गृह » सप्तगण्डकीले पायो क्यूएए प्रमाणपत्र
समाचार समाज

सप्तगण्डकीले पायो क्यूएए प्रमाणपत्र

भरतपुर । चितवन भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेसन (क्यूएए) प्रमाणपत्र पाएको छ ।
शैक्षिक संस्थाको गुणस्तरियाताको मापन क्यूएए प्रमाणिकरण गर्ने विश्वव्यापी प्रचलन अनुसार विश्वविद्यालय अनुदान आयोगले गत बुधबार यो प्रमाणपत्र प्रदान गरेको हो । विश्वविद्यालय अनुदान आयोगले निश्चित गरेका ८ वटा मापदण्डमा प्राप्त गरेको उत्कृष्टताले क्याम्पसको गुणस्तरीयतालाई प्रमाणिकरण गरेको क्याम्पसले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । हालसम्म नेपालका सप्तगण्डकी बहुमुखी क्याम्पस जस्तै १९ वटा शैक्षिक प्रतिष्ठानहरुले यो प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
यस क्याम्पसले पनि सन् २०११ स्वअध्ययन प्रतिवेदन तयार गर्ने स्वीकृतिपत्र प्राप्त गरेकोे क्याम्पस प्रमुख खेमनारायण सापकोटाले बताए । तत्पश्चात क्याम्पसले स्वअध्ययन प्रतिवेदन तयार गरी सन् १६ जुन २०१४ मा उक्त प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा पेस गरेको र सन् २०१६ जुन ३ देखि ६ मा प्रा डा शिवकुमार राईको संयोजकत्वमा क्यूएए डाइरेक्टर डा श्याम लोहनी र नारायण भण्डारी रहेको प्रिपियर रिभ्यू टिम गठन भई उक्त टिमले अध्ययन अवलोकन गरेको क्याम्पस प्रमुख सापकोटाले जानकारी दिए ।
सन् २०१७ अप्रिल २५–२९ मा प्रा डा शिवकुमार राईको नेतृत्वमा, प्रा डा सुनिति हाडा श्रेष्ठ, प्रा बालकृष्ण श्रेष्ठ, फरेन एक्सपर्ट प्रा डा हृषिकेश सेनापति, क्यूएए डाइरेक्टर डा श्याम लोहनी र ममता प्रजापतिको टिमले क्याम्पसको अन्तिम पियर भिजिट गरेको थियो ।
अन्तिम पटक सन् २०१७ सेप्टेम्बर १६–१८मा अवलोकन भई नोभेम्बर २३, २०१७ को निर्णय अनुसार विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको प्रमुख सापकोटाले बताए ।
यो प्रमाणिकरण ५ वर्ष (सन् २०२२ नोभेम्बर २२) सम्म कायम रहने क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । ५ वर्षे प्रमाणिकरणको समयमा प्रत्येक वर्ष यसको गुणस्तरको परीक्षण नियमितरुपमा हुनेछ । हालको गुणस्तरमा ह्रास आएको खण्डमा यो प्रमाण खोसिन पनि सक्ने हुँदा यसमा सचेत रहेको अध्यक्ष थापाले बताए ।
क्याम्पसको विकासका निमित्त आर्थिकरुपमा समेत विश्वविद्यालय अनुदान आयोगबाट थप अनुदान प्राप्त गर्न सफल भएको छ । २०४५ सालमा स्थापना भएको यस क्याम्पसमा प्लस टू, स्नातक र स्नात्तकोत्तर तहमा गरी कुल ३५५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, विद्यार्थी संगठनका नेताहरु, प्राध्यापकहरु र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

Comments

About the author

चितवन पोष्ट