गृह » मञ्चन भएको पहिलो दिनमै ‘श्रीमान वीरबहादुर’ दर्शकले रुचाए
कला समाचार समाज

मञ्चन भएको पहिलो दिनमै ‘श्रीमान वीरबहादुर’ दर्शकले रुचाए

नारायणगढ । नारायणी कला मन्दिरमा बुधबारदेखि मञ्चन भएको नाटक ‘श्रीमान् वीरबहादुर’ ले पहिलो दिनमै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
कर्मी नाट्य समूहले निर्माण गरेको नाटक चितवनमा नाटक घर निर्माणको लागि मञ्चन गरिएको हो । समूहका संयोजक मुकुन्द खलपात्रका अनुसार चार दिनसम्म चल्ने नाटक दैनिक दुई पटक मञ्चन हुनेछ । बुधबार पनि दुई वटा शो मञ्चन भएको थियो ।
कथाकार रामलाल जोशीको मदन पुरस्कार प्राप्त ‘ऐना’ कथा संग्रहभित्रको एउटा कथा हो, ‘श्रीमान् वीरबहादुर’ । सोही कथालाई नाट्य रूपान्तरण गरेर मञ्चन गरिएको हो । करिब डेढ महिना समय लगाएर तयार पारेको नाटकलाई रंगकर्मी भीष्म जोशीले निर्देशन गरेका हुन् । पोखरा घर भई हाल काठमाडांैको शिल्पी थिएटरमा आबद्ध रहेर काम गरेका सुरेश जिसीले बीरबहादुरको भूमिकामा अभिनय गरेका छन् । वीरबहादुर एउटा थारू समुदायको युवा पात्र हो । नाटकका मुख्य पात्र वीरबहादुरकी श्रीमती अर्थात् प्रेमलताको भूमिकामा गैंडाकोटकी कृपा अधिकारी देखिएकी छिन् ।
करिब एक घण्टा लामो नाटकमा प्रहरी प्रशासन, पत्रकार, रिक्सा चालक र युवतीको कथा समेटिएका छन् । नाटकमा सबै युवाहरूको मात्रै अभिनय देख्न सकिन्छ । कुमारी आमाले सन्तान जन्माउँदा समाजले हेर्ने दृष्टिकोणलाई देखाइएको छ । सुरेश जिसी र कृपा अधिकारीसँगै विवेक तिवारी, अञ्जान ढुङ्गाना, भीष्म जोशी, सुमित आचार्य, प्रदीप आचार्य, अस्मिता थापा, रञ्जना सापकोटालगायतका कलाकारलाई पनि नाटकको मुख्य भूमिकामा देख्न सकिन्छ ।
बुधबारको दुईवटा शो हेरेपछि दर्शकहरूले सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । नाटकले दर्शकलाई आँशु खसाल्न बाध्य बनाएको उनीहरुले बताए । कलाकार कृपा अधिकारीले आँशु खसाल्दा हेर्ने दर्शकको आँखा रसाएका थिए । नाटकमा सबैको भूमिका उत्तिकै सशक्त रहेको दर्शकहरूको भनाइ छ । यही २२ गतेसम्म मञ्चन हुने नाटक आज बिहीबार पनि दुई शो हुँदैछ ।

Comments

About the author

चितवन पोष्ट