गृह » पाँच गजल
साहित्य

पाँच गजल

— रामकृष्ण पौडेल ‘अनायास’
ramkrishna_poudel2044@yahoo.com

जिन्दगीहरु कसैको अधीनमा छन्
त्यसैले दिनहरु अचेल रंगीनमा छन्

सपना देखेर ननिदाएको कयौँ भैसक्दा
मेरा रातहरु उनीसँगै तल्लीनमा छन्

यो संसार नै खल्लो लाग्छ उनी मलिन हुँदा
आज मेरा खुसीहरु उनकै हँसिनमा छन्

दुश्मनहरुले हात अगाडि बढाएर भने
‘रामु’ तेरो समय अब निकै कठिनमा छन्

तर म यो दुनियाँसँग कहिल्यै झुकिनँ
हो, मेरो यही बानीले त उनी यकिनमा छन्

१.

तिम्रो र मेरो बाँच्ने एउटै आधार छ
मन मिल्नुपर्छ सपना साकार छ

अरुले तारा अनि जूनको सपना देलान्
तिमीलाई सिंगो संसार दिने विचार छ

तिमी जुन सपना देखेर रात बिताउँछ्यौ
यता मेरो आँखामा पनि सबै साभार छ

सहरमा चर्चा हाम्रै प्रेमको चल्दै गर्दा
अनायाससँगै उनी हराएको समाचार छ

२.

जब हरायौ हावासँग अनि सोध्छु घामसँग बताससँग
जुनदिन देखेँ तारासँग अनि सोध्ने गर्छु आकाससँग

भन्यौ खोजी हेर म तिम्रै वरिपरि आसपासमा छु
तर रहेछौ तिमी मेरो धड्कनसँग साससँग

तिमीलाई मुटु कलेजी दिन हरक्षण तयार थिएँ
त्यसैले यो समाजसँग लडेको छु हरेक अभावसँग

पाउन त हजार पाइन्छन् फरक यत्ति हो मन मिल्नुपर्छ
बाँचिरहन्छन् युगौँयुग प्रेम–सम्बन्ध गाँसिए खाससँग

३.

गयो भत्ता पचायो मात्र ताली बजाएको छ
देशको आम्दानी छैन केही महँगी बढाएको छ

देश बनाउँछु भनेर भोट खाएर गएको नेता
काठमाडौँमा आफूलाई ठूलो महल बनाएको छ

यता जनता भोकै पालमा जीवन बिताउँदाखेरि
राहत ल्याउँछु भन्दै गएको सदनमा निदाएको छ

सरकार बनायो ढलायो फाइदा आफैँ लुटेका छन्
बिचरा गरिबले देशका लागि रगत बगाएको छ

४.

सहर पसे गाउँमा आफ्नै खेत, घर हुँदा
खुसी त उतै रहेछ बाआमाको भर हुँदा

म आएको पहिलो रात यति त रोइनँ
त्यही रात आमाको निद्रा हराएको खबर हुँदा

बैनीले हिँड्ने बेला पोको थमाउँदै भनिथिन्
दाइ, भोक लाग्दा खानू है लामो सफर हुँदा

मैले नखाएरै राखेको छु आजसम्म पनि
फुकाउनै सकिनँ खान कति रहर हुँदा

जब राहदानी पैसा दलालमा डुबाएपछि
कहिल्यै फर्किन सकिनँ गाउँ उतै नजर हुँदा

५.

Comments

About the author

चितवन पोष्ट