गृह » तोरीको उत्पादन बढ्दा किसान उत्साहित 
अर्थ प्रमुख समाचार

तोरीको उत्पादन बढ्दा किसान उत्साहित 

–किशोर खनाल
भरतपुर । आजभन्दा दुई दशक अगाडि चितवनको समथर खेतीयोग्य १० कठ्ठा जमिनमा कति तोरी फल्थ्यो ? भरतपुर–२५ का किसान दीपक खनाललाई यो प्रश्न राख्दा उनी एकछिन अकमक्किए । उनी झण्डै २० वर्षअघिको सम्झना गर्दै भने, ‘त्यतिबेला म केटौले थिएँ, बाहरुले १० कठ्ठा जमिनमा ३÷४ क्विन्टल तोरी मञ्जाले फलाएका थिए । ठूलठूला भकारी भरेको अहिले पनि झल्झली याद आउँछ ।’
कुनै बेला चितवनको नाम लिनासाथ तोरीको लागि प्रख्यात जिल्ला भनेर चिनिथ्यो । चितवनको तोरीको तेलले काठमाडौँको बजार बेसरी तातेका हुन्थे । काठमाडौँका मिलहरुमा चितवनको तोरीको तेल भनेर चर्को मूल्यमा बिक्री गरिन्थ्यो ।
अब फेरि त्यो दिन फर्कने लक्षण देखिएको छ । पहिले बनाएको तोरीको साख चितवनले फर्काउँदैछ । बीचमा रोगले यहाँको तोरीलाई लगातार आक्रमण गरेपछि यहाँका किसानले तोरी लगाउनै छोडेका थिए । तर, अब सधैँ, उही अवस्था रहेन । विस्तारै चितवनको तोरीको साख फर्कने अवस्थामा छ ।
किसान खनालले अहिले पनि १० कठ्ठा जमिनमा तोरी लगाएका छन् । उनी भन्छन्, ‘बाहरुको पालामा १० कठ्ठामा तीन क्विन्टल तोरी आरामले फल्थ्यो, यो साल मैले १० कठ्ठामा दुई क्विन्टल तोरी त आरामले फलाउँछु ।’
उनको मात्र होइन, यो साल चितवनको तोरी पछिल्लो एक दशकको राम्रो मानिएको छ । चितवनले आफ्नो तोरीको पुरानो पहिचान फर्काउने क्रममा छ । भरतपुर महानगरका गीतानगर, शुक्रनगर, फूलबारी, पार्वतीपुर, दिव्यनगर, मेघौली, जुटपानी, रत्ननगरका विभिन्न ठाउँहरु, खैरहनी र राप्ती नगरपालिकाका विभिन्न भेगहरुमा यो वर्ष तोरी असाध्यै राम्रो भएको किसानहरुको भनाइ छ ।
‘यो वर्ष कुहिरो लागेको छैन, चर्को घाम लागेको छ । कुनै रोगले आक्रमण गरेको छैन । लाई, कुर्पे रोगले तोरीलाई छोएको छैन’ भरतपुर–६ अमरबस्तीका किसान पुरुषोत्तम खनालले भने, ‘यस पटक मौसमले साथ दिएको छ, चितवनमा तोरीमा लाग्ने रोगहरु विस्तारै हट्दै गएको छ ।’
सोही ठाउँका अर्का किसान बिन्दू पण्डितले पनि विगत तीन वर्षदेखि तोरी राम्रो भइरहेको बताइन् । उनले भनिन्, ‘तोरीमा कुनै रोग लागेको छैन, कोसा छोड्ने बेलामा चर्को घाम लाग्यो । तोरी राम्रो फलेको छ ।’
जिल्ला कृषि विकास कार्यालयले पनि पछिल्लो समय चितवनमा बर्सेनि तोरी बढी फलिरहेको तथ्याङ्क देखाएको छ । २०५४ सालपछि चितवनमा तोरी हुन छोड्दै गएको हो । त्यहाँभन्दा अघि चितवनको तोरी भनेपछि देशभरि प्रख्यात थियो । तर, पछिल्लो समय चितवनको तोरीले पुरानो साख फर्काउने कसरत गरिरहेको छ ।
‘जग्गा प्लटिङलाई मात्र रोक्ने हो भने चितवनको तोरीको पुरानो साख अवश्य फर्कन्छ’ जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामराज पौडेलले भने, ‘२०७० सालपछिको मात्र तथ्याङ्क हेर्ने हो भने, यसको उत्पादन बढेको छ । अहिले चितवनको ग्रामीण भेगतर्फ हेर्ने हो भने लहलाउँदो तोरीका फूलहरु झुलिरहेका छन् ।’
०७१/७२ मा चितवनमा १२ हजार २०० हेक्टरमा तोरी खेती गरिएको थियो । त्यो साल १० हजार ९८० मेट्रिक टन तोरी उत्पादन भयो । उत्पादकत्व ०.९ मेट्रिक टन रह्यो । ०७२/०७३ मा १२ हजार ४० हेक्टरमा तोरी लगाइयो । यो वर्ष तोरी १३ हजार २४४ मेट्रिक टन उत्पादन भयो । उत्पादकत्व बढेर १.१ मेट्रिक टन रह्यो ।
०७३/०७४ मा चितवनमा १२ हजार ५० हेक्टरमा तोरी खेती गरियो । उत्पादकत्व १.१ मेट्रिक टन नै भयो । ‘०७४/०७५ को पूरा तथ्याङ्क आएको छैन । तोरी हेर्दा यस वर्ष पक्कै तोरीको उत्पादन बढ्छ’ सूचना अधिकृत रामराज पौडेलले भने, ‘कुनै रोग लागेको छैन, मौसमले साथ दिएको छ । तोरी पक्का बढी फल्छ ।’
प्लटिङ रोक्न जरुरी
चितवनमा तोरीको उत्पादन बढाउन र पुरानो साख फर्काउन जमिनको तीव्र खण्डीकरण र जथाभावी प्लटिङ रोक्न आवश्यक छ । सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न जरुरी छ । चितवनमा जथाभावी प्लटिङ भइरहेको छ, यसलाई रोकेर तेलहन बालीमा सरकारले प्याकेज कार्यक्रमहरु ल्याउन जरुरी छ ।
गत वर्षदेखि सरकारले चितवनसहित १२ जिल्लामा अभियानमुखी तेलहन बाली उत्पादन कार्यक्रम गर्न थालेको छ । किसानलाई स्रोत बीउमा ५० र तेल मिलमा ५० प्रतिशत अनुदान दिन थालेको पनि छ । जसका कारण तोरी लगाउन किसानहरु उत्साहित भएका छन् ।

Comments

About the author

चितवन पोष्ट