गृह » झोलुङ्गे पुल नबन्दा सुस्ताबासी समस्यामा
समाचार समाज

झोलुङ्गे पुल नबन्दा सुस्ताबासी समस्यामा

कावासोती । सुस्ताको झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदा सुस्ताबासीहरुको समस्या बढ्दै गएको छ ।
ठेकेदारले झोलुङ्गे पुलको निर्माणमा विभिन्न कारण देखाइ ढिलाइ गरिहेको हुँदा सुस्ताबासीहरु आफ्नै जिल्लाको सुस्ता गाउँपालिका वा सदरमुकाम आउन जोखिमपूर्ण यात्रा डुङ्गा नै चढ्न बाध्य भएका छन् । यसरी कछुवा तालमा भइरहेको पुल निर्माणले सुस्ताबासी कहिले सुख पाउलान भनी तीनको मनमा चिन्तासमेत समाएको छ ।
नारायणी (गण्डकी) पारी भारतको विहारसँग जोडिएको सुस्ताभूमी र जिल्लाको सुस्ता गाउँपालिका जोड्ने गरी सरकारले दुई वर्ष अगाडि झोलुङ्गे पुलको शिलान्यास गरिए पनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानीयले बताए । वर्षाैदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवा जोड्न एसियाकै दोस्रो ठूलो झोलुङ्गे पुलको आयोजना दियो ।
विसं २०७३ पुसमा सुरू भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै ५ प्रतिशत पनि हुन सकेको छैन । पुलको निर्माण कार्यमा दुई वर्ष बिताएर पनि पिलरको निर्माण गर्न सकिएको छैन । पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको । पुल निर्माणमा पटकपटक विभिन्न विवादसमेत उठ्ने गरेको छ । प्राविधिक गडबडी र विभिन्न विवादले पटकपटक अवरुद्ध हुँदै आएको पुल निर्माण कार्य पाँच वर्षमा पनि पूरा नहुने संकेत देखिएको छ ।
एक हजार ५७१ मिटर लम्बाइ र डेढ (१.६) मिटर चौडाइ रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउन कार्यमा जम्मा १६ वटा पाइल मात्र धाँसिएको छ । पुलको निर्माणका लागि कुल २२० वटा पाइल धाँसी ४ वटा ठूलो अग्लो पिलर ठड्याइने छ भने १० वटा सानो पिलर ठड्याइ पुल बाँधिने कार्य गरिने साइट सब इन्जिनियर गोपालबहादुर थापाले बताए । त्रिशूली आश्रय जेभी कन्सट्रक्शन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको उक्त पुलको निर्माण कार्यमा ढिलाइ हुनु लामो समय मधेस आन्दोलन, वर्षायाममा भिषण बाढी र भारतीय विवाद रहेकोे साइट सब इन्जिनियर थापाले बताए ।
नारायणी (गण्डक) नदीपारी भारतको विहार सिमासँग जोडिएको नेपालकै भूमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखिमपूर्ण डुङ्गा यात्रा हो । हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भूमी पुग्न नदीवारी पक्लिहवा गाँउ स्थित नदीको बाँधबाट करिब ढाई (२.५) किलोमिटरको दूरी डुंगाको यात्रा तय गर्नु पर्छ । उक्त यात्रा दुई घण्टा भन्दा बढी लाग्ने गर्छ । वर्षाको बेला उच्च बाढीका कारण सुस्ताबाट आवतजावत गर्न सकिने अवस्था रहँदैन ।

Comments

About the author

चितवन पोष्ट