गृह » मस्तिष्काघात : लक्षण र उपचार
विचार स्वास्थ्य

मस्तिष्काघात : लक्षण र उपचार

डा. हेमराज कोइराला
hemraj.koirala@gmail.com

भरतपुर नगरपालिकाका पूर्वनगरप्रमुख हिमबहादुर पिया २०७४ कार्तिक १० गते अचानक ढल्नुभयो । उनान्असी वर्षीय यी राजनीतिज्ञ सधैँभैmँ उक्त दिन पनि टिभी हेरेर बसिरहनुभएको थियो । यत्तिकैमा उहाँलाई दिशा लागेजस्तो भयो र दिशा गर्न शौचालय जानुभयो । दिशा बसिसकेर शौचालयबाट बाहिर निस्कन खोज्दा उहाँलाई अचानक सहनै नसक्ने गरेर टाउको दुख्न थाल्यो र देब्रे हात र देबे्र खुट्टाले काम गर्न छाड्यो । बाहिर निस्कने उहाँको प्रयास सफल हुन सकेन । आफूलाई गम्भीर समस्या आइपरेको थाहाँ पाएपछि ढलिन्छ कि भनेर दाहिने हातले धारालाई छोड्दै छोड्नुभएन र चिच्याएर परिवारलाई बोलाउनुभयो । परिवार आएर तत्काल सम्हालिनुभयो । परिवारकै सहयोगमा तत्काल एम्बुलेन्स बोलाइयो र चितवन मेडिकल कलेज लगियो । अस्पतालमा सिटीस्क्यान गरेर हेर्दा उहाँलाई मस्तिष्काघात भएको रहेछ । केही समयपश्चात् उहाँको होस पनि हराउँदै गयो । तत्काल सघन उपचार कक्षमा लगेर उपचार सुरू गरियो । दिशापिसाब नियन्त्रित हुन छाड्यो । डायपर र क्याथेटर लगाएर दिशापिसाब गराउन थालियो । खाना पनि नलीद्वारा नै खुवाउन थालियो । अक्सिजनको मास्क पनि तत्कालै थपियो । केही दिनपछि होस खुल्यो तर उहाँको देब्रे हर चल्दै चलेन । दिशापिसाब, खाना र अक्सिजनका नलीहरुले जेलिएर बस्दा उहाँले जिन्दगीबाट हार खाइसक्नुभएको थियो । आपतकालीन उपचार सकिसकेपछि उहाँलाई हेरिरहनुभएका डा. अजीत श्रेष्ठले भरतपुर—१ वागीश्वरीस्थित “योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय”मा लगेर पुनस्र्थापना गराउन सल्लाह दिनुभयो । चिकित्सालयमा उहाँलाई मालिस, अकुपन्चर, एक्सरसाइज थेरापी, योग थेरापी, विद्युतीय तरंग, पानीपट्टी, हिँड्ने र बोल्ने अभ्यास गराउन थालियो । घरपरिवारका सदस्यले पनि असाध्यै हेरविचार पु¥याउनुभयो । लगभग एक महिनाको उपचारपश्चात् उहाँका हातगोडा चल्न थाले । चिकित्सकले उहाँलाई बिस्तारै हिँड्न पनि सिकाउँदै जानुभयो । अब उहाँ बिस्तारै हिँड्न पनि सक्नुहुन्छ । मृत्युसँगको यस जीवन–संर्घष जितेर फेरि आफ्नै खुट्टामा उभिएका यी राजनीतिज्ञ भन्नुहुन्छ– यसरी आफ्नै खुट्टामा उभिन पाउँदा मलाई दुई–दुईपटक भरतपुर नगरपालिकाको मेयर पद जित्दाभन्दा धेरै खुसी भएको छ ।
यो घटनाको जानकारी पाउँदै गर्दा हरकसैलाई पनि लाग्न सक्छ कि हिमबहादुर पियालाई के भएको होला ? उहाँलाई कस्तो रोग लागेको थियो होला ? हिमबहादुर पियालाई अचानक मस्तिष्काघात भएर पक्षाघात भएको थियो ।
के हो मस्तिष्काघात ?
मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्काघात भनिन्छ । मस्तिष्काघात भएका अधिकांश बिरामीहरुलाई पक्षाघात पनि हुने हुँदा यो रोगलाई पक्षाघात, प्यारालाइसिस, लकुवा, अधरंग, ब्रेन एट्याक र ब्रेन स्ट्रोकजस्ता नामले पनि सम्बोधन गरिन्छ । हृदयाघातपछि मृत्युको दोस्रो मुख्य कारण वनेको मस्तिष्काघात अस्पतालहरुको सघन उपचारकक्ष (आईसीयू) प्रवेशको र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण पनि हो । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष एक करोड पचास लाख मानिसहरु मस्तिष्काघातको शिकार हुन्छन् । यसमध्ये पैँसट्ठी लाख मानिसहरु यही रोगका कारण यो लोक छोड्न बाध्य छन् भने पचास लाख विकलांगी भएर नारकीय जीवन जिउन बाध्य छन् । बाँकी रहेकामध्ये १५ लाख चिकित्सकीय सेवापश्चात् सामान्य जीवनमा फर्किएका छन् भने २५ लाख सामान्य विकलांगताका साथ बाँचिरहेका छन् । अप्रत्याशित रुपमा अपर्भmट हुने, तत्कालै ज्यान जान पनि सक्ने र वा“चिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रित भएर वा“च्नुपर्ने यो समस्याको मुख्य कारण भने मस्तिष्कको रक्तसञ्चारस“ग सम्बन्धित छ । मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खुनको थक्का जमेर वा अन्य कारणले रक्तनली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट प्राप्त पोषक त¤वहरु र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु मर्न जाने समस्यालाई मस्तिष्काघात भनिन्छ । मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरुको प्रोसेसिङ एकाइ पनि हो । मस्तिष्काघात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारू हुन नसक्दा ज्यानै जाने वा बाँचेकाहरुमा शरीर, मन र भावनास“ग सम्बन्धित समस्याहरु देखा पर्दछन् ।
कसलाइ हुने सम्भावना ज्यादा छ ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरु, उपरोक्त रोगहरुका औषधि कहिले खाने कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या जस्तैः एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्काघातको जोखिम उच्च हुन्छ । यसबाहेक, रक्तस्रावसम्बन्धी समस्या जस्तै, घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भनिरोधक औषधि खाने महिलाहरु, परिवारमा मस्तिष्काघातका इतिहास भएकाहरु, टायप ‘ए’ व्यक्तित्व भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्काघात ज्यादा देखिएको छ ।
मस्तिष्काघातका लक्षणहरु
अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिँगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एकपाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखा पर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, बान्ता हुनु मस्तिष्काघातका लक्षणहरु हुन् ।
मस्तिष्काघात आपतकालीन स्थिति भएकाले माथि उल्लेखित लक्षण देखिनेबित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउन सकियो त्यति नै धेरै बचाउन वा विकलाङ्गता कम गराउन सकिन्छ । मस्तिष्काघातको आपतकालीन अवस्थालाई सम्हाल्न न्युरोलोजिस्टहरुको टिम नै चाहिन्छ भने रेडियोलोजिस्ट र प्याथोलोजिस्टहरुको पनि उत्तिकै भूमिका हुन्छ । घातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटीस्क्यान, एमआरआई, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलरजस्ता विकिरणीय निदान पद्धति अपनाइन्छ भने रक्त तथा मुत्र परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ । आपतकालीन व्यवस्थापनका लागि सघन उपचारकक्ष हुन नितान्त जरूरी छ । घातका प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितिको आधारमा औषधि वा अप्रेसनद्वारा उपचार अगाडि बढाइन्छ ।
मस्तिष्काघातपछिका समस्याहरु :
सघन तथा आपतकालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन । बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिनुपर्ने खालका विकलङ्गता देखा पर्दछ । मस्तिष्काघातले आघात पु¥याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरु देखा पर्दछन्, जसमध्ये प्यारालाइसिस मुख्य हो । अन्य समस्याहरुमा एकापट्टिका हातखुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खाना चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु, स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मक रुपमा कमजोर हुनेजस्ता समस्या आउन सक्छन् ।

उपचार :
आपतकालीन उपचारपश्चात् मस्तिष्काघात फेरि हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रुपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ भने घातपछि देखिएको विकलाङ्गताको निवारण गर्न पुनस्र्थापना नितान्त जरूरी छ । सही समयमा पुनस्र्थापना हुन सकेमा विकलाङ्गता कम गराएर परनिर्भर हुनबाट बचाई दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ । पुनस्र्थापना पनि चिकित्सक, फिजियोथेरापिस्ट, नर्सिङ स्टाफ, स्पीचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरू, घरका सदस्यहरु र सहयोगीहरुको सामूहिक प्रयास हो । एक्सरसाइजथेरापी, इलेक्ट्रोथेरापी र स्पिचथेरापीजस्ता उपचारहरु स्थिति हेरेर सघन उपचार कक्षवाटै सुरू गर्नुपर्ने पनि हुन सक्छ । प्यारालाइसिस भएकाहरुलाई कहिले पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाँडो पुनस्र्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ । केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जा“च गरी मस्तिष्काघातले ल्याएको विकलाङ्गतालाई राम्रोस“ग केलाएर त्यसका निवारणका लागि थरीथरीका थेरापी र विधिहरुको प्रयोग गर्छन् । तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मसल स्ट्युमुलेसन, तेल मालिस, अकुपञ्चर, गेट–ट्रेनिङ, मनोपरामर्श, स्पिचथेरापी, दिसापिसाबको सम्हार, नर्सिङ केयरजस्ता उपचार पर्दछन् ।
सावधानी तथा बच्ने उपायहरु :
१. ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जा“च गराउने गरौँ । जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधि खाऔँ वा जीवनशैली परिवर्तन गरौँ । औषधि सेवन गरी यी रोगहरु नियन्त्रित भए पनि आफूखुसी औषधि खान छाड्ने नगरौँ ।
२. धूमपान, मद्यपान, सुर्ती र नशालु पदार्थको सेवन नगरौँ ।
३. शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राखौँ ।
४. नियमित हल्ला गर्दै व्यायाम गर्ने बानी बसालौँ, तर जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नुहुँदैन ।
५. स्वस्थकर खाना खासगरी मसिनो–मीठोभन्दा खस्रो–मोटो खाना, हरियो सागसब्जी, फलपूmल, रेसा र चोकरयुक्त भोजनलाई प्रश्रय दिऔँ । तेल, घिउ, बोसोजस्ता चिल्ला पदार्थहरु कम खाऔँ । भिटामिन ‘ई’युक्त पदार्थहरुलाई खानामा अवश्य समावेश गरौँ ।
६. तनावलाई बिदाइ गरौँ । विश्रामलाई स्वागत गरौँ । भावनाहरुलाई वशीभूत गरौँ । जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भएकाहरुले जीवनशैली परिवर्तन गरौँ ।
७. चिसोबाट जोगिऔँ । चिसोमा रक्तनलीहरु सा“घुरिएर रक्तचाप वढ्न गई मस्तिष्काघातको समस्या ज्यादा देखिन्छ ।
८ं मस्तिष्काघातका जोखिम मानिने शारीरिक समस्याहरु जस्तैः नसाभित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोग जस्तैः एट्रियल फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्बोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलाटेसनजस्ता समस्याहरुको बेलैमा निवारण गर्नतिर लागौँ ।

 

 

Comments

About the author

चितवन पोष्ट