् र पछारिइन् ।

Comments

About the author

चितवन पोष्ट