गृह » राष्ट्रियसभाको मिति तोकेपछि सरकार गठन : प्रचण्ड
राजनीति समाचार समाज

राष्ट्रियसभाको मिति तोकेपछि सरकार गठन : प्रचण्ड

–तुलमान गुरूङ
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिले नै पार्टी एकता टुङ्ग्याउने विषयमा नेकपा एमालेसँग छलफल भएको बताएका छन् ।
बिहीबार भरतपुरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले भने, ‘सकेसम्म नयाँ सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकताको कुरा टुङ्ग्याऔँ भन्ने हाम्रो योजना छ ।’ राष्ट्रियसभाको मिति तोकेपछिमात्रै सरकार गठन हुने उनले बताए ।
बिहीबार भएको पाँच दलबीचको बैठकमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने, प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने विषयमा छलफल भएकोसमेत जानकारी गराए । ‘दोस्रोपटक भएको पाँच पार्टीको बैठकमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने, प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्नेबारे छलफल भएको छ,’ उनले भने, ‘निर्वाचन आयोगसँग सल्लाह गरेर सकेसम्म छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्ने समझदारी बनेको छ ।’
प्रदेश पमुख र प्रदेशको अस्थायी केन्द्रको विषयमा भने सरकारले संविधानको मर्म र भावनाअनुसार तोकोस् भनेर सरकारलाई नै जिम्मा दिइएको उनले बताए । अध्यादेशको विषयमा केही गाँठो पर्छ कि भन्ने चिन्ता भए पनि अब गाँठो फुकिसकेको उनले बताए । ‘हामीले सरकारले छिटोभन्दा छिटो राष्ट्रियसभाको मिति तोकेर नयाँ सरकार गठन गरोस् भन्ने हाम्रो चाहना हो,’ प्रचण्डले भने । तर, प्रदेशको अस्थायी केन्द्र तोक्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट गलत समाचार आइरहेको भन्दै उनले थपे, ‘अहिले तोक्ने अस्थायी प्रदेश केन्द्रपछि परिवर्तन हुनसक्छ । प्रदेशसभा गठन गर्न सजिलो होस् भनेरमात्रै अस्थायी केन्द्र तोक्न खोजिएको हो ।’ तर, अहिले तोकेको अस्थायी प्रदेश केन्द्र उचित स्थानमा भएमा त्यसैलाई कायम गर्न सकिने उनले प्रष्ट पारे ।
प्रचण्डले आज नगरसभाको उद्घाटन गर्दै
त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार भरतपुर महानगरपालिकाको नगरसभा तथा चितवन उद्योग संघको साधारण सभाका उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनले आफ्नो गृहजिल्ला चितवनमा विकास निर्माण र औद्योगिक विकासको क्षेत्रमा चासो र अभिरुचि देखाउँदै आएका छन् ।

 

Comments

About the author

चितवन पोष्ट